दोलखाकी रिता मग्राती पशुपति परिसरमा बसेको निकै वर्ष भयो । बिहान उठ्यो स्ट्रबेरी प्याक गरेर पशुपति मन्दिर परिसर पुग्ने उनको दैनिकी हो । ताजा र स्वादिलो स्ट्रबेरी प्राय सबैले मन पराउँछन् । उनका कतिपय ग्राहक दैनिक रूपमै उनीसँग स्ट्रबेरी लिने गर्छन् । यही व्यवसायबाट उनको घर व्यवहार चलेको छ । हेर्दा सहज भए पनि उनको व्यवसायलाई कहिलेकाहीँ धक्का लाग्ने गरेको छ । पशुपति क्षेत्र विकास कोषका कर्मचारीले उनको सामान नै जफत गरिदिएका छन् । त्यो बेला नोक्सानी पनि भोग्नुपरेको उनको गुनासो छ । लुकीछिपी व्यापार गर्दा पनि उनको हातमुख जोर्न समस्या छैन तर समान नै जफत गरिदिएपछि उनको केही उपाय छैन । सटर राखेर व्यापार गर्ने आफ्नो हैसियत छैन यसरी बोकेर डुलाउँदा कतै महानगरपालिकाको डर कतै मन्दिरका कर्मचारीको । उनी भन्छिन् ‘हामी जस्तो गरिबलाई कहीँ पनि सुख हुने रहेन छ । सरकारले हाम्रोलागि केही गर्दिए हुन्थ्यो । हाम्रो पनि रहर कहाँ हो र बाध्यताले गर्दा नै हो । फेरी नराम्रो काम पनि त गरेका छैनौ लुटेर खान पो भएर काम गरेर खान खोज्दा सरकारले सहयोग पो गर्नुपर्ने हो ’ दिनभरिको दौडधुपले कहिलेकाहीँ काम छोडौँ जस्तो पनि उनलाई लाग्ने रहेछ । तर छोराछोरीको भविष्य सम्झेर फेरी अघि बढ्ने प्रेरणा मिलेको उनको भनाइ छ । श्रीमानको मृत्युपछि सबै जिम्मेवारी उनको काँधमा आयो । बुवा र आमाको कर्तव्य उनैले निभाउँदै आएकी छन् । अहिले उनको सपना भनेको छोराछोरीले उच्च शिक्षा हासिल गरेको हेर्नू छ । श्रीमानको उपचारमा लाखौँ सकियो तर प्यारालाइसिस भएका श्रीमानलाई बचाउन भने सकिनन् । त्यसपछि सुरु भयो आर्थिक सङ्कट । अहिले जेनतेन गरेर गुजारा चलाउने मेसो गर्दा सरकारबाट सहयोग नपाएको उनको गुनासो छ । उनी भन्छिन् ‘सरकारसङ पैसा मागेको पनि होइन तर काम गर्ने वातावरण दिए पुग्छ तर यहाँ त जता जादाँपनि लखेटेको छ ’ सुरुमा गाउँमै केही गर्नुपर्छ भनेर सुरुवात नगरेको पनि होइन तर खान पनि नपुगेपछि उनी काठमाडौं आएकी हुन् । दिनभरको कमाइले कोठा भाडा, खानपिन, छोराछोरीको शिक्षाको जोहो गर्नै मुस्किल छ। सरकारले भुईमान्छेको कथा सुनेर नीति बनाउनुपर्ने उनको सुझाव छ ।


