गोरखा । गोरखाको पहाडी भेगमा पर्ने मसार गाउँका धेरै घरका ढोका अहिले बन्द छन्। रोजगारी, शिक्षा र सुविधाको खोजीमा मानिसहरू गाउँ छोडेर अन्यत्र पुगेका छन्। कुनै समय मानिसहरूको चहलपहलले भरिने ति बस्तीहरू अहिले क्रमशः सुनसान बन्दै गएका छन्।
तर, यही गाउँको एउटा घरमा बिहानैदेखि चहलपहल सुरु हुन्छ। भालेको डाकोसँगै उठ्ने रमेश र हीरा थापा दिनभर आफ्नै काममा व्यस्त रहन्छन्। भैँसीको घाँसपानी, खेतबारीको हेरचाह र घरायसी काममै उनीहरूको दिन बित्छ। गाउँका धेरैले आफ्नो भविष्य गाउँबाहिर खोजिरहेका बेला यो दम्पति भने आफ्नै माटोमा जीवनको आधार खोजिरहेको छ।

आफ्नो आवश्यकताका लागि सकेसम्म आफैँ उत्पादन गर्ने उनीहरूको बानी छ। घरमा खान चाहिने अन्न आफ्नै खेतबारीमा फलाउँछन्। दूधका लागि भैँसी पालेका छन्। आफूलाई चाहिने दूध छुट्याएर बाँकीबाट मोही बनाउँछन् र गाउँ तथा छिमेकी गाउँका मानिसलाई समेत बाँड्छन्। बजारमा निर्भर हुनुभन्दा आफ्नै श्रम र उत्पादनमा टिकेको उनीहरूको जीवनशैली छ।


रमेश र हीराको दिनचर्या कामको बाँडफाँटमा चलेको छ। रमेश पशुपालन र खेतबारीका काममा बढी जुट्छन् भने हीरा घरायसी काम सम्हाल्छिन्। तर, उनीहरूका जिम्मेवारी निश्चित सीमामा बाँधिएका छैनन्। आवश्यक पर्दा एकअर्काको काममा सघाउँछन्। भैँसी, बाख्रा र कुखुराको स्याहारदेखि खेतीपातीसम्म दुवैको साझा जिम्मेवारी हो। घरमा पालेका परेवासमेत उनीहरूको यही ग्रामीण जीवनशैलीका हिस्सा हुन्।



रमेशको जीवन सधैँ यही गाउँ र खेतीपातीमा मात्र सीमित थिएन। युवावस्थामा उनी रोजगारीका लागि भारत पुगे। केही समय काठमाडौंका कपडा कारखानामा पनि काम गरे। पारिवारिक जिम्मेवारीका कारण पढाइलाई निरन्तरता दिन नसकेका उनले सानैदेखि घरको काम सम्हाल्दै आएका थिए। उनका बुबा राजनीतिक तथा सामाजिक गतिविधिमा व्यस्त रहने भएकाले घरपरिवारको जिम्मेवारी उनको काँधमा बढी परेको थियो।


रोजगारीका लागि गाउँबाहिर पुगे पनि रमेशको सम्बन्ध गाउँसँग टुटेन। छोराहरू बसेको ठाउँमा गएर जीवन बिताउन सक्ने विकल्प हुँदाहुँदै पनि पुर्खाको माटो र गाउँको जीवनशैलीप्रतिको लगावले उनलाई यहीँ अड्यायो। कोभिड महामारीपछि उनी निरन्तर गाउँमै छन्। अहिले उनको जीवन फेरि खेतबारी र पशुपालनकै वरिपरि घुमिरहेको छ।


दिनभरको काम सकेपछि उनीहरूको साँझ भने परिवारसँग जोडिने समय हो। छोराछोरीसँग कुराकानी नगरी खाना नै नखाने उनीहरूको बानी छ। टाढा रहेका सन्तानसँग भिडियो कलमार्फत कुराकानी गर्दै उनीहरू दिनभरका कुरा साट्छन्। भौगोलिक दूरीले परिवारलाई टाढा बनाए पनि प्रविधिले उनीहरूलाई एकअर्कासँग जोडिराखेको छ।

आफ्नै खेतबारीमा उब्जिएको अन्न र घरमै तयार भएको परिकार उनीहरूको खानाको आधार हो। सामान्य लाग्ने यही खानपान र पारिवारिक जमघटमा उनीहरूले आफ्नो दिनको खुसी भेटिरहेका छन्। उनीहरूका लागि खाना भोक मेटाउने समय मात्र होइन, परिवारसँग जोडिने एउटा अवसर पनि हो।


मसार गाउँमा बस्तीहरू क्रमशः पातलिँदै छन्। बन्द घर र सुनसान आँगनबीच रमेश र हीराको दैनिकी भने उस्तै चलिरहेको छ। उनीहरूका लागि सुखको अर्थ धेरै सुविधा जुटाउनु वा सहरको भीडमा रमाउनु मात्र होइन। आफ्नै खेतबारीमा श्रम गर्न पाउनु, आफूले पालेका पशुपन्छीको स्याहार गर्न पाउनु र एकअर्काको साथमा जीवन बिताउन पाउनु नै पर्याप्त छ।
गाउँ छोड्नेहरूको संख्या बढिरहँदा उनीहरू भने यहीँ आफ्नो संसार बनाइरहेका छन्। आफ्नै माटोमा पसिना बगाउँदै, परिवारसँग जोडिएर र आफूले रोजेको जीवनशैलीमा उनीहरु रमाउँदै छन् । उनीहरूको संसार सायद ठूलो त छैन तर त्यसमा उनीहरूलाई चाहिने सन्तुष्टि भने अटाएको छ।


