काठमाडौं। तपाई हामीले सुनेकै नाम हो— टोखा। काठमाडौँको उत्तरी क्षेत्र टोखाका अनेक परिचय छन्। माघे सङ्क्रान्ति अर्थात् माघ १ गते यो क्षेत्रलाई अझ विशेष रूपमा चिनिन्छ— चाकुको क्षेत्र। यतिखेर टोखाका गल्लीहरूमा हिँड्नुभयो भने सख्खरको गुलियो र मिठो बास्नाले तपाईँलाई स्वागत गर्नेछ। पछिल्लो समय चाकु र टोखा पर्याय जस्तै बनेका छन्।
किन यहाँको चाकु चर्चित छ? कस्तो छ चाकुको इतिहास? पुस्तौँदेखिको चाकुको विरासत उद्योगीले कसरी धानिरहेका छन्? यिनै जिज्ञासा लिएर हामी त्यहाँ पुग्यौँ र भेट्यौँ— राम श्रेष्ठ र राज्यलक्ष्मीले सञ्चालन गरेको 'टोखा खाद्य उद्योग'।
राम बुझ्ने भएदेखि नै आफ्ना बुबालाई चाकु बनाउने ठाउँमा पसिना बगाएको देख्दै आए। बुबा सक्रिय भई लागेको बेला उनले पनि सघाए। जब उनका बुबाको मृत्यु भयो, त्यसपछि उनले नै सबै जिम्मेवारी सम्हाले। उनी भन्छन्, "बुबाले आफ्नो सम्पूर्ण जीवन यही पेशामा समर्पित गर्नुभयो। बुबा बितेपछि भने यसको सम्पूर्ण जिम्मा मैले लिएको छु।"
‘यो हाम्रो पुर्ख्यौली विरासत हो,’ राम गर्वका साथ भन्छन्। समय फेरियो, टोखाका उखुबारीहरू कङ्क्रिटका महलमा बदलिए, तर रामले आफ्नो पुर्खाको सीप बदल्न दिएनन्। हिजोआज उनी नवलपरासी र कृष्णनगरबाट सखर मगाउँछन्, तर स्वाद भने उही पुरानो र मौलिक कायम राख्छन्।
रोचक कुरा त के छ भने, यो व्यवसायमा रामको बलियो खम्बा बनेकी राज्यलक्ष्मीको माइती पनि टोखामै (ठुलो लाछी) हो। तर, माइतीमा हुँदा उनले चाकु बनेको टाढैबाट देखे पनि यसको जटिलता र मेहेनतबारे कहिल्यै जानिनन्। जब उनी विवाह गरेर सानो लाछीस्थित रामको घरमा भित्रिइन्, उनको जीवनमा चाकुको एउटा नयाँ अध्याय सुरु भयो। सुरुका दिन सम्झँदै उनी भन्छिन्, ‘माइतीमा हुँदा देखिन्थ्यो मात्रै, तर यहाँ आएपछि श्रीमानले औँला समातेर सिकाउनुभयो। २५ वर्षदेखि यसैमा खटिँदा आज म यो काममा पोख्त भएकी छु।’
यस दम्पतीको सफलताको मुख्य कडी भनेको ग्राहकसँगको अटुट र पुस्तान्तरण भएको विश्वास हो। रामका अनुसार, उनीहरूको घरमा चाकु लिन आउनेहरू पनि उही पुराना ग्राहकका छोराछोरी र नातिनातिनाहरू छन्। ‘हाम्रो पनि पुस्ता फेरियो, ग्राहकको पनि पुस्ता फेरियो, तर ग्राहक र हाम्रो सम्बन्ध भने गाढै छ,’ राम सुनाउँछन्। विशेष गरी माघे सङ्क्रान्तिको समयमा यो घरमा खुट्टा राख्ने ठाउँ हुँदैन, माग धान्नै धौ-धौ पर्छ।
पेशा कठिन छ, राप र तातोसँग खेल्नुपर्छ, तर यो दम्पतीको मुहारमा एउटा अलग्गै चमक देखिन्छ। आफ्नो पसिनाले छोराछोरीको भविष्य उज्ज्वल बनाउन पाएकोमा र टोखाको पहिचान जोगाउन पाएकोमा उनीहरू सन्तुष्ट छन्। तर पेशाको अनिश्चित भविष्यलाई लिएर श्रेष्ठ दम्पती बेलाबेला घोत्लिन्छन्। उनीहरू भन्छन्, ‘हामीले त अहिलेसम्म धानेका छौँ, हामीपछिकाले के गर्छन् भन्न नसकिने अवस्था छ।’
यो पेशालाई जीवितै राख्न अबको नयाँ पुस्ताले यसलाई अझ आधुनिक र व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने उनीहरू बताउँछन्।


