गोरखा । ‘भाग्य भन्ने कुरो हुन्छ र ?’
७४ वर्षीया ईश्वरी थापालाई जीवनमा भोगेका दुःख र संघर्षबारे सोध्दा उनी एकछिन रोकिन्छिन्। प्रश्नको जवाफमा उनी आफैँ प्रश्न गर्छिन्। भाग्यमा विश्वास गर्ने कि नगर्ने भन्नेमा उनी निश्चित छैनन्। तर जीवनमा केही दुःख यस्ता हुँदा रहेछन्, जसबाट उम्किन सकिँदैन भन्ने उनको अनुभव छ।
‘खै हुन्छ होला नि, नत्र त्यस्तो दुःखै भोग्नुपर्ने बाध्यता हुँदोरहेछ,’ उनी भन्छिन्।
जीवनमा आइपरेका कठिनाइलाई सम्झँदा उनलाई कुनै एउटा घटना मात्र याद आउँदैन। बाल्यकालदेखि बुढ्यौलीसम्म फैलिएको उनको संघर्षको लामो शृङ्खला छ। कतिपय कुरा सम्झन मन लाग्दैन, कतिपय कुरा समयसँगै बिर्सिंदै गएका छन्। तर आफूले भोगेका दुःख भने उनको सम्झनामा अझै ताजा छन्।
उनका बिहान ३ बजे उठ्नुपर्ने दिनहरू थिए। घरमा चुलो बाल्न, अन्न पिस्न, खाना तयार पार्न र परिवारका लागि काम गर्न दिन सुरु हुनुअघि नै उनी उठिसक्नुपर्थ्यो। घर ठूलो थियो, परिवार पनि धेरै थिए। उनको काम सकिने समय निश्चित थिएन। कहिलेकाहीँ भाँडा माझ्दामाझ्दै रातको ११–१२ बज्थ्यो। उनी थकाइले निदाउँदा पनि अर्को बिहान फेरि उही दिनचर्या दोहोरिन्थ्यो।
त्यो जीवन सम्झिँदा अहिले उनलाई लाग्छ कि समयसँगै संसार मात्रै होइन उनको आफ्नो जीवन पनि धेरै बदलिएको छ।
गोरखाको सुलिकोट गाउँपालिका–६ की ईश्वरी थापा अहिले पहिलेको जस्तो दिनचर्यामा बाँधिएकी छैनन्। जीवनका अनेक उतारचढाव पार गर्दै उनी यहाँसम्म आइपुगेकी छन्। उमेरले शरीर थाक्दै गए पनि आफ्नै ठाउँमा बस्न पाउनु र आफूले सकेको काम गर्न पाउनु उनका लागि सन्तोषको विषय हो।
तर उनको जीवनको सुरुवात आजको जस्तो सहज थिएन।
१४ वर्षकै उमेरमा उनको विवाह भयो। विवाहको अर्थ, नयाँ घरको जिम्मेवारी र आफ्नो जीवनमा आउने परिवर्तनबारे त्यति बुझ्ने उनको उमेर थिएन। घरबाहिर निस्कने अवसर कम थियो। उनले पढ्न पनि पाइनन्। उनको माइतीमा भाइहरूलाई पढाउने, गोठालो जाने र घरकै काममा सघाउँदै प्राय दिनहरू बित्थे। विवाहपछि पनि उनको जिम्मेवारीको दायरा फेरियो तर कामको बोझ भने अझै घटेन।
उनको नयाँ परिवार ठूलो थियो। उनलाई त्यहाँ घरको कामसँगै खेतिपाती पनि गर्नुपर्ने भयो। उनका श्रीमान् राजनीतिमा सक्रिय भएर घरबाहिर धेरै समय बिताउने भएकाले घर र बालबच्चाको जिम्मेवारी पनि प्रायः उनकै काँधमा आइपर्थ्यो। आर्थिक अवस्था सहज थिएन। परिवार पाल्न र बालबालिका हुर्काउन उनले निकै संघर्ष गर्नुपर्यो।
‘बच्चाहरू हुर्काउन अलि समस्या भयो,’ उनी विगत सम्झिन्छिन्।
त्यतिबेला घरमा कामको कुनै सीमा थिएन। बिहानै उठेर ढिकीमा धान कुट्ने, अन्न पिस्ने, खाना बनाउने, घाँसदाउरा गर्ने र परिवारका लागि आवश्यक सबै काम उनी आफैँले गर्नुपर्थ्यो। उनलाई अहिले ती दिनहरु सम्झिँदा निकै कठिन लाग्छन्। तर समय बित्दै गयो। उनका बालबच्चाहरू हुर्किए, परिवारको अवस्था पनि विस्तारै बदलिँदै गयो।
घरको काममा मात्रै सीमित नरहेर उनले गाउँमा स्वयंसेविकाको कामसमेत गरिन्। स्वास्थ्यसम्बन्धी जानकारी दिने, बालबालिकालाई खोप लगाउन लैजान प्रेरित गर्ने, महिलाहरूलाई आवश्यक जानकारी दिने र विभिन्न बैठक तथा तालिममा सहभागी हुने काम उनले गरिन्। उनी करिब चार/पाँच वर्षसम्म यस्तो काममा सक्रिय रहिन्। उनले त्यसबेला पाँच रुपैयाँ भत्ता पाएको सम्झना अझै छ।
पढाइ नभएकाले पछि लेखपढ र कागजी काम गर्नुपर्ने भएपछि त्यो जिम्मेवारी निरन्तरता दिन कठिन भयो। तर गाउँका महिलाहरू र बालबालिकासँग जोडिएर काम गरेको त्यो समय उनको जीवनको अर्को अविस्मरणीय अनुभव बन्यो।
उनले जीवनमा घरपरिवारको जिम्मेवारी मात्रै होइन, देश र समाज बदलिएको समय पनि देखिन्। पञ्चायतकाल, प्रजातन्त्र, राजनीतिक आन्दोलन, माओवादी द्वन्द्व र पछिल्ला राजनीतिक परिवर्तनहरू उनका सम्झनामा जीवित छन्। राजनीतिक अस्थिरताका समयमा गाउँमा डरको वातावरण थियो। घरमा पुरुषहरू नहुँदा छोराछोरीलाई लिएर बस्नुपर्ने, बाहिरबाट आउने खबर सुन्दै उनीहरू घर फर्किने बाटो हेर्नुपर्ने अवस्था थियो।
छोरीहरूको विवाह भएपछि उनलाई घरको जिम्मेवारी अझ थपिएको महसुस हुन्थ्यो। परिवारका सदस्यहरू बाहिर जानुपर्ने, घरमा एक्लै बस्नुपर्ने परिस्थितिले उनलाई सँधै असहज बनाउँथ्यो। उनलाई कुनै समय छोरीको विवाहपछि घर सम्हाल्ने सहारा को होला भन्ने चिन्ताले पनि सताएको उनी सम्झिन्छिन्।
जीवनका अनेक कठिनाइबीच २०७२ सालको भूकम्प पनि उनले कहिल्यै बिर्सन नसक्ने घटना बन्यो। उनको घर चर्किएपछि सुरक्षित ठाउँ खोज्दै बाहिर बस्नुपर्यो। खाना पकाउने चुलो थिएन, घरभित्र पस्न पनि उनलाई डर लाग्थ्यो। केही दिन त बाहिरै बसेर बिताउनुपरेको थियो। भूकम्पपछि घर पुनः बनाइयो, तर ठूलो भूकम्पको सम्झना भने अझै बाँकी छ। अहिले पनि भूकम्पको कुरा हुँदा मनमा डर पैदा हुने उनी बताउँछिन्।
अहिले समय बितेसँगै उनको जीवन केही सहज भएको छ। पहिले ढिकीमा धान कुट्नुपर्ने, बिहानै उठेर चुलो बाल्नुपर्ने, घाँसदाउरा गर्नुपर्ने र भाँडा माझ्दा रात बित्ने दिनहरू अहिले धेरै बदलिएका छन्। ग्यास चुलोले खाना पकाउन सजिलो बनाएको छ। बिजुली आएको छ। बाटो र यातायातका साधनले आवतजावत सहज बनाएका छन्।
‘अहिले त आनन्द छ। कति परिवर्तन भयो,’ उनी भन्छिन्।
तर गाउँको विकासले सबै समस्या भने समाधान गरेको छैन। वर्षायाममा पहिरो जाने, बाटो बिग्रिने र बिरामी हुँदा स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने समस्या अझै छ। एम्बुलेन्स पुग्न नसक्ने अवस्था आउँदा वृद्धवृद्धा र बिरामीलाई झन् कठिन हुन्छ। गाउँमा बाटो राम्रो बनाइदिए र स्वास्थ्य सेवा नजिक उपलब्ध भए आफूजस्ता उमेर पुगेका मानिसलाई धेरै सहज हुने उनको अपेक्षा छ।
उनका सन्तान अहिले आ–आफ्नो जीवनमा व्यस्त छन्। कोही काठमाडौंमा छन्, कोही विदेशमा। नर्वेमा रहेकी छोरीलाई भेट्न उनी केही समय त्यहाँ पनि पुगेकी थिइन्। तर विदेशमा रहँदा पनि उनलाई आफ्नै देशको माटो सम्झना भइरह्यो। आफ्नै ठाउँमा फर्किन मन लागिरह्यो।
‘आफ्नै ठाउँको माटो कहिले देख्ने जस्तो लाग्यो,’ विदेशमा बिताएको समय सम्झँदै उनी भन्छिन्।
त्यसैले अहिले पनि उनी सकेसम्म आफ्नै गाउँमै बस्न चाहन्छिन्। उनको बिहान चार बजे उठ्ने बानी अझै छुटेको छैन। उनी काम गर्नुपर्ने दिन हो भने काम गर्छिन्, नभए बत्ती काट्ने, आफूलाई चाहिने सामग्री बनाउने वा घरमै समय बिताउने गर्छिन्। गाउँमा आफूलाई आवश्यक पर्ने साना सीपहरू पनि उनीसँग छन्। उनलाई टपरी बनाउने, बत्ती काट्ने जस्ता काम पनि आउँछन्। उमेर बढेसँगै आँखा कमजोर भएका कारण पहिले गर्न सक्ने कतिपय काम अहिले भने सहज छैनन्।
जीवनका धेरै वर्ष बिताइसकेकी ईश्वरी विवाहलाई ‘बन्धन’ मान्छिन्। आमालाई भने पहिलो देवता ठान्छिन्। आफू जन्मेको ठाउँलाई विदेशमा पुगे पनि बिर्सन नसकिने माटोका रूपमा सम्झिन्छिन्।
जीवनमा धेरै कुरा भोगेपछि अहिले उनलाई कुनै ठूलो अपेक्षा छैन। छोराछोरी आफ्नो ठाउँमा छन्, मेहनत गरेर खान सक्ने भएका छन्। आफूले सकेसम्म जीवन बिताएकी छन्। अब बाँकी समय पनि आफ्नै ठाउँमा बिताउन पाए उनलाई पुग्छ।
‘अब सबै करिब करिब पुग्यो, अब जाने बाटो मात्रै हो,’ उनी भन्छिन्।
तर जीवनप्रति उनको दृष्टिकोण निराशाको होइन, सन्तोषको छ। खुसी हुनका लागि अरूको जीवनसँग तुलना गरिरहनु आवश्यक छैन भन्ने उनको बुझाइ छ। आफ्नो अवस्थालाई स्वीकार गर्न सक्नु, मन बुझाउन सक्नु र आफैँ खुसी हुन सक्नु नै जीवनको एउटा आधार हो।
‘आफैँ खुसी हुनुपर्यो,’ उनी भन्छिन्।
७४ वर्षको उमेरमा ईश्वरी थापाको जीवन कुनै ठूलो उपलब्धिको सूची होइन। यो समयसँगै बदलिएको समाज, महिलामाथि परेको जिम्मेवारी, कठिनाइबीच हुर्किएको परिवार र अन्ततः आफ्नै माटोमा भेटिएको एउटा सन्तोषको कथा हो।


