काठमाडौं । भक्सपप नेपालको सम्पादकमा जन्मदेव जैसी नियुक्त भएका छन् ।
भक्सपप मल्टिमिडिया प्रा.लि.द्वारा सञ्चालित भक्सपप नेपालको सम्पादकमा जैसीलाई शुक्रबार बसेको संस्थाको नियमित बैठकले आइतबारदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय जैसीले विभिन्न सञ्चारमाध्यममा काम गर्नुका साथै पत्रकारका श्रम अधिकार, पेशागत सुरक्षा र हकहितका क्षेत्रमा समेत काम गर्दै आएका छन्। उनी श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष हुन्। जैसीसँग पत्रकारिता र सम्पादकीय जिम्मेवारीको लामो अनुभव छ।
नियुक्तिपछि जैसीले भक्सपप नेपालको फरक सम्पादकीय अवधारणाले आफूलाई आकर्षित गरेको बताए। पछिल्लो समय सञ्चारमाध्यममा नकारात्मक र निराशामुखी सामग्री तथा भाइरल हुने प्रवृत्तिले प्राथमिकता पाइरहेको सन्दर्भमा मानिसका व्यक्तिगत भोगाइ, संघर्ष, अनुभव र सम्भावनालाई कथामार्फत प्रस्तुत गर्ने भक्सपपको शैली आफूलाई मन परेको उनको भनाइ छ।
भक्सपपसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै जैसीले संस्थाको मूल भावना र उद्देश्यअनुसार सशक्त ढंगले काम गर्ने प्रतिबद्धता जनाए। उनले सम्पादकीय नेतृत्वमार्फत संस्थालाई थप उचाइमा पुर्याउन आफ्नो तर्फबाट सक्दो योगदान गर्ने बताए।
पत्रकारितामा सहकार्यको महत्त्व औँल्याउँदै उनले सबै सहकर्मीलाई आ–आफ्नो स्थानबाट समन्वय र सहकार्य गर्दै अघि बढ्न आग्रहसमेत गरे।
भक्सपप मल्टिमिडिया प्रा.लि.की प्रबन्ध निर्देशक तथा संस्थापक मनिषा अवस्थीले जैसीलाई स्वागत गर्दै उनको अनुभव र नेतृत्वले संस्थाको सम्पादकीय यात्रालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन्।
अवस्थीले भनिन्, “पत्रकारितामा आफ्नो छुट्टै पहिचान र छवि बनाउन सफल पत्रकार जन्मदेव जैसीलाई भक्सपप नेपालको सम्पादकका रूपमा स्वागत गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ। उहाँले भक्सपप नेपालको मूल भावना र उद्देश्यअनुसार सशक्त रूपमा काम गर्दै संस्थाको उचाइ बढाउन महत्त्वपूर्ण योगदान पुर्याउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”
भक्सपप नेपाल परम्परागत समाचार प्रस्तुतीकरणभन्दा फरक मानवकेन्द्रित र समुदायकेन्द्रित पत्रकारितालाई प्राथमिकता दिने सञ्चारमाध्यम हो। मानिसका अनुभूति, व्यक्तिगत भोगाइ, संघर्ष, सिर्जनशीलता र सम्भावनालाई कथामार्फत सार्वजनिक गर्नु यसको प्रमुख सम्पादकीय अवधारणा हो।
समाजमा भइरहेका असल काम, सकारात्मक प्रयास र प्रेरणादायी गतिविधिलाई प्रोत्साहन गर्दै तिनलाई सार्वजनिक पहिचान दिलाउनु भक्सपपको मुख्य उद्देश्य हो। नकारात्मकता र समस्याको प्रस्तुतिमा मात्र सीमित नभई समाधान, सम्भावना र सकारात्मक परिवर्तनका उदाहरणलाई प्राथमिकता दिने यसको कार्यदिशा रहेको छ।
मानवता, समुदाय र सकारात्मक कार्यलाई केन्द्रमा राखेर पत्रकारिता गर्ने भक्सपप नेपालको अभियानलाई जैसीको सम्पादकीय नेतृत्वले थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा संस्थाले गरेको छ।


