Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

चौलोले प्रख्यात बडाल जाँत, सुदूरपश्चिमको मौलिक संस्कृतिको पहिचान ( फोटो सहित )

चौलोले प्रख्यात बडाल जाँत, सुदूरपश्चिमको मौलिक संस्कृतिको पहिचान ( फोटो सहित )

ढाल–तरबारसहितको परम्परागत चौलो नाच, मौलिक बाजागाजा र लाटागन्याप देवताप्रतिको आस्थाले जाँतलाई दिएको छ विशिष्ट पहिचान।

शुक्रबार, मंसिर ४ २०८३
शुक्रबार, मंसिर ४ २०८३
  • डडेल्धुरा। सुदूरपश्चिम प्रदेशको मौलिक कला संस्कृति धार्मिक आस्था र परम्पराको विशिष्ट पहिचान बोकेको डडेल्धुराको प्रसिद्ध बडाल जाँत पछिल्लो समय धार्मिक तथा सांस्कृतिक पर्यटकीय आकर्षणका रूपमा समेत परिचित हुँदै आएको छ। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा लाग्ने यो जाँत (देवीदेवताको पूजाआजा, धार्मिक अनुष्ठान तथा परम्परागत सांस्कृतिक गतिविधिसहित सामूहिक रूपमा मनाइने धार्मिक पर्व) विशेषगरी ढाल  तरबारसहित खेलिने परम्परागत चौलो नाच तथा मौलिक बाजागाजाका कारण प्रसिद्ध छ।

    images

    WhatsApp Image 2026-11-20 at 4.05.23 PM.jpeg

    WhatsApp Image 2026-11-20 at 4.05.13 PM.jpeg

    लाटागन्याप देवताको भक्तिस्वरूप मनाइने बडाल जाँत हरेक वर्ष कार्तिक शुक्ल पक्षको दशमी र एकादशीका अवसरमा परम्परागत धार्मिक विधिअनुसार मनाइने गरिन्छ। जाँतको पहिलो दिन राति रतेडी तथा दोस्रो दिन दिउँसेडी मेला लाग्ने परम्परा छ। पहिलो दिन देवताको पूजाआजा गरी जाग्राम बस्ने खेल खेल्ने र भोलिपल्ट बिहानदेखि भक्तजनले लाटागन्याप देवताको दर्शन तथा पूजाआजा गर्ने चलन छ। यसरी देवताको दर्शन र आराधना गरे मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ।

    चौलो नाच र तरबार प्रदर्शन मुख्य आकर्षण

    बडाल जाँतको सबैभन्दा ठूलो आकर्षण परम्परागत चौलो नाच हो। स्थानीयले हातमा नाङ्गो तरबार र तरबारको ढाल लिएर मौलिक बाजागाजाको तालमा प्रस्तुत गर्ने यो नाचले जाँतलाई विशेष पहिचान दिएको छ।

    WhatsApp Image 2026-11-20 at 4.05.24 PM (1).jpeg

    दाइन दमाहा रुईसिंग र भोक्करलगायतका परम्परागत बाजाको धुनसँगै तरबार खेलाउँदै चौलो नाच्ने दृश्य निकै आकर्षक हुने गर्दछ। देवलका भाला गुर्जा खुकुरी तथा तरबारसहित प्रस्तुत हुने सांस्कृतिक गतिविधिले पुस्तौँदेखि चल्दै आएको परम्परालाई जीवन्त बनाएको छ।

    विशेषगरी भोक्कर बाजाको धुन र तरबारसहित खेलिने चौलो नाच बडाल जाँतको छुट्टै पहिचान बनेको छ। सुदूरपश्चिमका अन्य धार्मिक मेलाभन्दा फरक विशेषता बोकेको यस जाँतमा स्थानीय मौलिक कला र संस्कृतिको जीवन्त प्रस्तुति देख्न पाइन्छ।

    विभिन्न गाउँबाट आउँछन् देउरो

    बडाल जाँतमा आसपासका विभिन्न गाउँबाट देउरो (देवीदेवताको प्रतीक वा मूर्ति बोकेर बाजागाजा र धार्मिक विधिसहित एक स्थानबाट अर्को स्थानमा लैजाने परम्परागत धार्मिक समूह वा यात्रा) ल्याउने परम्परा रहेको छ। कुजाकोट रुमायल बडाल थप्साललगायतका क्षेत्रबाट देउरो आउने गर्दछ भने मुख्य देउरो मालीगाउँबाट ल्याउने परम्परा रहिआएको छ।

    WhatsApp Image 2026-11-20 at 4.05.24 PM.jpeg

    देउरोसँगै आउने धार्मिक  बाजागाजा र परम्परागत विधिले जाँतको रौनक थप बढाउने गर्दछ। स्थानीय धार्मिक मान्यताअनुसार भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मुख्य मेला शुभारम्भ हुने परम्परा पनि रहेको छ।

    धार्मिक आस्थासँगै आर्थिक गतिविधिको केन्द्र

    बडाल जाँत धार्मिक तथा सांस्कृतिक महत्वमा मात्र सीमित छैन। यसले स्थानीय समुदायको सामाजिक सम्बन्ध आर्थिक गतिविधि र परम्परागत उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको छ।

    मेलामा स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज दाल तथा हस्तकलाका सामग्रीको किनबेच र साटासाट हुने गर्दछ। हलो जुवा ठेकीलगायतका परम्परागत सामग्रीसमेत मेलामा कारोबार हुने गरेका छन्। यसले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै गाउँघरमा प्रचलित परम्परागत सीप र सामग्रीको संरक्षणमा सहयोग पुर्‍याएको छ।

    WhatsApp Image 2026-11-20 at 4.06.46 PM (1).jpeg

    बडाल जाँतमा डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतका केही क्षेत्रबाट समेत दर्शनार्थी र अवलोकनकर्ताहरू आउने गर्दछन् । यसले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई जिल्लाबाहिर समेत चिनाउन सहयोग पुर्‍याएको छ।

    संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनको सम्भावना

    पछिल्लो समय आधुनिकताको प्रभावसँगै कतिपय मौलिक संस्कृति र परम्परा हराउँदै गइरहेका बेला बडाल जाँतले पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म सांस्कृतिक पहिचान हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    WhatsApp Image 2026-11-20 at 4.07.46 PM.jpeg

    तरबार र ढालसहितको चौलो नाच भोक्कर दाइन दमाहा र अन्य मौलिक बाजागाजा यस क्षेत्रको सांस्कृतिक सम्पत्ति हुन्। यस्ता परम्पराको संरक्षण व्यवस्थित प्रचारप्रसार र पर्यटनसँग जोड्न सके बडाल जाँतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सकिने सम्भावना छ।

    यसका लागि स्थानीय सरकार संस्कृति संरक्षणमा क्रियाशील संघसंस्था र स्थानीय समुदायबीच सहकार्य आवश्यक देखिन्छ।धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै आवश्यक पूर्वाधार, प्रचारप्रसार र व्यवस्थापनमा ध्यान दिन सके बडाल जाँत डडेल्धुराको महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्छ।

    बडाल जाँत केवल एउटा धार्मिक मेला मात्र होइन यो सुदूरपश्चिमको इतिहास मौलिक संस्कृति सामुदायिक एकता र पुर्खाले हस्तान्तरण गरेको सांस्कृतिक विरासतको जीवन्त उदाहरण हो

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij