ललितपुर : ललितपुर जिल्लाको दक्षिणी भेगमा अवस्थित कोन्जोसोम गाउँपालिका प्राकृतिक सौन्दर्य, विविध सांस्कृतिक सम्पदा र परम्परागत जनजीवनले भरिपूर्ण क्षेत्र हो। राजधानी काठमाडौँ उपत्यकाबाट नजिकै भए पनि यहाँको भौगोलिक बनावट, दुर्गम पहाडी भू–भाग र मौलिक जीवनशैलीले फरक पहिचान निर्माण गरेको छ।
उच्च पहाडी क्षेत्र, हरियाली डाँडाकाँडा, वनजङ्गल र रमणीय दृश्यावलोकनका लागि उपयुक्त स्थानहरूले कोन्जोसोमलाई प्राकृतिक दृष्टिले निकै धनी बनाएको छ। यहाँबाट लाङटाङ, गणेश हिमाललगायत हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। गाउँपालिकाभित्र पर्ने विभिन्न डाँडाहरू सूर्योदय र सूर्यास्तको दृश्य कैद गर्न चाहने फोटोग्राफरहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्।
जनजीवनका हिसाबले कोन्जोसोममा मुख्यतः तामाङ तथा अन्य स्थानीय समुदायको बसोबास रहेको छ। परम्परागत खेतीपाती, पशुपालन र स्थानीय उत्पादनमा आधारित जीवनशैली अझै पनि यहाँका बासिन्दाको मुख्य आधार हो।


ढुङ्गा र काठबाट बनेका घर, मौलिक भेषभूषा, चाडपर्व र संस्कारहरूले यहाँको सामाजिक जीवनलाई झनै जीवन्त बनाएको छ।
पर्यटनको दृष्टिले कोन्जोसोम गाउँपालिका अझै सम्भावनायुक्त गन्तव्यका रूपमा उदाउँदैछ। पदयात्रा मार्ग, प्राकृतिक दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक स्थलहरूको अध्ययन–अवलोकनका लागि यो क्षेत्र उपयुक्त मानिन्छ। शान्त वातावरण, प्रदूषणरहित हावा र ग्रामीण आतिथ्यताले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने सम्भावना बोकेको छ।हरियाली पहाड, परम्परागत बस्ती, दैनिक जीवनका गतिविधि र प्राकृतिक दृश्यहरूको सजीव तस्बिरहरूले यस क्षेत्रको वास्तविक स्वरूप झल्काउन सक्छन्।

भूगोल, जनजीवन र पर्यटनको संयोजन कोन्जोसोम गाउँपालिका डुल्ने होइन त?

पूर्वाधार विकास र प्रचारप्रसारमा थप ध्यान दिन सकिएमा कोन्जोसोम गाउँपालिका निकट भविष्यमा महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने देखिन्छ।







