काठमाडौं । असार १५ अर्थात धान दिवस पनि नजिकिँदै छ । धान दिवसमा शहरी क्षेत्रतिर धान रोप्ने चटारो कम हुन्छ भने दही चिउरा खाने चलन बढी देखिन्छ । धान दिवसमा मात्रै नभएर अन्य सामान्य दिनमा पनि खाजामा समावेश हुने भएकाले चिउराको खपत बढ्दो छ । चिउरासंग हाम्रो संस्कृति, मौलिकता, परम्परा र स्वास्थ्य पनि जोडिएको छ । धेरै दिनसम्म नबिग्रिने चिउरा, कार्बोहाइड्रेडको स्रोत हो । यसमा आइरन र प्रोटिन पनि पाइन्छ ।
शक्तिवर्धक, पाचन प्रणालीमा सघाउने चिउरा, नेवार समुदायका हरेक संस्कार, पर्व र उत्सवमा नभइ नहुने खाद्यवस्तु हो । जनमान्यता अनुसार जन्मदेखी मृत्युसम्मका संस्कार, पर्व तथा उत्सवमा यसको प्रयोग हुन्छ । स्वास्थ्यवद्र्धक र हाम्रो समाजको मौलिक खाद्यवस्तुका रुपमा रहेको चिउरा कसरी बन्छ होला त र? यही खुल्दुलीका कारण चिउरा कसरी बन्छ भनेर लक्ष्मी चिउरा मिल हेर्न जाँदा त्यहाँका सञ्चालक वीरेन्द्र जति, मिलबाट चिउरा झिकेर बोरामा हाल्दै गरेको अवस्थामा भेट्यौं । उनी भन्छन्, 'चिउराको लागि सबैभन्दा पहिला धानलाई भिजाउनुपर्छ । बर्खामा तीन दिन र जाडोमा चार दिनसम्म भिजाइने गरिन्छ । भिजाइसकेपछिको काम भनेको राम्रोसँग धोइपखाली गर्ने अनि घाममा सुकाइने हो । सुकेपछि ठुलो तावामा भुट्ने गरिन्छ । त्यसपछि बल्ल कुटेर भुस र कनिका छुट्याएपछि चिउरा तयार हुन्छ ।
चिउरा तयार गर्ने बेला निस्कने भुसलाई बाल्ने र त्यसलाई मलको रुपमा कृषकलाई बेच्ने गरेको पनि उनी सुनाउँछन् । उनले प्रति बोरा मलको ४० देखि ५० रुपैयाँ लिन्छन् । उनका अनुसार कनिकाको प्रति केजी ३५ रुपैयाँमा विक्रि हुन्छ । ग्राहकले कुखुराका चल्लालाई खुवाउन पनि चिउराका कनिका लाने गरेको अनुभव उनले सुनाए । कनिका रक्सीको अनिवार्य कच्चापदार्थको रुपमा पनि लिइन्छ ।
यो मिलबाट चिउरा मात्रै होइन, यसका कनिका र भुस बालेर बन्ने मलको पनि व्यापार हुन्छ । वीरेन्द्र जतिले चिउराको लामो इतिहास रहेको बताएका छन् । तिब्बतको ल्हासामा चिउरालाई विगतमा बजि भनेर सम्बोधन गर्ने गरेकोबारे उनले अध्ययन गरेका छन् ।
नेपाल तिब्बत व्यापारको लामो इतिहासमा विगतमा चिउरासंग ल्हासामा अरु सामान साट्ने काम गरेको उनी सुनाउँछन् । अनि पहिले पहिले युद्धहरुमा जाँदा समेत चिउराले छाक टार्ने गरेको कुरा अघिल्ला पुस्ताबाट सुन्दै आएका थिए वीरेन्द्रले ।
उनका अनुसार भक्तपुरका यी मिलमा बजारमा पाइने भन्दा राम्रो र गुणस्तरीय चिउरा उत्पादन हुन्छ । बजारमा पनि भक्तपुरे ताइचिन चिउराको मूल्य अरु चिउरा भन्दा महंगो नै पर्छ ।
संस्कार संस्कृति, धर्म, पर्व, पर्यटनसंग जोडिएको नेपाली मौलिक खाद्यवस्तु चिउरा र यससंग जोडिएका किसानको पसिनाका लागि हाम्रो पनि सलाम ।


