जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालाई सञ्चार तथा सूचना प्रवाहका सामग्री हस्तान्तरण गरेको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजना तथा मिडिया काउन्सिल मधेस प्रदेशको समन्वयमा आयोजित कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्षलाई एक–एक थान कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर हस्तान्तरण गरे ।
कार्यक्रममा मन्त्री महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकाले पत्रकारिता क्षेत्रलाई थप सक्षम, व्यावसायिक, प्रविधिमैत्री र प्रभावकारी बनाउन प्रदेश सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए । उनले राज्यका गतिविधि, जनताका आवश्यकता, समस्या, अपेक्षा तथा उपलब्धिलाई नागरिकसम्म पुर्याउने र नागरिकका आवाज राज्यका निकायसम्म पुर्याउने कार्यमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
हस्तान्तरण गरिएका सामग्रीले जिल्ला तहमा पत्रकारिता तथा सूचना प्रवाहसम्बन्धी कार्यलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव डा विन्देश्वरप्रसाद लेखक, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झा तथा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोको सहभागिता थियो ।


