Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

जातको साङ्लोमा बाँधिएको एउटा प्रेम कथा

जातको साङ्लोमा बाँधिएको एउटा प्रेम कथा

मंगलबार, मंसिर ८ २०८३
मंगलबार, मंसिर ८ २०८३
  • काठमाडौं । पार्वती विश्वकर्माको अनुहारमा थकानको रेखा स्पष्टै देखिन्छ, तर आँखा अझै चम्केका छन् जसरी बिहानको मधुर घाम  टिनको छानाबाट भित्र पसेर जति सक्दो उज्यालो दिन खोज्छ।

    images

    कीर्तिपुरको डाँडामा एउटा उचो घरको टहराभित्र उनी अर्धचेत श्रीमान प्रकाश ज्ञवालीसंग  बस्छिन् । मानसिक सन्तुलन विग्रिएकै कारण दैनिक जीवनयापनमा पार्वतीले अनेकन समस्या झेल्नुपरेको छ । समस्या छ भनेर जीवन जीउनै बिर्सन पनि त भएन । यस्तै भावनाले ओतप्रोत पार्वती मानसिक असन्तुलनले थलिएका श्रीमानलाई टहराको एक कुनामा फलामको साङ्लोले बाँधेर आफ्नो दिन सुरु गर्छिन् । श्रीमानलाई बाँधेका ती साङ्लोहरू देखिने हुन्, तर पार्वतीको हृदयमा बाँधिएको ती अदृश्य हिनताबोध र पिडा कसले देख्लान् ? उनी जातीय घृणा, सामाजिक अपहेलना र प्रेमको जञ्जिरले बाँधिएकी छिन्, जसले उनलाई हरेक दिन श्वास फेर्दा पनि च्यापिरहेछन्।

    झन्डै आठ वर्षअघि सुन्दर सपना लिएर जीवन बदल्ने अठोटका साथ पार्वती गुल्मीबाट राजधानी आइन् । त्यही बेला, दुबईमा काम गर्दैगरेका प्रकाशसंग सामाजिक सञ्चालमार्फत उनको चिनजान भयो। प्रकाशको एक्लोपनमा पार्वतीको सहानुभूति मिसियो भने पार्वतीको अप्ठ्यारोमा प्रकाशको भरोसा। उनीहरू छुट्टाछुट्टै भूभागमा भए पनि, भावनाले उनीहरूलाई नजिक ल्यायो। अन्ततः प्रेमले प्रकाशलाई स्वदेश फर्काइ छाड्यो। काठमाडौंमा साक्षात् भेट भएपछि केही समयमै विवाह गर्ने निर्णयमा दुवै पुगे । विवाह पनि भयो तर त्यहाँ न त बाजागाजा थियो न त आफन्तको आशीर्वाद, बस प्रेमको अडान मात्र।

    दुईबीचको यही प्रेम एकका लागि साहस र अर्काका लागि अपराध बन्यो। प्रकाशले घरमा पार्वतीसँग विवाह गरेको कुरा बताएपछि, उनको संसार एकाएक गल्र्याम्मै भत्कियो । पानी नचल्ने जातसंग सम्बन्ध बढाइस् भन्दै सबैले यो जोडीसंग दूरी बढाए । यहाँ सम्मकि प्रलोभन, दबाब दिए,अपमान गरे, तर प्रकाश अडिग रहे अनि आफ्नै परिवार र समाजका कथित माथिल्लो जातका व्यक्तिसंग एक्लै युद्धमा होमिए । जुन लडाइँ कत्ति पनि सजिलो भने थिएन।

    सुरुका केही वर्ष उनीहरूले साथमा बिताए, एकअर्काको सहारामा जीवनको झरी छेक्दै। छोरी जन्मिइन्, छोरा जन्मिए। लाग्यो अब जिन्दगीले गति लिन्छ, समाजले बिस्तारै स्वीकार्न थाल्छ। तर नियति, प्रकाश  बिस्तारै मानसिक रूपमा कमजोर बन्दै गए। पारिवारिक वितृष्णाले रक्सीको लतमा डुब्दै, चिच्याउँदै, आफैंलाई नचिन्ने स्थितिमा श्रीमान पुगेको देख्दा पार्वती जीवनमा एक्लो र असहाय महशुस गर्छिन । आज उनी न राम्रोसँग सुन्न सक्छन्, न त बुझ्न। कहिले नुन खान्छन्, कहिले माटो, कहिले काँचो चामल। कहिलेकाहीँ आफ्नै जीवनप्रति पनि हिंस्रक व्यवहार देखाउँछन् प्रकाश। पार्वती भन्छिन्, “ सधैं सन्तुलनमा हुँदैनन् र त सुत्दा मात्रै बाँधेको साङ्लो खोल्ने गरेकी छु ।”

    श्रीमानलाई सम्हाल्दै आएकी पार्वतीले आफ्ना दुई सन्तानको पालनपोषण, हेरचाह र सुरक्षाको जिम्मा माइतीलाई सुम्पेकी छिन् । अधुरो सपना र खालीपनले भरिएको दैनिकी जसोतसो चल्दै छ । बिहानदेखि बेलुकासम्म श्रीमानको हेरचाह गर्छिन् अनि सुरु हुन्छ रात्रीकालिन नोकरी । लाजिम्पाटको दोहोरी साझँमा उनी लोकगीत गाउँछिन्। “छोराछोरीको अनुहार देख्न पनि समय हुँदैन, श्रीमान् बाँच्छन् कि मर्छन् भन्ने चिन्ताले सताउँछ ” उनी थकित स्वरमा भन्छिन्।श्रीमानको उपचारका लागि थुप्रै अस्पताल धाएँ, डाक्टरसँग सल्लाह लिएँ, तर सुधारको आशा दिनहुँ टाढिँदै गइरहेको छ। 

    एकपटक त प्रकाशलाई घर पुर्याएर परिवारको जिम्मा लगाउने प्रयास पनि नभएको होइन । तर दुई दिनमै फर्काइदिए । पार्वतीलाई आफ्ना श्रीमानका बारेमा जेठाजू र देवरले अपशब्द बोलेको सम्झेरै भक्कानो फुट्छ । आफ्नै परिवारभित्र उनलाई गरिएको बहिष्कारलाई चुपचाप सहेकी छिन्। 


    उनको तीतो अनुभव अझ गहिरो बन्छ जब उनले थपिन् “ त्यो गाउँघरका सबै पढेलेखेका र सरकारी जागिरे । तर शिक्षा उनीहरूका लागि चेतना होइन, केवल उपाधि बनेको छ।” प्रकाशकी आमाले पनि बुहारीलाई स्वीकार गरेकी छैनन् । समाजकै डरका कारण आमालाई छोरा बुहारीसंग सम्बन्ध राख्ने छुट छैन । 

     ‘जातले माया रोक्दैन’ भन्ने किताबी नारा सुनेकी थिइन पार्वतीले । “यदि म ब्राह्मण हुन्थें भने के यस्तै व्यवहार हुन्थ्योरु” उनी आफैँलाई प्रश्न गर्छिन् । उनले मायाकै लागि आफ्नो आहुति दिइन्। आत्मसम्मान, शारीरिक ऊर्जा, मानसिक शान्तिको आहुतिले पनि उनलाई प्रकाशको समाजले अपनाएन ।   


    राज्यले अन्तरजातीय विवाहलाई बढावा दिन्छ, नगद पुरस्कारको घोषणा गर्छ। तर यथार्थमा, त्यस्ता विवाहले भोग्ने अपमान र संघर्षको कुनै लेखाजोखा नै छैन। समाजले प्रेम गर्नेहरूलाई नायक होइन, अपराधी देख्छ। पार्वतीजस्ता महिलाहरू जो प्रेममा विश्वास गर्छन्, तर त्यसकै मूल्य चुकाउन आफ्नै पहिचान गुमाउँछन । 

    अहिले पार्वतीको प्रेम साङ्लोमा बाँधिएको छ, दुःखको घेराभित्र बन्द छ, तर मरेको भने छैन, जिउँदो छ त केवल छोराछोरीलाई सम्झिने आँखामा र हरेक रात उनले गाउने गीतमा । “छोराछोरी पढ्छन, मान्छे बन्छन्,। म भए नभए पनि उनीहरू बाँच्छन्,  पार्वतीको यो भनाइ केवल आशा होइन, एउटा त्याग हो जसले प्रेमको परिभाषालाई पुनर्लेखन गर्न सक्छ।

    शायद यही प्रेम हो, जसले समाजका पर्खालहरू भत्काउँछ। पार्वती र प्रकाशको प्रेम कथा जितको कथा होइन, तर लडाइँको कथा हो । जसमा उनलाई आफ्नै छाया भन्दाबाहेक अरुको साथ छैन ।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij