Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

‘आमाले भन्नुहुन्थ्यो– सकभर सानो हुनु !’

‘आमाले भन्नुहुन्थ्यो– सकभर सानो हुनु !’

हिजोका रिक्सा नाइके, आजका सोम सर !

आइतबार, मंसिर ६ २०८३
आइतबार, मंसिर ६ २०८३
  • काठमाडौं । जमाना अर्कै थियो। २३ वर्षअघिको कुरा। काठमाडौँ उपत्यका अहिले जस्तो गुलजार थिएन। घरहरू कमै थिए। मानिसहरूको चहलपहल पनि अहिलेको जस्तो थिएन।

    images

    मानिसहरू चिटिक्कका, सुकिला हुन्थे। तर ठाउँहरू भने कति फोहोर ! मुख्य मुख्य ठाउँबाहेक प्रायः सबैजसो ठाउँमा फोहोर थुप्रिएको हुन्थ्यो। ‘चक्रपथको ठाउँ ठाउँमा फोहोर थुप्रिएको हुन्थ्यो। मानिसहरू खोलामा फोहोर फाल्थे,’ सोमनाथ ढकाल सम्झिन्छन्, ‘त्यति बेला मानिसहरू हामीलाई निको मान्दैनथे। हामीसँग हेपेर बोल्थे।’

    त्यति बेला उनी जम्मा २० वर्षका थिए। गाउँबाट काठमाडौँ आएको वर्ष दिन पुगिसकेको थियो। गाउँकै एक आफन्तको सम्पर्कबाट काठमाडौँ आएका उनी फोहोर मैला व्यवस्थापनको काममा जोडिएका थिए। त्यसअघि नै उनको पढाइ छुटिसकेको थियो। उनी १३ वर्षका हुँदा बुबाको निधन भएपछि आमाले एक्लै पढाउन सक्ने अवस्था थिएन। अभावबिच हुर्किएका उनको जीवन काठमाडौँ आएपछि पनि सहज थिएन।

    ‘त्यति बेला गाडीको जमाना थिएन। रिक्साका रिक्सा फोहोर उठाउँथ्यौँ। जम्मा २७ सय रुपैयाँ तलब मिल्थ्यो,’ उनी भन्छन्।

    त्यो तलब पनि उनले आफ्नो जिम्मेवारीअनुसार पाएका थिए। उनी रिक्साका नाइके थिए। उनीभन्दा तल्लो तहमा रहेर काम गर्नेहरू पनि उनका साथी थिए। मेहनत र इमानदारिता नै आफूले त्यो जिम्मेवारी पाएको उनको बुझाइ छ। सोमनाथ भन्छन्, ‘काममा इमानदार थिएँ। मेहनती थिएँ। त्यसैले मलाई सबैले माया गर्थे। त्यही भएर जिम्मेवारी पनि ठुलो पाएँ।’

    उनको दैनिकी भने सहज थिएन। बिहान चार–साढे चार बजे नै काम सुरु हुन्थ्यो। राति नौ बजेसम्म पनि काममै खटिनुपर्थ्यो। दिनभर सफाइको काममा लाग्नुपर्ने भएकाले अरू कुरामा ध्यान दिने समय नै हुँदैनथ्यो। काठमाडौँ आएको तीन वर्षपछि उनलाई फेरि पढ्ने इच्छा जागेको थियो। तर कामको व्यस्तताले त्यो इच्छा पूरा गर्न सकेनन्।

    अहिले उनी विगत सम्झिँदा अभाव र दुःखले नै आफूलाई खार्दै ल्याएको ठान्छन्। जीवनमा भोगेका कठिनाइलाई उनी सहज रूपमा लिन्छन्। उनका लागि साथीभाइ र सहकर्मी नै प्रेरणाका स्रोत हुन्।

    समयसँगै उनको जिम्मेवारी पनि फेरिँदै गयो। सुरुमा रिक्साका नाइके भएर काम गरेका उनी पछि तल्लो पदमा रहेर पनि काम गरे। एक समय घरघरमा बिल पुर्‍याउने जिम्मेवारी पाए। त्यसपछि कामदार परिचालन गर्ने सुपरभाइजर बने। अहिले उनी नेप्सेम्याकको स्वयम्भू शाखाका उपनिर्देशक छन्। साथै, नेप्सेम्याक कर्मचारी युनियनका अध्यक्षको जिम्मेवारीमा पनि छन्।

    उनको कार्यक्षेत्रमा अहिले ८० जना कर्मचारी छन्। ५६ जिल्लाबाट आएका कर्मचारीसँग उनको दैनिक सम्पर्क हुन्छ। नेप्सेम्याक ग्रुपका करिब ६०० कर्मचारीको व्यवस्थापनको जिम्मेवारी उनकै हो।

    अहिले उनको दैनिकी पहिलेको भन्दा निकै फेरिएको छ। उनी प्रायः समुदायमै पुगिरहेका हुन्छन्। सेवाग्राहीका कुरा सुन्छन्। आफ्नो कार्यक्षेत्र र सीमाभित्रका समस्या समाधान गर्ने प्रयास गर्छन्। आफूले समाधान गर्न नसक्ने विषय सम्बन्धित निकायसम्म पुर्‍याउँछन्।

    कर्मचारी प्रशासनको जिम्मेवारीमा रहे पनि आफू ठुलो हुँ भन्ने व्यवहार उनी देखाउँदैनन्। सबैसँग समान व्यवहार गर्नुपर्छ भन्ने उनको मान्यता छ। विगतमा कर्मचारी र प्रशासनबीच विवाद हुने गरेको स्वीकार्ने उनी अहिले भने वातावरण सामान्य र सौहार्दपूर्ण रहेको बताउँछन्। कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिले उनीहरूलाई भैपरी आउने समस्यामा सहयोग पुग्ने उनको विश्वास छ।

    समुदायमा पुगेर फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने, कौसी खेतीका बारेमा सिकाउने र विद्यालयहरूमा समेत पुगेर जानकारी दिने काममा पनि उनी संलग्न हुन्छन्। अहिले यो क्षेत्रमा काम गर्न आउने नयाँ पुस्ताका धेरैजसो पढेलेखेका छन्। त्यसैले पहिले जस्तो कामबारे धेरै कुरा बुझाइरहनुपर्ने अवस्था नरहेको उनको अनुभव छ।

    तर विगतको एउटा कुरा भने उनी अझै सम्झिरहन्छन्। सुरुका दिनमा मानिसहरूले आफूहरूलाई हेपेर बोल्थे। ‘फोहोरका मान्छे’ भनेर सम्बोधन गर्थे। अहिले समय फेरिएको छ। यद्यपि, यस्तो व्यवहार पूर्ण रूपमा हटिसकेको छैन।

    उनका लागि यो पेशा अरू कुनै पेशाभन्दा कम महत्वपूर्ण छैन। कोरोनाको समयमा यसको महत्व अझ बढी महसुस भएको उनी बताउँछन्।

    ‘हामीले कोरोनाको बेला यसको महत्व थाहा पाइहाल्यौँ नि। मैले त त्यही समयदेखि नै यसको महत्वबोध गरेको हुँ,’ उनी भन्छन्।

    उनको विचारमा यो पेशालाई सम्मानित बनाउने जिम्मेवारी पनि यही क्षेत्रमा काम गर्नेहरूकै हो। समाजले यो कामलाई सम्मान गर्नुपर्छ, तर त्यसका लागि आफूहरूले पनि आफ्नो कामप्रति इमानदार र जिम्मेवार हुनुपर्ने उनी ठान्छन्।

    कामसँगै उनको पारिवारिक जीवन पनि अघि बढेको छ। २०६७ सालमा उनको विवाह भयो। विवाहका लागि केटी माग्न जाँदा नै उनले आफ्नो कामबारे प्रस्टसँग बताएका थिए, बिना हिचकिचाहट।

    ‘म सरसफाइकर्मी हुँ। मेरो काम फोहोरमा हुन्छ। म सधैँ व्यस्त रहन्छु। तर पनि तपाईंकी छोरीलाई सुखले पाल्छु,’ उनले त्यति बेला भनेका थिए।

    अहिले उनी दुई छोरीका बुबा हुन्। १९ वर्षसम्म भाडाको घरमा बसे। चार वर्षअघि मात्रै काठमाडौंमा आफ्नै घर बनाउन सफल भए। त्यसलाई उनी जीवनका खुसीका क्षणमध्ये एक मान्छन्।

    आफू आजको अवस्थासम्म आइपुग्नुमा नेप्सेम्याक संस्थाको विश्वास र संस्थापकको साथलाई उनी महत्वपूर्ण मान्छन्। जीवनमा धेरै अपेक्षा नराख्ने उनी आफ्ना दुई छोरीलाई राम्रोसँग हुर्काउन र पढाउन पाउनु नै ठुलो खुसी ठान्छन्।

    उनकी आमाले उनलाई बेलाबेला एउटा कुरा सम्झाइरहन्थिइन्– ‘बाबु, जहिल्यै पनि सकभर सानो मान्छे हुनु।’

    सायद आमाको त्यही भनाइले उनको स्वभाव निर्माण गर्न मद्दत गर्‍यो। जिम्मेवारी र पद बढ्दै गए पनि आफूलाई अरूभन्दा ठुलो ठान्न नहुने उनी मान्छन्। उनी इमान्दारितालाई जीवनको सबैभन्दा ठुलो कुरा ठान्छन्।

    उनका अनुसार जीवनलाई सहज रूपमा लिन सक्नुपर्छ। दुःखलाई पनि जीवनकै स्वाभाविक हिस्साका रूपमा स्वीकार गर्न सकियो भने सुखको अनुभूति गर्न सकिन्छ। आफ्नो परिस्थितिअनुसार अघि बढ्नु र आर्थिक मितव्ययिता अपनाउनु पनि जीवनलाई व्यवस्थित बनाउने आधार हुन्।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij