गोरखा । बाढी आएको महिनादिन पुग्दा पनि गोरखाका प्रभावितले राहतको महसुस गरेका छैनन्। न बाटोको सास्ती घटेको छ, न बसोबासको टुंगो छ ।
गत असोज २५ गते आइतबार बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ्का सडकका विभिन्न खण्डमा क्षति पुर्याएको थियो। गोरखाको चुमनुब्री गाउँपालिका–६ (चुम्चेत र लोक्पा क्षेत्र) मा सुक्खा पहिरो खसेर खोला थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा लेदोसहितको बाढी आएको थियो।


बिहानै बाढीको साइरन तथा मोबाइल सन्देशमार्फत तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो। बाढीको सुरुवाती बिन्दु चुमनुब्री–६ स्थित उङ्गिलुङको भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन भए। आरुघाटस्थित शान्तिबजारका करिब ६० घर डुबानमा परेका थिए भने दर्जनौँ परिवार विस्थापित भई अस्थायी टेन्टमा बस्न बाध्य भएका थिए।



अवरुद्ध सडक मर्मतसम्भारको काम अहिले पनि ठाउँठाउँमा जारी छ। यसले गर्दा आरुघाट – लार्के सडक खण्डमा सास्ती उस्तै देखिन्छ। एक त सडक सहज छैन, त्यसमाथि बाढीको वितण्डा। यसले गर्दा धेरै नागरिक कष्टसाध्य बाटो हिड्न बाध्य छन्।


बेनिघाट – आरुघाट – लार्के सडक उत्तरी गोरखालाई देशको अन्य भागसँग जोड्ने प्रमुख मार्ग हो । तिब्बत सीमासम्म पुग्ने यस सडकलाई उत्तरी गोरखाको मुख्य लाइफलाइन मानिन्छ। तर सडक राम्ररी नबन्दा अहिले यहाँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।
हो, बाढीबाट विस्थापित भएका दर्जनौँ परिवार अझै पनि टेन्टमै बसिरहेका छन्। बाढी गएको एक महिना पुग्न लाग्दा पनि घरहरू लेदो र ढुङ्गामुढाले पुरिएकाले तथा पुनर्निर्माण अघि नबढ्दा उनीहरू घर फर्कन सकेका छैनन्। बसोबासको टुङ्गो नहुँदा उनीहरू चिन्तित छन्।


हाल क्षतिग्रस्त आरुघाट पुलमा नेपाली सेनाले बेलीब्रिज जडान गर्ने कार्य अघि बढाएको छ भने सडक विभागले अवरुद्ध सडक खण्डहरू खुलाउने काम गरिरहेको छ।


