काठमाडौं । बागमती प्रदेश सरकारले ल्याएको अपाङ्गता भएका व्यक्तिहरूको प्रादेशिक नीति, २०८३ कार्यान्वयनका लागि पर्याप्त बजेट, संस्थागत समन्वय र प्रभावकारी अनुगमन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
सोमबार हेटौँडामा आयोजित अन्तरक्रियामा सहभागीहरूले नीति निर्माण भए पनि त्यसमा समेटिएका व्यवस्था व्यवहारमा लागू हुन नसके अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सेवा सुविधामा अपेक्षित सुधार नआउने बताएका हुन्।
नेत्रहीन युवा संघ नेपालको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको सहआयोजनामा ‘अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, समस्या, चुनौती र आगामी बाटो’ विषयक अन्तरक्रिया आयोजना गरिएको थियो। कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको नीतिको कार्यान्वयन अवस्था, विद्यमान समस्या र आगामी कार्यदिशाबारे छलफल भएको थियो।
कार्यक्रममा पशुपन्छी तथा वनमन्त्री रमा आले मगरले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र दक्षता पहिचान गरी अवसर तथा पहुँच सुनिश्चित गर्नुपर्ने बताइन्। नीतिलाई प्रभावकारी बनाउन सरोकारवालाको सुझाव र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
उनले अपाङ्गता भएका बालबालिका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सरकारी कार्यालयबाट सेवा लिन सहज हुने गरी छुट्टै व्यवस्था गरिएको पनि जानकारी दिइन्।
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत रामचन्द्र गिरीले प्रादेशिक नीति, २०८३ का प्रमुख व्यवस्था, रणनीति, कार्यनीति तथा अनुगमन र मूल्यांकन प्रक्रियाबारे जानकारी गराएका थिए।
नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले नीतिको कार्यान्वयन अवस्था र त्यस क्रममा देखिएका समस्या तथा चुनौतीबारे प्रस्तुति दिएका थिए। उनले नीतिमा उल्लेख गरिएका व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायको प्रतिबद्धतासँगै व्यावहारिक पहल आवश्यक रहेको औँल्याए।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले प्रदेशस्तरीय नीति तथा योजना निर्माण र कार्यान्वयनमा सामाजिक संघसंस्थाको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सेवा र अवसरमा समान पहुँच स्थापित गर्न प्रदेश सरकार, स्थानीय तह तथा सामाजिक संघसंस्थाबीच समन्वय हुनुपर्ने उनले बताए।

श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ र प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलगायत नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी थिए।


