Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा बदल्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ

नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा बदल्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ

सोमबार, मंसिर ७ २०८३
सोमबार, मंसिर ७ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका आधारमा रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताएका छन् ।

    images

    भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

    उनले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको उल्लेख गर्दै यसको केन्द्रमा दुवै देशका जनता रहेको बताए । हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको दुई देशबीचको सम्बन्धलाई नयाँ पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्ने गरी अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    प्रधानमन्त्री शाहका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे गहन छलफल भएको छ। वार्ताका क्रममा विभिन्न क्षेत्रमा समझदारी हुनुका साथै पूर्वाधार आयोजनाको उद्घाटन र शिलान्याससमेत गरिएको उनले जानकारी दिए ।

    आज भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रत्यक्ष लाभ किसान, युवा, विद्यार्थी र उद्यमीले पाउनुपर्नेमा उनले जोड दिए । परियोजनाबाट किसानको जीवनमा समृद्धि, युवाका लागि रोजगारी र अवसर, विद्यार्थीका लागि नयाँ सम्भावना तथा उद्यमीका लागि लगानी र बजार विस्तारका अवसर सिर्जना हुनुपर्ने उनले बताए ।

    उनले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्दै भारतीय सरकार र जनताप्रति आभार व्यक्त गरे ।

    जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न पनि दुवै देशबीच सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शाहले बताए । हिमालयबाट बग्ने नदीहरूले नेपाल र भारतको साझा भविष्य जोडेको उल्लेख गर्दै उनले हिमाली जलस्रोतको महत्त्व औँल्याए।

    प्रधानमन्त्री शाहले नेपालमा भारतीय लगानीकर्तालाई लगानीका लागि स्वागतसमेत गरेका छन् । नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीले पनि अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको प्रस्ताव थियो । साथै, दुवै देशका नागरिकको सहज आवागमनका लागि नेपाल र भारतका विभिन्न सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

    नेपाल र भारतबीच भगवान् श्रीराम र माता जानकीको समयदेखि नै ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अयोध्या-जनकपुर रेल सेवा सञ्चालनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप जीवन्त बनाउने विश्वास व्यक्त गरे।

    भ्रमणका क्रममा दुई देशको साझा समृद्धिका लागि तयार पारिएको साझा दृष्टिपत्र र द्विपक्षीय उपलब्धि समेटिएको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij