Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

कोप–३१

कोप–३१ सम्पन्न: उपलब्धि कम, असहमति धेरै!

कोप–३१ सम्पन्न: उपलब्धि कम, असहमति धेरै!

जलवायु संकटबीच केही उपलब्धि भए पनि मुख्य मुद्दामा विश्व विभाजित।

सोमबार, मंसिर ७ २०८३
सोमबार, मंसिर ७ २०८३
  • काठमाडौं । जलवायु संकटको असर बढ्दै जाँदा त्यसको सामना गर्न आवश्यक आर्थिक स्रोत र जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा भने विश्वका देशहरूबीच सहमति जुट्न सकेको छैन। टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २२ सम्म चलेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) केही महत्त्वपूर्ण निर्णय र प्रतिबद्धतासहित सम्पन्न भए पनि मुख्य राजनीतिक सहमतिबिनै टुंगिएको छ।

    images

    जलवायु अनुकूलन, न्यायोचित ऊर्जा संक्रमण र अनुकूलन कोषमा नयाँ योगदान घोषणा हुनु सम्मेलनका उपलब्धि हुन्। तर जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट मार्गचित्र र विकासशील देशलाई जलवायु वित्त उपलब्ध गराउने विषयमा विकसित तथा विकासशील देशबीच मतभेद कायमै रह्यो। यही विवादका कारण सम्मेलनको मुख्य राजनीतिक दस्ताबेज ‘एन्टाल्या प्याक्ट’ पारित हुन सकेन।

    समग्र राजनीतिक सहमति नजुटे पनि सम्मेलनबाट केही विषयगत निर्णय भने पारित भए। कतिपय मुद्दामा स्वैच्छिक प्रतिबद्धता र अन्तर्राष्ट्रिय साझेदारीसमेत अघि बढेका छन्।

    अनुकूलन र ऊर्जा संक्रमणमा निर्णय

    कोप–३१ का महत्त्वपूर्ण उपलब्धिमध्ये जलवायु अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य (Global Goal on Adaptation) र न्यायोचित ऊर्जा संक्रमणका विषयमा भएका निर्णय हुन्।

    जलवायु परिवर्तनका असर सामना गर्न देशहरूको क्षमता अभिवृद्धि गर्ने, जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउने र अनुकूलनका कार्यक्रम प्रभावकारी बनाउने विषयमा निर्णय भएको छ।

    त्यस्तै, 'संयुक्त अरब इमिरेट्स न्यायोचित ऊर्जा संक्रमण कार्ययोजना' (यूएई जस्ट ट्रान्जिसन वर्क प्रोग्राम) अन्तर्गत पनि निर्णय भएको छ। जीवाश्म इन्धनमा निर्भर अर्थतन्त्रबाट स्वच्छ ऊर्जातर्फ जाँदा श्रमिक, समुदाय र विकासशील देशले भोग्न सक्ने आर्थिक तथा सामाजिक प्रभावलाई सम्बोधन गर्ने विषय यसमा समेटिएको छ।

    सम्मेलनका क्रममा अनुकूलन कोष (एडप्टेसन फन्ड) मा करिब ५०.२ मिलियन अमेरिकी डलर बराबरको नयाँ योगदान घोषणा भयो। स्पेन, जर्मनी, आयरल्यान्ड, बेल्जियमको ब्रसेल्स क्षेत्र, पोर्चुगल र इस्टोनियाले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन्।

    तर विश्वभर बढिरहेको जलवायु अनुकूलनको आवश्यकताका तुलनामा यो रकम निकै कम हो। यो रकम नेपालका लागि छुट्याइएको सहायता पनि होइन।

    जीवाश्म इन्धन र जलवायु वित्तमा पुरानै विवाद

    सम्मेलनमा सबैभन्दा पेचिलो विषय जीवाश्म इन्धनबाट संक्रमणको रह्यो। कोइला, तेल र ग्यासको प्रयोग क्रमशः घटाउँदै अन्त्य गर्ने स्पष्ट मार्गचित्र समेट्नुपर्ने माग उठे पनि अन्तिम चरणमा प्रस्तुत एन्टाल्या प्याक्टको मस्यौदामा त्यसले स्थान पाउन सकेन।

    प्रस्तावित दस्ताबेजमा जीवाश्म इन्धनबाट बाहिरिने विषय स्पष्ट रूपमा उल्लेख नभएपछि युरोपेली संघलगायतका देशले असहमति जनाए। अन्य देशले पनि मस्यौदाको भाषामाथि आपत्ति उठाए। यसले स्वच्छ ऊर्जातर्फको संक्रमणबारे अन्तर्राष्ट्रिय प्रतिबद्धता र त्यसको कार्यान्वयनबीच रहेको मतभेदलाई पुनः सतहमा ल्यायो।

    जलवायु वित्तको विषयमा पनि सहमति जुट्न सकेन। विकासशील देशहरूले अनुकूलनका लागि उपलब्ध गराइने वित्त बढाउनुपर्ने माग गर्दै त्यसको स्पष्ट आधाररेखा, समयसीमा र कार्यान्वयनको सुनिश्चितता खोजेका थिए। तर यसमा ठोस सहमति हुन सकेन।

    जलवायु परिवर्तनको असर बढी भोगिरहेका देशलाई आवश्यक आर्थिक सहयोग कसले र कसरी उपलब्ध गराउने भन्ने प्रश्न अझै अनुत्तरित छ। विशेषगरी जलवायु संकटमा ऐतिहासिक जिम्मेवारी बढी भएका विकसित देशले बेहोर्नुपर्ने आर्थिक दायित्व र विकासशील देशको वित्तीय आवश्यकताबीचको दूरी सम्मेलनबाट पनि कम हुन सकेन।

    नेपालको हिमाली मुद्दा अन्तर्राष्ट्रिय बहसमा

    कोप–३१ मा नेपालको मुख्य चासो हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिमलाई अन्तर्राष्ट्रिय वार्ताको प्राथमिकतामा राख्नु थियो। परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले हिमनदी पग्लिने, हिमताल विस्फोट, बाढीपहिरो तथा पर्वतीय पारिस्थितिक प्रणालीमा देखिएका असरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएको थियो। प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी पनि सहभागी थिइन्।

    नेपाल र भुटानले अक्टोबर २९ मा संयुक्त रूपमा ‘१.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको हिमाली क्षेत्रमा प्रभाव’ शीर्षकमा छुट्टै एजेन्डा प्रस्ताव गरेका थिए। हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना, वार्षिक उच्चस्तरीय संवाद, वैज्ञानिक अनुसन्धान तथा जलवायु वित्त र क्षति तथा नोक्सानीसम्बन्धी प्राथमिकता उक्त प्रस्तावमा समेटिएका थिए।

    तर उक्त प्रस्ताव छुट्टै एजेन्डाका रूपमा औपचारिक निर्णयमा समावेश हुन सकेन। पछि प्रस्तुत एन्टाल्या प्याक्टको मस्यौदामा भने दुईवर्षे ‘माउन्टेन्स एन्ड क्लाइमेट चेन्ज वर्क प्रोग्राम’ समावेश गरियो।

    प्रस्तावित कार्यक्रमअनुसार सन् २०२७ र २०२८ मा वैज्ञानिक संवाद सञ्चालन गर्ने, सन् २०२७ को कोप–३२ मा उच्चस्तरीय संवाद गर्ने तथा हिमाली क्षेत्रको अनुकूलन, विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीमा काम गर्ने विषय उल्लेख थिए।

    तर मुख्य राजनीतिक दस्ताबेज एन्टाल्या प्याक्ट नै पारित नभएपछि हिमाली कार्यक्रमले पनि औपचारिक निर्णयको मान्यता पाएन। हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय वार्ताको मस्यौदासम्म पुर्‍याउनुलाई नेपालको कूटनीतिक उपलब्धिका रूपमा लिन सकिए पनि त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता भने सुनिश्चित हुन सकेन।

    जलवायु वित्तमा नेपालका आफ्नै चुनौती

    नेपालका लागि जलवायु वित्त र विपद्पछिको पुनर्निर्माण अर्को महत्त्वपूर्ण विषय हो। बाढीपहिरो, हिमताल विस्फोट तथा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमको सामना गर्न नेपाललाई दीर्घकालीन र अनुदानमा आधारित वित्तीय सहयोग आवश्यक छ।

    नेपालका लागि क्षति तथा नोक्सानी कोषबाट २१.६ मिलियन अमेरिकी डलर विनियोजन भएको भनिए पनि उक्त रकम वास्तविक रूपमा प्राप्त र उपयोग भएको छैन। कोषबाट रकम विनियोजन हुनु र प्रभावित समुदायसम्म रकम पुग्नु फरक प्रक्रिया हुन्।

    त्यसैले अन्तर्राष्ट्रियस्तरमा वित्तीय प्रतिबद्धता खोज्नुका साथै नेपालले आवश्यक प्रस्ताव तयार गर्ने, संस्थागत क्षमता बढाउने र उपलब्ध रकम परिचालन गर्ने तयारीलाई पनि प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

    यसैबीच, विश्व स्वास्थ्य संगठनले कोप–३१ मा ‘एन्टाल्या इनिसिएटिभ फर हेल्थ रेजिलियन्स’ अघि सारेको थियो। जलवायु परिवर्तनका कारण स्वास्थ्य प्रणालीमा पर्ने असर सम्बोधन गर्न देशहरूबीच अनुभव र प्राविधिक ज्ञान आदानप्रदान गर्ने उद्देश्य राखिएको यो स्वैच्छिक तथा गैरबाध्यकारी पहल हो। तर नेपाल यसमा औपचारिक रूपमा सहभागी भएको वा विशेष साझेदारी गरेको पुष्टि गर्ने आधार सार्वजनिक रूपमा स्पष्ट छैन।

    कोप–३२ सम्म नेपालको चुनौती

    कोप–३१ ले जलवायु संकटको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको देखाए पनि त्यसका लागि चाहिने राजनीतिक इच्छाशक्ति र आर्थिक प्रतिबद्धतामा देशहरूबीच अझै दूरी रहेको स्पष्ट पारेको छ। अनुकूलन र ऊर्जा संक्रमणमा केही निर्णय भए पनि जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने मार्गचित्र र विकासशील देशका लागि पर्याप्त जलवायु वित्त सुनिश्चित गर्ने विषयमा सम्मेलनले ठोस निष्कर्ष दिन सकेन।

    नेपालका लागि अबको चुनौती हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनेमा मात्र सीमित छैन। त्यसलाई औपचारिक निर्णय, हिमाली क्षेत्रका लागि छुट्टै वित्तीय व्यवस्था, वैज्ञानिक अनुसन्धान, विपद् जोखिम न्यूनीकरण र प्रभावकारी पूर्वसूचना प्रणालीमा रूपान्तरण गर्नु आवश्यक छ।

    सन् २०२७ मा इथियोपियामा हुने कोप–३२ सम्म नेपालले आफ्नो कूटनीतिक पहललाई निरन्तरता दिनुपर्नेछ। हिमाली मुद्दाले अन्तर्राष्ट्रिय बहसमा स्थान पाउनु महत्त्वपूर्ण भए पनि त्यसअनुसार आर्थिक स्रोत र कार्यान्वयनयोग्य नीति सुनिश्चित हुन सके मात्र त्यसको प्रत्यक्ष लाभ जोखिममा रहेका समुदायसम्म पुग्न सक्छ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij