काठमाडौं । कथा अड्डाको संयोजकमा एलपी शर्मा पंगेनी (लालप्रसाद शर्मा) नियुक्त भएका छन्।
एक दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय पंगेनीले कथा अड्डालाई समुदायसँग जोड्दै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मानिसका कथा, अनुभव र विचारलाई सुन्ने, अभिलेख गर्ने तथा लेखन र प्रकाशनमार्फत थप मानिससम्म पुर्याउने साझा थलोका रूपमा कथा अड्डालाई विकास गर्ने योजना छ।
कथा अड्डालाई समुदायको सहभागितामा अघि बढाउँदै विभिन्न क्षेत्र, समुदाय र पुस्ताका व्यक्तिका अनुभव तथा जीवनका भोगाइलाई समेट्ने उनको प्रतिबद्धता छ। यसका लागि कथा सुन्ने, लेख्ने र प्रकाशन गर्नेसम्मका गतिविधिलाई प्राथमिकता दिइनेछ।
कथा अड्डाले संवाद र अनुभव आदानप्रदानसँगै शैक्षिक तथा साहित्यिक पक्षलाई समेत समेट्ने अवधारणा अघि सारेको छ। मानिसका जीवनकथा र अनुभव सुन्ने, तिनलाई बिभिन्न माध्यमबाट दस्तावेजीकरण गर्ने तथा प्रकाशन गर्ने गतिविधि यसका महत्वपूर्ण पक्षका रूपमा रहनेछन्।
भक्सपप नेपालको पहलमा काठमाडौंको सरकारी धारास्थित परिसरमा सञ्चालन हुँदै आएको कथा अड्डामा भक्सपप नेपाल मिडिया पार्टनरका रूपमा रहनेछ। यस सहकार्यमार्फत कथा अड्डाका गतिविधि, छलफल र सहभागीका अनुभवलाई उनीहरूको सहमतिमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत व्यापक समुदायसम्म पुर्याउने उद्देश्य राखिएको छ।

पुस्तकालय, सामूहिक छलफल, कथा वाचन, लेखनलाई समेत जोडेको कथा अड्डाले मानिसबीच प्रत्यक्ष संवाद र अनुभव आदानप्रदानको संस्कृति विकास गर्ने लक्ष्य राखेको छ।


