काठमाडौँ। झट्ट हेर्दा सितार जस्तो देखिने सरोद बाजाको बारेमा बिरलैलाई थाहा होला। रूपा न्यौपानेको जीवन त्यही सरोदसंग गाँसिएको छ । हामी उनको घर पुग्दा उनी काखमा सरोद राखेर अभ्यासमा व्यस्त थिईन् ।
उमेरले उनी अहिले ५६ वर्षकी भईन् । उनी नेपालकी प्रथम महिला सरोदवादक हुन्।उनले सरोद सिक्न सुरू गर्दा उनी मात्र २५ वर्षकी थिईन् ।
उनको जन्म काठमाडौँमा भए पनि बाल्यकाल बाराको कलैयामा बित्यो। उनका बुवा शिक्षित र संस्कृतमा निपुण व्यक्ति थिए। मुलपानीमा खेती किसानी गर्न कठिन भएपछि, गोरू गाडाको सहायताले खेती गर्न मिल्ने सोच्दै उनी परिवारसहित बारा जिल्लातर्फ लागे। त्यतिबेला रूपा करिब पाँच–छ वर्षकी थिइन्।
त्यो यात्रा अझै उनको सम्झनामा ताजा छ। काठमाडौँबाट बारा जाँदा पथलैयामा बसेर खाजा खाएको दृश्य अझै उनको मानसपटलमा ताजै छ ।
रूपा घरकी जेठी छोरी हुन्। उनका दुई बहिनी र एक भाइ छन्। घरकी जेठी छोरी भएकी नाताले उनलाई सानैदेखि घरको जिम्मेवारी थियो । बहिनीहरूसंगको उनको जीवनका सुनौला सम्झना छन् । उनी मुस्कुराउँदै भन्छिन्
‘एकदिन चुलेसीले तरकारी काट्दै गर्दा कान्छी बहिनीले सोधिन् , ‘यो खुट्टा काट्यो भने के हुन्छ?’ मैले पनि खेलकै जोशमा बुढी औँला काटिदिँदा रगत बग्यो। अनि मात्र म आत्तिएँ र आमालाई बोलाएँ।’
रूपाले खासै औपचारिक शिक्षा लिन पाइनन्। तराईमा बसोबास भएकाले उनका बुवालाई सधैं छोरीको सुरक्षाको चिन्ता रहन्थ्यो। त्यसैले १२ वर्षको उमेरमै ‘काठमाडौँ पढ्न जाने’ भनेर झुक्याउँदै उनको विवाह गरिदिए।
‘म पढ्न जान्छु भनेर साथीहरूसँग खुसीसाथ बिदा भएकी थिएँ,’ रूपा सम्झन्छिन्, ‘तर मेरो त विवाह पो भयो’
सानैमा विवाह भए पनि उनलाई श्रीमानको साथ र समर्थन प्राप्त भयो। विवाह हुनासाथ उनले सिन्दूर फ्याकेर बट्टा खेल्न राखेको अझै उनलाई सम्झना छ ।
उनको संगीतप्रतिको आकर्षण भने बाल्यकालदेखि नै थियो। उनका बुवा रेडियो बोकेर हिंड्थे, र रेडियोमा शास्त्रीय संगीत सुन्दा रूपालाई लाग्थ्यो — ‘यस्तो मिठो धुन के होला?’ उनका परिवारमा अरू कोही संगीतमा सामेल भएनन् । त्यसैले उनी हाँस्दै भन्छिन्, ‘म मरुभूमिमा फूलेको एउटा मात्र फूल हुँ।’
रूपाको दिनचर्या आज पनि कठोर अनुशासनमा बाँधिएको छ। उनी बिहान दुई बजे उठ्छिन्, तीन घण्टा सरोद अभ्यास गर्छिन्, अनि घरको काममा लाग्छिन्। उनको बाजाले उनलाई धैर्य गर्न सिकायो । उनी भन्छिन्, ‘ संगीत मेरो मलम हो, जसले जस्तोसुकै घाउ पनि निको पार्छ।’
उनी रेडियो सगरमाथामा शास्त्रीय संगीतको कार्यक्रम पनि चलाउँथिन्। रूपाले भजन र तीजको गीतको एल्बम पनि रेकर्ड गरिसकेकी छन्। भारतको सुभारती कलेजले उनलाई सरोदबारे कक्षा दिन निम्ता गरेको थियो, तर विडम्बना — आफ्नै देशका कलेजहरूले भने उनलाई कहिल्यै बोलाएनन्। आज पनि रूपा दिनमा कम्तीमा दुई घण्टा सरोद अभ्यास गर्छिन्। उनको विश्वास छ ‘ संगीत सिकेर कहिल्यै सकिँदैन, म अझै विद्यार्थी नै हुँ।’
समाजका सीमाहरू तोड्दै, निरन्तर साधनामा समर्पित रूपा न्यौपाने आज पनि प्रेरणादायी पात्र बनेकी छिन् — नेपालकी पहिलो महिला सरोदवादक, जसले प्रमाणित गरेकी छिन् कि दृढ इच्छाशक्ति र आत्मविश्वासले महिला पनि मरुभूमिमा फूलझैं फुल्न सक्छिन्।


