Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

‘मिस, म त झन्डै बेचिएछु नि!’

‘मिस, म त झन्डै बेचिएछु नि!’

चीनमा रोजगारीको आश्वासन, भिजिट भिसामा विदेश जाने तयारी र लाखौँ रुपैयाँको माग। विदेश जाने सपना देखेकी प्रतिभा कसरी झन्डै बेचिनबाट जोगिइन्?

आइतबार, मंसिर १३ २०८३
आइतबार, मंसिर १३ २०८३
  • काठमाडौं । करिब दुई वर्षअघिको कुरा हो। म स्नातक तह पहिलो वर्षमा पढ्दै थिएँ। पढाइसँगै असनको बाङ्गेमुढास्थित एउटा सहकारी संस्थामा काम गर्थें। त्यही समयमा मसँगै मभन्दा एक–दुई वर्ष जेठी अर्की एक युवती पनि संस्थामा जोडिएकी थिइन्। उनको नाम यहाँ परिवर्तन गरिएको छ। उनलाई हामी प्रतिभा भनौँ।

    images

    सुरुमा हाम्रो सामान्य सहकर्मीका रूपमा चिनजान भएको थियो। उनी खुलेर बोल्ने र मिलनसार स्वभावकी थिइन्। सँगै काम गर्दै जाँदा हाम्रो सम्बन्ध पनि राम्रो हुँदै गयो। हाम्रो काम असन, न्यूरोड, वसन्तपुर लगायतका विभिन्न ठाउँ घुमेर सहकारीका सदस्य बाट पैसा संकलन गर्नु थियो। दिनभरि सँगै काम गर्दा व्यक्तिगत कुराकानी पनि हुन्थ्यो। त्यही क्रममा थाहा भएको थियो, उनी काम गरिरहे पनि विदेश जाने सोचमा थिइन्।

    एक दिन हामी नियमित रूपमा पैसा संकलन गर्न जाने ठाउँका एकजना अंकलले उनलाई चीनमा काम गर्ने अवसरबारे सुनाए। त्यहाँ एक चिनियाँ दम्पतीको बच्चालाई हेरचाह गर्ने र अंग्रेजी सिकाउने काम रहेको उनको भनाइ थियो। सुरुमा प्रतिभा केही हिचकिचाइन्। तर ती अंकलले बारम्बार सम्झाएपछि उनी जान तयार भइन्।

    ती अंकलले नै प्रतिभाको चिनजान रिना (नाम परिवर्तन ) सँग गराइदिए। रिना पनि उनीजस्तै विद्यार्थी थिइन्। पछि म पनि एकदिन प्रतिभासँगै उनलाई भेट्न शंखमूल पार्क पुगेकी थिएँ। हामी कार्यालयबाटै त्यहाँ गएका थियौँ।

    सुरुमा उनीहरू केही हिचकिचाएका थिए। तर ती अंकल र उनले चिनाइदिएका अर्का व्यक्तिले पनि सबै कुरा मिलाइदिने आश्वासन दिएपछि उनीहरू ढुक्क हुँदै गए। चीन जाने प्रक्रियाका बाँकी काममा पनि ती व्यक्तिले नै सहयोग गर्ने भनिएको थियो।

    मैले ती व्यक्तिलाई भने भेट्ने मौका पाएकी थिइनँ। तर मलाई कताकता असहज लागिरहेको थियो। मेरो स्वभाव नै अलि शंका गरिहाल्ने खालको थियो। त्यसैले मैले प्रतिभालाई पनि यसबारे सम्झाउने प्रयास गरेँ। तर उनको विदेश जाने सपना पूरा हुनै लागेको बेला म त्यसको बाधक बन्न चाहन्नथेँ। उनले पनि मेरो कुरामा खासै चासो नदेखाएपछि मैले उनलाई सम्झाउन छाडेँ।

    बिस्तारै प्रतिभा र रिनाको चीन जाने योजना अघि बढ्न थाल्यो। म पनि उनीहरूको त्यो योजनाको कुनै न कुनै रूपमा हिस्सा बनिरहेकी थिएँ।

    दुवैजना विदेश जाने अवसर पाएकोमा उत्तिकै उत्साहित थिए। तर उनीहरूलाई चीन जाने प्रक्रिया र त्यहाँको कामबारे कति जानकारी थियो भन्ने कुरा मलाई पनि थाहा थिएन। उनीहरू ती अंकलले भनेकै कुरामा विश्वस्त थिए।

    ती अंकलका अनुसार यो काम कुनै कन्सल्टेन्सी वा म्यानपावर कम्पनीमार्फत आएको थिएन। त्यो व्यक्तिगत चिनजानका आधारमा आएको अवसर थियो। उनीहरू भिजिट भिसामा चीन जाने र त्यहाँ पुगेपछि चिनियाँ दम्पतीले नै कामदार भिसा बनाइदिने भनिएको थियो। ती चिनियाँ महिलाको क्यूक्यू (QQ) अकाउन्टसमेत उनीहरूलाई दिइएको थियो, ताकि उनीहरूले कुराकानी गरेर त्यहाँको अवस्थाबारे बुझ्न सकून्।

    अहिले फर्केर हेर्दा यी कुराहरू आफैँमा शंकास्पद लाग्छन्। भिजिट भिसामा गएर पछि कामदार भिसा बनाइदिने भनिनु, कुनै औपचारिक माध्यमबिना रोजगारीको व्यवस्था हुनु र कामको प्रकृतिबारे स्पष्ट जानकारी नहुनुजस्ता कुरामा उनीहरूले त्यतिबेला खासै ध्यान दिएका थिएनन्। उनीहरूलाई त्यो अवसर ठीकै हो भन्ने विश्वास भइसकेको थियो।

    केही समयपछि ती अंकलले चिनाएका अर्को व्यक्तिले हवाई टिकटको खर्च भन्दै प्रत्येक जनासँग करिब दुई लाख ५० हजार रुपैयाँ मागे। मिडल क्लास परिवार बाट उनीहरुसँग भन्ने बितिक्कै पैसा थिएन । त्यसपछि उनीहरू कसरि हुन्छ पैसा जुटाउन तिर लागि पर्न थाले। आफूसँग भएको केही बचत, आफन्त र छिमेकीसँग मागेर उनीहरूले रकम जम्मा गर्न थाले।

    प्रतिभाका एक आफन्त दाइलाई भने यो सबै प्रक्रिया ठीक लागिरहेको थिएन। उनले ती बिचौलियासँग प्रत्यक्ष भेटेर कुरा गर्ने इच्छा देखाए। तर ती व्यक्तिले उल्टै रिसाउँदै आफूलाई विश्वास नगर्ने भए नजानु, जान मन छैन भने सिधै भन्नु, अनेक बहाना नबनाउनु भन्दै उनीहरूलाई नै दोषी महसुस गराए। उनको यस्तो व्यवहारपछि प्रतिभालाई पनि नराम्रो लाग्यो। अन्ततः उनले जाने निर्णयलाई कायम राखिन्।

    उनीहरूको चीन जाने दिन नजिकिँदै थियो। प्रतिभाले सहकारीको काम छोडिन्। विदेश जानुअघि अरू विदेश जाने व्यक्तिहरूले झैँ किनमेल गर्न पनि थालिन्। त्यसपछि उनी आफ्नै तयारीमा लागिन् भने म पनि आफ्नो नियमित दिनचर्यामा व्यस्त भएँ। कलेज, कार्यालय, काम र घरको व्यस्तताबीच उनीसँगको मेरो सम्पर्क पनि बिस्तारै कम हुँदै गयो। म त उनी चीन पुगिसकिन् होला भन्ने सोच्न थालेकी थिएँ।

    एक दिन अचानक उनको फोन आयो। अचम्म मान्दै मैले फोन उठाएँ।

    'हेलो, सन्चै हुनुहुन्छ मिस?'

    उताबाट आवाज आयो। मैले आफू सन्चै भएको बताएँ। मेरो मनमा कौतूहल जागिसकेको थियो। चीन पुगिसकिन् होला भन्ने सोचेकी मान्छेको फोन नेपालकै नम्बरबाट आएको थियो।

    मैले सामान्य भूमिका बाँध्न समय खेर नफाली उनी कहाँ छिन् भनेर सोधेँ। उनको आवाजमा एकाएक निराशा छाएको मैले फोनबाटै थाहा पाइसकेकी थिएँ।

    उनले मधुरो आवाजमा आफू काठमाडौंमै भएको सुनाइन्। उनको यो जवाफले मैले धेरै कुरा अनुमान लगाइसकेकी थिएँ। सधैँ तिखो र ठूलो स्वरमा बोल्ने उनको आवाज एकाएक मधुरो र सानो भएको थियो।

    उनको आवाज सुन्दा कताकता सहानुभूति जागेर आयो। मैले उनको कुरा कोट्याउन चाहिनँ। अरू सामान्य कुराकानी गरेर फोन राख्न खोजेँ। उनले पनि केही भनिनन्। तर जब मैले फोन राखौँ भनेँ, तब उनले सुन्नै कठिन हुने मधुरो आवाजमा भनिन्, ‘मिस, म त झन्डै बेचिएछु नि!’

    फोनमा हाम्रो कुराकानी त्यतिमै सकियो। जान्नुपर्ने कुरा त अझै बाँकी नै थिए, तर हाम्रो फोनकल भने त्यहीँ टुंगियो।

    उनले भनेको त्यो एउटा वाक्यले मेरो मनमा अनेकौँ प्रश्न उठ्न थाले। उनलाई आफू यस्तो परिस्थितिमा फस्न लागेको कुरा कसरी थाहा भयो होला ? के उनलाई साँच्चिकै बेच्न नै लागिएको थियो होला र ? उनलाई कसले वास्तविकता बताइदियो होला ? सायद उनका ती आफन्त दाइले नै केही थाहा पाएर उनलाई बताएका थिए कि ? उनले प्रहरीमा उजुरी गरिन् कि गरिनन् होला ? उनीसँगै चीन जाने तयारीमा रहेकी रिना के भइन् होला ? उनी त प्रतिभाभन्दा पनि पहिले चीन जाने कुरा थियो।

    यस्तै यस्तै सयौं प्रश्न मेरा मनमा उब्जिन लागे ।

    यो त थियो उनको कथा, जसको म पनि कतै न कतै दुई वर्षअघि हिस्सा बन्न पुगेकी थिएँ। तर उनीजस्तै विदेश जाने सपना बोकेका नेपालका कति युवा यस्तै आश्वासनमा परिरहेका होलान्? राम्रो अवसरको खोजीमा हिँडेकाहरू कति सजिलै यस्ता प्रलोभनको निशानामा परिरहेका होलान्? यसको लेखाजोखा कसले राखेको होला?

    त्यसपछि प्रतिभासँग मेरो भेट भएको छैन। न त उनको अवस्थाबारे थप केही जानकारी नै पाउन सकेँ। तर उनको त्यो फोन र उनले भनेको एउटा वाक्य भने अझै पनि मेरो सम्झनामा उस्तै ताजा छ।

    ‘मिस, म त झन्डै बेचिएछु नि!’

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij