Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

शनिबारीय साहित्य

भोइस इन अ ट्राफिक जाम

भोइस इन अ ट्राफिक जाम

शनिबार, भदौ ७ २०८२
शनिबार, भदौ ७ २०८२
  • उसले बेस्मारी झन्डाको पोल समाती । आफूलाई त्यही पोल जसरी उभ्याउन खोजी । गोली लागेका अंगहरूबाट रगत ह्वालह्वाल बग्न थाल्यो, वर्षायामको पानीको कुनै मूल फुटेसरी । यतिकैमा ऊ जोडले चिच्याई-

    images

    'हमार बेटी के न्याय दे !'

    उसले आफूलाई सम्हाल्न सकिन, अनि डङ्ग्रङ्ग ढली ।

    ••• ••• •••

    काठमाडौं- ठूलो शहर, ठूलै भीड । अनि एउटा सानो मान्छे । त्यो मान्छेसँग छ- एउटा सानो कपडाको ब्यानर,  निलो पृष्ठभूमिमा सेतो रङ्गले हातले लेखेको । करिब पाँच फीट लम्बाइ र तीन फीट चौडाइ । ब्यानरको लेखाइमा कलात्मकता छैन । देखिंदैन । के लेखिएको हो, त्यो बुझिन्छ । के भन्न खोजिएको हो, त्यो बुझिन्छ । बस् त्यत्ति । तर ब्यानरको यो भाषा र भाव बुझ्नेहरूले नै बुझिदिएका छैनन्, वा भनौँ- बुझेर पनि बुझ पचाएका छन् । बर्षौंदेखि । दशकौंदेखि । किनकी, यो निरन्तर चलिरहेको छ ।

    यतिखेर ऊ छे- माइतीघर मण्डलामा । ऊ अर्थात् चिनुदेवी । करिब छ महिना अघि पहिलो पटक ऊ यही ब्यानरसँगै देखिएकी थिई, नयाँ बानेश्वरको संसद् भवनअघि । त्यसपछि छ महिनासम्म संसद् भवनको गेट अगाडि त्यो ब्यानर लिएर बसी । कहिले ऊ, कहिले उसका श्रीमान । कहिले दुबै । ऊ घामसँगै त्यहीँ उठी । त्यहीँ बसी । र घामसँगै सुती । फेरि उठी । यो दैनिकीलाई हरेक दिन दोहोर्‍याई रही । तर उनको मागको कुनै सुनुवाइ भएन बरु एकदिन 'माथिको आदेश' भनेर सुरक्षाकर्मीद्वारा ऊ त्यहाँबाट लखेटिई ।

    'तिमीहरूले मलाई भोट दिएर जितायौ भने म पनि सांसद बन्छु । मन्त्री बन्छु । अनि तिमीहरूको जस्तोसुकै समस्या समाधान हुन्छ । मेरो ग्यारेन्टी भयो यो । मैले यो चुनाव जितें भने हाम्रो क्षेत्रमा 'जनताका समस्या समाधान' नामको एउटा कार्यालय खोल्नेछु । धेरै समस्या यहीँबाट समाधान हुन्छ । यहाँबाट समाधान नहुने समस्याहरूको लागि मात्र काठमाडौं जान पर्छ ।'

    सुरक्षाकर्मीले उनलाई लखेटेको त्यो दिन उनले आफूले जिताएको त्यो नेताको भाषण झल्झली सम्झिई । चुनावको बेला घर- घरमा आएर नमस्कार गर्दै भोट मागेको सम्झिई । आफ्नो समस्या लिएर जिल्लाको 'जनताका समस्या समाधान' कार्यालयमा सम्पर्क गरेको सम्झिई ।  तीन महिनासम्म धाएका दिनहरू सम्झिई । काठमाडौं आएपछि दिनहुँ जसो उसले त्यो नेता संसद् भवनमा प्रवेश गरका अनि बाहिरिएका दिनहरू सम्झिई । उसको नेताले भने उनलाई कहिल्यै देखेन । देखे पनि नदेखेको जस्तो गर्यो । यी दिनहरू सम्झिई । एकदिन त ऊ  जबर्जस्ती गेटभित्र प्रवेश गरी । अनि त्यो नेतालाई हारगुहार गरी । कोटमा समात्दै झुन्डिई । त्यही दिन हो, उसलाई सुरक्षाकर्मीले त्यहाँबाट लखेटेको ।

    त्यसपछि ऊ त्यहाँबाट सिंहदरबार गेट अगाडि पुगी । त्यहाँ पनि  संसद् भवन अगाडि जस्तै भयो । अझ त्यो भन्दा बेसी भयो । लछारपछार गरे । गालीगलौज गरे । बौलाहा आईमाई भने । अनि कसैले उनलाई भन्यो- माइतीघर मन्डला आफ्नो मागहरू राख्ने ठाउँ हो भनेर । अन्य मान्छेहरुको ध्यानाकर्षित गर्ने ठाउँ हो भनेर ।

    माइतीघर मण्डलामा आएपछि उसले एउटा ठूलो र आफूभन्दा निक्कै अग्लो नेपालको झण्डा देखी । उसको मन ढक्क फूल्यो, त्यो विशाल झन्डा देखेर । सिरीरी चलेको हावामा खुबै आकर्षक ढङ्गले फहराउँदै थियो झन्डा । 

    खुबै चित्र कोरेकी थिई, तीन- चार कक्षा पढ्दा, उसले आफ्नो देशको झन्डाको । कहिले राम्रो भयो । कहिले नराम्रो । कहिले पुरस्कार पाई । कहिले पिटाई खाई । कहिले 'यस्तो झन्डा पो झन्डा !' भनेर स्याबासी पाई । कहिले 'यस्तो पनि हुन्छ र झन्डा ?' भनेर तिरस्कृत भई । तर उनको पढाइको गाडी सात कक्षाको उकालोबाट अघि उक्लन सकेन । झन्डाको चित्र कोर्ने दिन पनि त्यसपछि रोकियो । पढाइ छोडेको साल मै उसको बिहे भयो । अनि जिन्दगी घरको चौघेराभित्र रुमल्लियो । जिन्दगी पूर्ण रूपले पारिवारिक भयो ।

    ऊ त्यो ठूलो झण्डा नजिकै पुगी अनि बसी, थचक्क । एकछिन पछि आफ्नो ब्यानर झन्डाको नजिकै फैलाई । अनि सुरु भयो दैनिकी ।

    चर्को घाम लाग्दा झन्डाको छायाँमा बसी । थकाइ लाग्दा झन्डाको फेदैमा बसी । आड लिई, झन्डाको । अब उसलाई आफ्नो नेताको भन्दा झन्डाको भर लाग्न थाल्दै थियो । झन्डासङ्गै पोखी आफ्नो मनको बह । झन्डासङ्गै बोली । मन खोली ।

    उसले देखी- बिहान उज्यालो सल्बलाउने देखि साँझ झलमलाउने समयसम्म त्यो चोकमा मान्छेको आवातजावत । मान्छे भन्दा गाडी धेरै । अनि गाडी भन्दा मान्छे धेरै ।

    काठमाडौं आएपछि हो, उसले गाडी हुलका हुल देखेकी । हज्जारौँ मान्छेहरू देखेकी । उसको गाउँमा कहाँ यति धेरै गाडी र मान्छे छन् र ! गाडी अझै चल्दैन उसको गाउँमा । उज्यालोको बत्ति अझ बल्दैन उसको गाउँमा । बाउन्न वसन्त पार भएपछि गरेको यो नै उनको पहिलो काठमाडौं यात्रा थियो । यात्रामा उनलाई साथ दिए, उनकै श्रीमानले । कहिले सँगै बसे धर्नामा । कहिले एक्लै । बस्ने , सुत्ने चाहिँ सडकपेटीमा । खानाको लागि घरबाट खर्च ल्याएकी थिई । त्यो पनि अब बिस्तारै सकिँदै थियो । काठमाडौं बसाई अप्ठ्यारो हुँदै थियो । आफ्नो थैली रित्तिँदै गएको थियो । गाउँलेले पत्याउन छोड्दै थिए । पछिल्ला केही दिनदेखि उनीहरू आत्तिएका थिए । निरास भएका थिए । उनीहरूले हजारौँलाई देख्थे तर नजिकै भएर जाने हजारौँ आँखाहरुले उनीहरूलाई देख्दैनथे । हजारौँका मनहरुले उनीहरूलाई देख्दैनथे । छुँदैनथे, उनीहरूको पीडाले । उनीहरू बसेकै ठाउँमा आउँथे अर्कै थरीका मान्छेहरू र  लगाउँथे- जिन्दावाद र मूर्दावादका नाराहरु । ह्वारह्वार्ती आउँथे । अनि गुरगुर्ती दौडेर जान्थे । कुनै ठूलै हुल हुन्थे । कुनै साना । ठूलो हुललाई प्रहरीले पानीको ठूलै फोहोराले धकेल्थ्यो । अश्रुग्यासले तितरबितर गर्थ्यो । सानो हुल दुईचार घन्टा उफ्रिन्थ्यो । अनि थाकेपछि जान्थ्यो । हुल हराउँथ्यो ।

    माईतीघर मण्डलामा आज एक्लै छे ऊ । उनको श्रीमान घर गएको छ । कहिले आउँछ थाहा छैन । आउँछ वा आउँदैन त्यो पनि थाहा छैन । बेला बेलामा उनीहरूलाई धम्की आउँथ्यो- 'तुरुन्त त्यो नौटङ्गी बन्द गर । नत्र ... !' यस्तो ज्यानमारा धम्की सुन्दा सुरुमा ज्यान लुगलुग काम्थ्यो तर अचेल बानी परेको छ । ज्यानै माया मारेपछि माया मारेको ज्यानको माया नलाग्दो रहेछ । उनीहरू अडिग रहे, सुरुदेखि । आएका सबै धम्कीलाई पुष माघमा जाडोसङ्गै पचाए । साउन भदौमा झरीसङ्गै पखालिदिए ।

    यतिबेला ११ बज्दैछ । बिस्तारै आन्दोलनकारीहरु भेला हुँदैछन् । एक हप्तादेखि फेरि दुई किसिमको नयाँ आन्दोलन चलेका छन्,  माइतीघर मण्डलामा । थरीथरीका मान्छे भेला हुन्छन्, हुँदैछन् । कोही भन्दैछन्- भिजिलान्ते प्रवेश भएको छ हाम्रो आन्दोलनमा ! आन्दोलन तुहाउन खोज्दैछ । तीनका ढाड सेक्न पर्छ । कोही भन्दैछन्- यो आन्दोलनले तेस्रो जनआन्दोलनको रुप लिनुपर्छ । अनि मात्र देश र जनताको अवस्थामा परिवर्तन हुन्छ । अति भयो यो लुट ! अति भयो भ्रष्टाचार ! देशलाई सिङ्गापुर बनाउँछौ भन्थे , झिङ्गापुर बनाए । अर्काथरी भन्दैछन्- हो, हो ! अब त अति भयो, यो गणतन्त्रमा लुटतन्त्र ! एकपछि अर्को कान्ड ! करोडौँको नपुगेर अरबौको कान्ड ! अब राजा ल्याउने हो । राजा ! राजा सबको साझा ! राजालाई जस्तो यी चोर नेतालाई देशको माया नहुने रैछ । यिनले आफूलाई त बेचे बेचे, देश पनि बेचे ! यतिकैमा अर्को बोल्यो- राजावादीहरु हो ! होशियार !  भागिहाल ! नत्र टाउको झोलामा, ज्यान खोलामा होला ! गाडी नराम्रो हैन, ड्राईभर नराम्रो हो ! अब बदल्ने भनेको गाडी हैन, ड्राईभर हो ! गणतन्त्र आजको सबैभन्दा उत्तम राजनैतिक गाडी हो !

    बिस्तारै वादविवाद बढ्दै गयो । हुल पनि बढ्दै गयो । सयबाट हजार भए । अनि हजारबाट हजारौँ । हेर्दाहेर्दै माइतीघर मण्डलाको त्यो सानो तिनचुच्चे ठाउँ निक्कै सानो भयो । भीड लम्बिँदै गयो । तन्किंदै गयो । भीड  थापाथली , नयाँ बानेश्वर र पुतलीसडकसम्म देखियो । यातायात पूर्णरूपले ठप्प भयो । हेर्दाहेर्दै आन्दोलनले उग्र रुप लिन थाल्यो । भीडले व्यवस्था विरुद्ध उत्तेजक नारा लाउन थाल्यो । गाडीका गाडी प्रहरी देखिन थाले, सबैतिर । प्रहरी देखेपछि आन्दोलनकारीहरु झनै उत्तेजित हुँदै चर्का नारा लाउन थाले । माइतीघर मण्डलाको त्यो सानो ठाउँमा ठेलमठेल हुन थाल्यो । चर्का-चर्का नारा आउन थाले । चिनुदेवी भने आज निक्कै जब्बर देखिई । प्रायः उनी प्रहरीले पानीको फोहोरा वा आश्रुग्यासको प्रयोग गर्दा आफ्नो ठाउँ छोडेर जान्थी तर आज उसले त्यसो गरिन । बरु आफू बसेको झण्डालाई कस्सेर समाती । झन्डाको पाईप जस्तै बनी, कडा । एकैछिनमा आन्दोलनकारी र प्रहरी बीच धकेलाधकेल भयो । अनि झडप सुरु भयो । त्यसपछि लाठीचार्ज भयो, प्रहरीबाट । आन्दोलनकारीहरुले पनि अन्धाधुन्ध इँटा, ढुङ्गा प्रहार गर्न थाले । कोही निडरका साथ अघि बढ्दै गए । कोही कायरता देखाउँदै भाग्न थाले । भाग्दै गर्दा उनीहरू सडकमा लडे अनि प्रहरीका बुट बजारिए, छातीमा । टाउकोमा । केही प्रहरीले पनि हुलमुलमा आफ्नो शरीरलाई नियन्त्रणमा लिन सकेनन् अनि लडे । उसको छाती र टाउकोमा पनि आन्दोलनकारीको लात र इँटा बज्रियो । एकैछिनमा अवस्था झनै बिग्रियो । नियन्त्रण भन्दा बाहिर गयो । हवाई फायरिङ सुरु भयो । आन्दोलन झन् चर्कियो । झन् उत्तेजित बनायो, आन्दोलनकारीहरुलाई फायरिङले । अझ शसक्त रुपले प्रतिकार गर्न थाले । सघन रुपमा अघि बढे । प्रहरीहरु डङरङ- डङरङ ढल्न थाले । अनि प्रहरीले हवाई फायरिङ हैन, अन्धाधुन्ध गोली नै चलाउन थाल्यो । भागाभाग भए । आठ दस जना ढले । गोली चल्न रोकिएन । यस्तैमा एउटा गोली गएर चिनुदेवीको छातीमा गड्यो । अर्को दिशाबाट आएको गोली पनि उनकै छातीको सोझो पछाडिपट्टि ढाडमा गएर बज्रीयो । उसले बेस्मारी झन्डाको पोल समाती । आफूलाई त्यही पोल जसरी उभ्याउन खोजी । गोली लागेका अंगहरूबाट रगत ह्वालह्वाल बग्न थाल्यो, बर्षायामको पानीको मूल फुटेसरी । यतिकैमा ऊ जोडले चिच्याई- 'दहेज प्रथा बन्द करु ! हमार बेटीके हत्याराके फाँसी दे !'

    उसले आफ्नो शरीर सम्हाल्न सकिन, अनि डङ्ग्रङ्ग ढली । उसको शरीरबाट बगेको रगतले सानो कुलो बनायो र त्यो सानो ब्यानरतिर बढ्यो, जहाँ दाइजो नदिएकोले उसकी छोरीलाई तिनकै श्रीमान्, सासू र ससुरा मिलेर आगो लगाई हत्या गरिएको तथ्य लेखिएको थियो ।

    बिस्तारै ब्यानरमा लेखिएका सबै शब्दहरू रगतले छोपिए । चिनुदेवीले अन्तिम सास लिई ।

    [पातीचौर, पर्वत]

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij