काठमाडौं। दोलखाकी शिवमाया थापा आजभोलि फुर्सदमा छिन् । फुर्सद मतलब घुमफिर गरिरहेकी छिन् । ६५ बर्सिया थापा कहिले छोरीको घरमा त कहिले छोरा बसेको घरमा गएर त कहिले गाउँका पाखा पखेरा पुगेर उनले पुराना यादहरूलाई फर्काइरहकी छिन् । समयको परिवर्तन महसुस गर्दै शिवमायाले आफ्ना विगतलाई सम्झिरहेकी छन् ।
उनी भन्छिन् ‘ घाँस दाउरा गरेका ती दिन कसरी बिर्सन सकिन्छ र उमेर भइन्जेल दुख गरियो अब चाहेर पनि दुख गर्न सकिँदैन के गर्नु कहिले कता कहिले कता यस्तै रहेछ ’ तीन जना छोरी र ६ जना छोरालाई हुर्काउन त्यति सहज भने थिएन । तर हिम्मतका साथ थापा दम्पतीले छोराछोरीलाई संस्कार दिएका छन् । तीन वर्ष अघि श्रीमान् गुमाएकी शिवमायालाई छोराछोरीको व्यवहारले निकै खुसी दिएको छ ।
उनी भन्छिन् ‘छोराछोरी संस्कारमा भए बा आमाले दुख पाउन पर्ने रहेनछ भन्ने लाग्छ । मेरा छोराछोरीले माया गरेको देखेर धेरै खुसी लाग्छ ’श्रीमानको मृत्युले एकल बनेकी शिवमायालाई छोराछोरीको सहाराले कहिल्यै एक्लो महसुस भएको छैन । तर चाडपर्व र विशेष दिनमा मने मन भरिने बताउँछिन् । ‘आफ्नो श्रीमानको अभाव त सधैँ नै हुन्छ तर छोराछोरी असल भए मन भुल्दो रहेछ ’ उनले विगतमा भन्दा अहिले चाडपर्व मनाउने तरिका फरक भएको महसुस गरेकी छन् । अहिले त उनको जिम्मेवारी मात्रै होइन परिवार सङ्ख्या पनि बढेको छ ।
पहिले पहिले सानो परिवारमा चाडपर्व मनाएको स्मरण गर्दै उनले भनिन्‘ पहिला त घरमा थोरै मान्छे मात्रै हुन्थ्यौँ, अहिले त चाडपर्वमा मात्रै पनि ४५ जना जम्मा हुन्छौँ। मेरो जिम्मेवारीसँगै परिवार पनि ठुलो भएको छ । ’ पहिलेको समयमा दुख भए पनि अहिले प्रविधिले धेरै कुरा सहज बनाइदिएकोमा उनी दङ्ग छिन् । ‘हाम्रा पालाको दुखको के कुरा गर्नु घट्ट पुग्न पनि एक दुई घण्टा लाग्थ्यो अहिले त ठाउँ ठाउँमै मिल आएछ ।’उ बेला काम गर्नेहरूको ज्याला पनि निकै कम हुने गरेको उनको स्मरण छ ।
उनी सम्झिन्छिन्, ‘ यति बेला ज्याला लिने लाठेलाई १ रुपैयाँ र केटी मान्छेलाई १ मोहर दिन्थे ’त्यो ज्याला पनि धेरै रहेको उनले सुनाइन् । “१ सुका लिएर बजार जाँदा त्यही पैसाले चुरा किन्थ्यौँ, धागो किन्थ्यौँ, अनि खाजा खाना पनि पुग्थ्यो ।’ शिवमायाका यी अनुभव सुन्दा लाग्छ, समयसँगै जीवनशैली कति परिवर्तन भएको छ।


