काठमाडौं। काठमाडौंको भीडमा बसेर हेर्दा परिवर्तन छिटो देखिन्छ । सडक फराकिलो भएका छन्, घर अग्लिएका छन् र बजार फैलिएका छन्। तर परिवर्तनको अर्थ सबैका लागि एउटै हुन्छ भन्ने हुँदैन।
छाउनीस्थित राष्ट्रिय संग्रहालयनजिकैको चौतारीमा भेटिएका लमजुङका ८४ वर्षीय सन्तबहादुर अधिकारीका लागि परिवर्तन भनेको आफ्नो आँखै अगाडि गाउँ फेरिएको कथा हो।
उनको बाल्यकालमा गाउँमा विद्यालय थिएन। पढ्ने रहर भए पनि अवसर थिएन। खेत, गोठ, हलो र कुटो नै उनको संसार बने। अक्षर चिन्ने उमेरमा उनी खेतीको काम सिक्दै थिए।
आज उनी त्यही पुस्ताबाट उभिएर हेर्दा गाउँमा आएको परिवर्तनलाई आफैंसँग तुलना गर्छन्। कुनै समय स्याउलाका छाप्राले भरिएको ठाउँ अहिले बजार बनेको छ। जहाँ सामान बोकेर डाँडाकाँडा पार गर्नुपर्थ्यो, त्यहाँ अहिले सडक पुगेको छ। उनी आफ्नो पुरानो ठाउँलाई सम्झिँदै भन्छन्, 'अहिले त काठमाडौँजस्तै भएको छ।'
तर उनको कथामा विकासको उत्सव मात्रै छैन।
गाउँमा सडक पुग्यो, बजार पुग्यो, विदेश जाने बाटो खुल्यो। मानिसको आम्दानी र जीवनशैली बदलियो। तर खेतीमा निर्भर परिवारका समस्या भने अर्को रूपमा आइपुगे। कहिले असिना, कहिले खडेरी र कहिले बजारको अभावले किसानको मेहनत खेर जाने गरेको उनी सम्झन्छन्।
उनकै परिवार पनि यही परिवर्तनको यात्रामा छरियो। रोजगारी र अवसरको खोजीमा परिवारका सदस्य विभिन्न ठाउँ पुगे। कोही फर्किएनन्। चार भाइमध्ये दुई भाइ बिते। उमेर ढल्दै जाँदा उनी आफैं भने परिवार र गाउँको पुरानो संसारबाट क्रमशः एक्लिँदै गए।
उनको जीवनमा आएको अर्को ठूलो परिवर्तन शिक्षा र रोजगारीसँग जोडिएको छ। आफूले स्कुल देख्न नपाए पनि पछिल्लो पुस्ताले पढ्ने अवसर पायो। कसैले जागिर रोजे, कसैले विदेश जाने बाटो। उनी भने जीवनभर खेती र पशुपालनमै टिकिरहे।
उनले १३ वर्षको उमेरमा विवाह गरेको सम्झना सुनाउँदा आजको पुस्ताका लागि त्यो उमेर अस्वाभाविक लाग्न सक्छ। तर उनको पुस्ताको गाउँमा बाल्यकाल, विवाह र जिम्मेवारीबीचको दूरी निकै छोटो थियो।
त्यसैले उनी आजको पुस्तालाई हेर्दा केवल ‘पहिले राम्रो थियो’ भनेर निष्कर्ष निकाल्दैनन्। उनका सम्झनामा पुरानो जीवनमा अभाव थियो । विद्यालय थिएन, अस्पताल थिएन, सुविधा थिएन। तर मानिस प्रकृति र आफ्नै उत्पादनसँग जोडिएका थिए।
कोदो, मकै, घिउजस्ता स्थानीय खानेकुरा जीवनको सामान्य हिस्सा थिए। अहिले त्यही खानेकुरा बजारमा महँगो मूल्यमा किन्नुपर्ने अवस्था देख्दा उनलाई समय फेरिएको महसुस हुन्छ। खानपानसँगै मानिसको स्वास्थ्य र जीवनशैली पनि बदलिएको उनको अनुभव छ।
उनी नयाँ पुस्तामा अवसर बढेसँगै बेचैनी बढेको परिवर्तन पनि देख्छन्।
उनको पुस्तामा रोजगारीको विकल्प सीमित थियो। पढ्न नपाए पनि खेत थियो, पशु थियो, काम थियो। अहिले शिक्षा र रोजगारीका बाटा फराकिला भए पनि युवा मानसिक तनाव र निराशासँग जुधिरहेको खबर उनले सुन्छन्।
पुराना संस्कार हराउँदै गएकोमा पनि उनी चिन्तित छन्। गाउँमा हुने भजन, सामूहिक गतिविधि, चाडपर्वका पुराना चलन र स्थानीय खानपान विस्तारै फेरिएका छन्। उनका लागि यी केवल परम्परा होइनन्, गाउँलाई गाउँ बनाउने सामाजिक सम्बन्ध पनि हुन्।
राजनीतिक परिवर्तनबारे उनको दृष्टिकोण अझ व्यावहारिक छ।
उनले धेरै सरकार र नेता देखे। तर सामान्य गाउँलेको दुःख भने आफूले चाहेअनुसार नबदलिएको उनको गुनासो छ। चुनावमा भोट हाल्ने नागरिकले आफ्नो गाउँ र जीवनका लागि निर्वाचित प्रतिनिधिले के गरे भनेर हेर्नुपर्ने उनको धारणा छ।
यति लामो जीवन बाँचिसकेपछि भने उनको प्राथमिकता राजनीति, सम्पत्ति वा ठूलो घरमा अडिँदैन।
खुसी के हो भनेर सोध्दा उनी ठूलो परिभाषा दिँदैनन्। परिवारमा झगडा नहोस्, राम्रोसँग खान पाइयोस्, मनमा सन्तोष होस् उनका लागि जीवनको उपलब्धि यही नै हो।
अन्ततः उनी आफ्नो जीवनलाई एउटा वाक्यमा समेट्छन्,‘नाङ्गै आउने, नाङ्गै जाने।’
८४ वर्षमा उनले स्याउलाका छाप्रादेखि सडक र बजारसम्मको नेपाल देखे। अभावदेखि सुविधासम्मको यात्रा देखे। परिवार छरिएको देखे, गाउँ फेरिएको देखे, पुराना संस्कार हराउँदै गएको देखे।
तर यति धेरै परिवर्तनबीच उनले खोजेको कुरा भने धेरै ठूलो रहेनछ।
उनी सम्पत्ति होइन, सन्तोष ठूलो मान्छन् । उनका लागि सुविधा होइन, शान्ति महत्वपूर्ण छ। र उनका लागि विकासको अन्तिम अर्थ नै मानिसले राम्रोसँग बाँच्न पाउनु हो।


