Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

तान्द्राङकोटका रहस्यमयी ‘दुर्लभ ज्योतिष’

तान्द्राङकोटका रहस्यमयी ‘दुर्लभ ज्योतिष’

मंगलबार, भदौ २ २०८३
मंगलबार, भदौ २ २०८३
  • गोरखा । तान्द्राङकोटको परिचय सोध्दा स्थानीयहरू एउटै नाम ‘दुर्लभ ज्योतिष’ सम्म पुग्छन् । लिखित इतिहासका पानामा उनको कथा कति भेटिन्छ, त्यो अलग प्रश्न हो। तर स्थानीय स्मृतिमा भने उनी अझै जीवित छन्। कहिले पृथ्वीनारायण शाहलाई बाटो देखाउने ज्योतिषका रूपमा, कहिले धागो तानेर आफ्नो बिर्ताको सीमा कोर्ने व्यक्तिका रूपमा, त कहिले ध्यानमै लोप भएका सिद्धपुरुषका रूपमा।

    images

    यिनै कथाले तान्द्राङकोटको नाम र पहिचानलाई पुस्तौँदेखि बोकेर आएको छ।

    स्थानीय कथनअनुसार, पृथ्वीनारायण शाहले किर्तिपुरमाथि पटक–पटक आक्रमण गर्दा सफलता पाउन सकेनन्। त्यसपछि उनले दुर्लभ ज्योतिषसँग सल्लाह लिएको जनविश्वास रहेको छ । ज्योतिषले बुढीगण्डकीतर्फको बाटो देखाउँदै त्यही बाटोबाट अघि बढ्न सुझाव दिएको स्थानीय विश्वास छ।

    त्यतिबेला बुढीगण्डकी पार गर्न अहिले जस्तो पुल थिएन। कथनअनुसार दुर्लभ ज्योतिषले आफ्नो मन्त्रशक्तिबाट नदीको बहाव रोकिदिए र केही समयका लागि नदी पार गर्ने बाटो बनाइदिए। पछि त्यही बाटो हुँदै पृथ्वीनारायण शाहको टोली अघि बढ्यो र अन्ततः किर्तिपुर विजय भएको कथा यहाँ सुनाइन्छ।

    स्थानीय किंवदन्ति अनुसार जब पृथ्वीनारायण शाह किर्तिपुरबाट फर्किए उनले ति ज्योतिषलाई के दिन सकिन्छ भनेर सोधेछन्। दुर्लभ ज्योतिषले धन–सम्पत्ति नमागी  आफूले एक चिलिम तमाखु खाइरहँदा जति क्षेत्र घुम्न सकिन्छ, त्यति जमिन आफूलाई दिन आग्रह गरेछन्।

    राजाको अनुमति पाएपछि उनी धागो बोकेर निस्किए।

    स्थानीयले सुनाउने कथाअनुसार, कोया भञ्ज्याङबाट सुरु भएको उनको यात्रा धागो तान्दै स्तुल खोला, बुढीगण्डकी हुँदै तान्द्राङ खोलातर्फ फैलियो। उनी सामान्य मानिसजस्तो हिँडेर होइन, असाधारण गतिमा त्यो दूरी पार गरेको बताइन्छ। चिलिम नसकिँदै फर्किएपछि उनले घेरिएको क्षेत्रलाई आफ्नो बिर्ताका रूपमा पाए।

    यही धागो तानेर क्षेत्र घेरिएको कथाबाट ‘तान्द्राङ’ नाम जोडिएको स्थानीय व्याख्या छ।

    तर तान्द्राङकोटको कथा त्यहीँ रोकिँदैन।

    स्थानीय विश्वासअनुसार, दुर्लभ ज्योतिषले बुढीगण्डकीबाट एउटा ढुंगा बोकेर ल्याएका थिए। त्यसबाट मूर्ति बनाउने र मन्दिर स्थापना गर्ने उनको इच्छा थियो। पछि आफ्नो शक्ति क्षीण हुँदै गएको महसुस भएपछि उनले आफ्ना भाइ–चेलालाई वरिपरि राखेर ध्यानमा बसे। त्यसपछि उनी फेरि देखिएनन्।

    उनको शरीरसमेत नभेटिएको स्थानीय भनाइ छ। त्यसैले उनी मृत्यु नभई ‘लोप’ भएको विश्वास अझै सुनिन्छ। यही विश्वाससँग जोडिएर सिद्ध र कालीको आराधना हुने स्थानलाई अहिले सिद्धकाली मन्दिरका रूपमा चिनिन्छ।

    तान्द्राङकोटमा दुर्लभ ज्योतिषसँग जोडिएको अर्को कथा आगोसँग सम्बन्धित छ। स्थानीयहरू एउटा निश्चित क्षेत्रमा डडेलो नलाग्ने विश्वास गर्छन्। यसको पछाडि पनि उनकै कथा जोडिन्छ । राजाबाट आएको सामान बोकेर फर्कने क्रममा केही मानिसले सामान लुकाएपछि जंगलमा आगलागी भयो, तर ज्योतिषले मन्त्रद्वारा लुकाइएको सामान रहेको ठाउँ जोगाइदिएको भनाइ छ।

    यीमध्ये कुन घटना इतिहास हो र कुन लोकविश्वास, त्यसको छुट्टै प्रमाण खोजिन बाँकी छ। तर तान्द्राङ्कोटको भूगोलसँग यहाँका मानिसको स्मृति गाँसिएको कुरा भने स्पष्ट छ। एउटा भञ्ज्याङ, एउटा खोला, एउटा मन्दिर, एउटा ढुंगा र धागो तानेको भनिएको बाटो , सबैसँग दुर्लभ ज्योतिषको कथा जोडिएको छ।

    त्यसैले तान्द्राङकोटमा आज पनि नाम केवल नक्सामा छैन। त्यो एउटा पुर्खाको कथाबाट वर्तमानसम्म तानिँदै आएको धागोजस्तै छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij