काभ्रे । धेरैले ७० वर्ष कटेपछि विश्रामको जीवन रोज्छन्। तर काभ्रेका गोविन्दराज पोखरेल भने त्यसको ठीक विपरीत उदाहरण बनेका छन्। चार दशक शिक्षण पेशामा बिताएका उनी अहिले अवकाशपछि व्यावसायिक कफी खेतीमा जुटेका छन्। उमेरले सात दशक पार गरे पनि उनको जोस र ऊर्जा भने अझै जवानजस्तै छ।
छोराछोरी रोजगारी र अध्ययनका लागि काठमाडौं र विदेश पुगेपछि गाउँमा श्रीमान–श्रीमती मात्र छन्। तर एक्लोपनलाई उनले निराशाको कारण बनाएनन्। गाउँपालिकाको सहयोगमा कफी खेती सुरु गर्दै बाँझिँदै गएको जमिनलाई हराभरा बनाउने अभियान थालेका छन्।
पोखरेलको बुझाइमा गाउँबाट युवाहरू पलायन हुनुको मुख्य कारण रोजगारीको अभाव हो। यदि कृषि उत्पादनलाई बजार, सिँचाइ र आवश्यक सहयोगसँग जोड्न सकियो भने धेरै युवा आफ्नै गाउँ फर्किन सक्ने उनी बताउँछन्। त्यसैले उनी आफैं उदाहरण बनेर खेतीमा लागेका छन्।
शिक्षण जीवनभर विद्यार्थीलाई ज्ञान बाँडेका पोखरेल अहिले खेतमै उभिएर अर्को पाठ सिकाइरहेका छन् , 'उमेरले होइन, इच्छाशक्तिले मानिसलाई अघि बढाउँछ।' उनी प्राविधिक शिक्षा र व्यावसायिक कृषिलाई जोड दिँदै युवा पुस्ताले विदेशभन्दा आफ्नै माटोमा सम्भावना खोज्नुपर्ने बताउँछन्।
७० वर्ष पार गरिसकेपछि पनि बिहानै खेतमा पुगेर काम गर्ने पोखरेलको उत्साह धेरै युवाका लागि उदाहरण बनेको छ। स्वास्थ्य परीक्षणपछि आफू अझै काम गर्न सक्ने अवस्थामा रहेको थाहा पाएपछि झन् आत्मविश्वास बढेको उनी सुनाउँछन्। अब पनि कम्तीमा अर्को दशक आफ्नै माटोमा उत्पादन गरेर बिताउने उनको अठोट छ।
गोविन्दराज पोखरेलको कथा केवल एक अवकाशप्राप्त शिक्षकको होइन। उमेरभन्दा ठूलो इच्छाशक्ति हुन्छ भन्ने सन्देश हो। गाउँ र कृषि छाडेर अवसर खोज्न हिँड्ने पुस्ताबीच उनले देखाएको बाटोले एउटा प्रश्न उठाउँछ । यदि ७० वर्षको शिक्षकले नयाँ सुरुआत गर्न सक्छन् भने, युवाले किन सक्दैनन्?


