धादिङ। नौबिसे–मुग्लिन सडकखण्डको घुम्ती पार गर्दै यात्रा गर्ने धेरै यात्रुका लागि सडक किनारका साना चिया पसलहरू केवल थकाइ मेटाउने ठाउँका रुपमा मात्र सिमित छैनन् । ती पसलहरु यात्राका सम्झनाहरू जोडिने साना विश्रामस्थल पनि हुन्। यस्तै एउटा सानो पसलमा तीन दशकदेखि चुडामणि भट्टराईले बिहानको पहिलो घामसँगै चिया उमाल्दै आएका छन् ।
६५ वर्षको उमेरमा पनि उनको दिनचर्या फेरिएको छैन। बिहानै उठेर पसल खोल्ने, यात्रुका लागि चिया बनाउने र मुस्कानसहित सेवा गर्ने उनको उत्साह अझै उस्तै छ। सडकका अनगिन्ती घुम्ती, बदलिँदो समय र गाडीका हजारौँ यात्रासँगै उनको जीवनका तीन दशक पनि यही किनारमा बितिसकेका छन्। तर संघर्षले थकाएको शरीरमा पनि उनको आत्मविश्वास र अनुहारको मुस्कान भने कहिल्यै हराएन।
नुवाकोटको पुर्ख्यौली गाउँबाट सुरु भएको चुडामणिको जीवनयात्रा सहज थिएन। गाउँका उकाली–ओराली, भिराला खेतबारी र अभावका दिन पार गर्दै उनी बेँसीको यो सडक किनारसम्म आइपुगे। बाल्यकालमा औपचारिक शिक्षाको अवसर पाएनन्। उनले नाम लेख्न र केही अक्षर चिन्न सक्ने भए पनि विद्यालयको ढोकाभित्र लामो समय बिताउने मौका पाउन सकेनन्।
तर जीवन आफैँ उनको लागि एउटा ठूलो पाठशाला बन्यो। युवावस्थामा मकै भुटेर बेच्ने, डोकोमा पानी बोक्ने, धानका भारी उठाउने र खेतबारीमा पसिना बगाउने कामले उनलाई श्रम, धैर्य र संघर्षको अर्थ सिकायो।
त्यही संघर्षको बाटो पछ्याउँदै उनी बेँसी झरे र सडक किनारमा सानो चिया पसल सुरु गरे। सुरुवातमा सामान्य आम्दानीको माध्यम बनेको त्यही पसल विस्तारै उनको परिवारको भविष्य निर्माण गर्ने आधार बन्यो।
चिया बेचेर जम्मा गरेको कमाइ र आफ्नै पसिनाको बलमा उनले दुई छोरालाई पढाए, उनीहरूलाई वैदेशिक रोजगारीको बाटो देखाए। तीन छोरीलाई उच्च शिक्षा दिएर सम्मानका साथ विवाह गरे। जीवनमा ठूला महल बनाउने सपना उनले कहिल्यै देखेनन्, तर आफ्ना सन्तानलाई सक्षम र आत्मनिर्भर बनाउनु नै उनको सबैभन्दा ठूलो उपलब्धि बन्यो।
समय बदलिएको छ। हिजो गोरुले जोतिने खेतमा आज ट्र्याक्टर गुड्छन्। डोकोमा बोकिने भारीहरू अहिले गाडीमा पुग्छन्। प्रविधि र जीवनशैलीमा ठूलो परिवर्तन आए पनि चुडामणिलाई एउटा कुराले अझै चिन्तित बनाउँछ– युवाहरूको बढ्दो विदेश पलायन।
उहाँको बुझाइमा देशमै रोजगारीको वातावरण बन्न सके धेरै युवाले आफ्नो जन्मभूमि छाड्नुपर्ने थिएन। उद्योगधन्दा र उत्पादनमूलक कामको विस्तार भए गाउँमै बसेर पनि भविष्य बनाउन सकिने उहाँको विश्वास छ।
६५ वर्षको उमेरमा पनि चुडामणि कसैको सहारामा बाँच्न चाहनुहुन्न। उहाँका लागि जीवन अझै पनि कर्म र आत्मसम्मानको यात्रा हो। नयाँ सोच भएका नेतृत्वप्रति आशावादी देखिने उहाँ वृद्धवृद्धाको सम्मान, साना किसानको समस्या समाधान र युवाका लागि रोजगारीको अवसर सिर्जना होस् भन्ने चाहनुहुन्छ।
तीन दशकदेखि सडक किनारमा बसेर हजारौँ यात्रुलाई चियाको न्यानोपन दिइरहेका चुडामणि भट्टराईको कथा केवल एउटा चिया पसलेको कथा होइन, यो त संघर्ष, आत्मनिर्भरता र कहिल्यै हार नमान्ने एउटा साधारण मानिसको असाधारण यात्राको कथा हो।


