Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

शनिवारिय साहित्य

भुवन अथरका पाँच लघुकविता

भुवन अथरका पाँच लघुकविता

शनिबार, मंसिर २७ २०८२
शनिबार, मंसिर २७ २०८२
  • आजको शनिवारिय साहित्यमा भुवन अथरका पाँच रचना प्रस्तुत गरेका छौँ-

    images

     

    १. मानव र यन्त्रमानव

     

    किन निराश मात्र देख्छौ

    ए भावुक मान्छे!

     

    भावना नभएको त

    यन्त्र मानव हुन्छ

    जो आदेशबिना

    काम गर्न सक्दैन

     

    आदेश मन नपर्ने

    मानवलाई नै त हो

    जो भावनाले बाँचेको हुन्छ

     

    यसैले, मान कि

    तिमी मानव हौ !

     

    २. एक रात

     

    एक रात सकियो

    संवाद सकिएन

    तिम्रा वात सकिएनन्

    उसले फेरि सुरु गर्यो-

    “प्रथम दृष्टिमै मैले उनको

    छायासँग प्रेम गरेँ…”

     

    ३. आमाको माया

     

    आमाको माया

    कस्तो थियो भन्ने खै !

     

    दश वर्षको थिएँ

    अन्तिमपटक आमाको न्यानो पाउँदा

    त्यसपछि त आमा

    आफैँ बेवारिसे हुनुभो

    बिमारले ज्यूँदै मार्यो !

     

    चौध वर्षको छँदा

    राजधानीले बोलाएर आएँ

    आएको पाँच वर्षमै

    आमालाई अकालले बोलाएछ !

    अनि म

    निर्जिव अनुहार भए पनि हेर्न गएँ

     

    तर त्यतिखेर

    मात्र बाँकी थिए

    सिंगो आकासको एक अवशेष

    र आकासको छहारीमा बितेका केही अतीत

     

    र यसरी

    दसौँ वर्ष बितेछन्

    आमा महसुस गर्न नपाएको

     

    यस्तोमा कसरी भनुँ कि

    कस्तो थियो आमाको माया !?

     

    ४. रुने औषधि

     

    सिमलको रुख

    सिमली बतास!

     

    एक थियो एकान्त

    अर्को थिएँ म, एक्लो

    एकान्त र एक्लोको समापनपछि

    एउटा ठुलो सन्नाटा

    चर्को बोल्न थाल्यो !

    सिमली बतासले छोएर जाँदा

    उनका भुवासरी सम्झनाले रुवाएर गए…

     

    त्यो एक क्षण यस्तो भयो-

    मेरो नरुने रोग

    वर्षौँपछि निको भएको थियो ।

     

    ५. तीन सेकेण्ड

     

    यत्रो व्याकुलतामा-

    घण्टौँ बात गर्यौ,

    तर

    के सार्थक पार्यौ?

     

    मात्र तीन शब्दको त

    अपेक्षा थियो!

     

    अझै बाँकी छ

    रोकिन मेरो सास-

    तीन सेकेण्ड

    गरेको गल्ती

    सच्याउन सक्छौ !

    ...

    (भुवन अथर भक्सपप नेपालमा कार्यरत छन्।)

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij