काठमाडौँ। काठमाडौँको मुटुमै फस्टाएको ऐतिहासिक स्थल हो कमलपोखरी। त्यो बाटो हिड्ने जो कोहीको ध्यानाकर्षण गराउँछ कमलपोखरीले। नामैभित्र कमलको सुगन्ध लुकेको यो पोखरी आज पनि शहरको भीडभाडबीच शान्तिको साँघुरो टापु बनेर उभिएको छ।
कमलपोखरीका स्थायी बासिन्दा र कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहलाई यो पोखरी आफ्नै जीवनको अंगझैं लाग्छ। उनी गर्वसाथ भन्छन् — “राष्ट्रपति र उपराष्ट्रपति आउँदा मेयर बालेन शाहले रोप्नुभएको कमल यही हो।” त्यो कमल अहिले पनि पोखरीको बीचमा आफ्नो सौन्दर्य फैलाइरहेको छ — यद्यपि मानिसहरूले कहिलेकाहीँ ओखलेर लैजाने दुःखद दृश्य देखिन्छ।
राजेन्द्र सिंह र उनको टोली ‘कमलपोखरी स्पोर्ट्स क्लब’ र ‘छठ पूजा समाज’ वर्षौंदेखि यस स्थलको संरक्षणमा समर्पित छन्। उनीहरूकै प्रयासले ढल पोखरीका रूपमा चिनिने ठाउँ आज हरियाली र पानीले भरिएको कमलपोखरी बनेको हो।
२० वर्षअघि जब उनी क्लबका अध्यक्ष थिए, नक्साल र ज्ञानेश्वरका सबै ढल यही पोखरीमा मिसिन्थे। उनले त्यसलाई सहन सकेनन्। महानगरसँग सहकार्य गरेर सबै ढलको बाटो बन्द गराए। त्यसपछि मात्रै कमलपोखरी पुनर्जीवित हुन थाल्यो।
कमलपोखरी लगभग ४ फिट गहिरो छ र प्राकृतिक पानीले भरिएको छ । वरिपरिका माछा, फाउन्टेन र भर्याङले यसको सौन्दर्य अझै बढाएका छन्। यही क्षेत्रमा रहेको भगवती मन्दिर पनि पहिला अस्तव्यस्त थियो, तर त्यसको रूप फेरिदिन पनि राजेन्द्रकै हात भयो । ढुंगा, घण्टी, सजावट — सबै उनले आफ्नै आम्दानीबाट गरेका हुन्।
उनको कर्म दिने आमा शशिकला राज भण्डारी, जमलस्थित एल्लो प्यागोडा होटेलकी सञ्चालक थिइन्, उनलाई कर्मदात्री मान्ने राजेन्द्र अहिले पनि त्यही होटलमा इभेन्ट मेनेजरका रूपमा काम गर्छन्। विवाह, व्रतबन्ध, सेमिनार लगायत सबै कार्यक्रमका साउण्ड, भिडियो र फोटोसमेत उनी नै सम्हाल्छन्। त्यसैबाट आएको आम्दानीले उनले पोखरी र मन्दिरमा जीवन अर्पण गरे।
बिहान साढे पाँच बजे पोखरीको ढोका खुल्छ र राति आठ बजे बन्द हुन्छ। महानगरले निगरानी गर्छ, तर चोरी हुन नदिने जिम्मा सिंह आफैंले लिन्छन्। दिउँसोको फुर्सदमा उनी पोखरीकै वरिपरि हिँड्छन्, फोहोर टिप्छन्, पानी हेर्छन् — मानौं, त्यो पोखरी उनका सन्तान हुन् जसको हेरचाह उनले निरन्तर गरिरहेका छन्।
राजेन्द्र भन्छन्, “कसैको चन्दा लिएर होइन, साथीहरूको सानो सहयोग र आफ्नै मनले यो ठाउँ बनाएको हो।”
अहिले कमलपोखरी फेरिएको छ। बिहानैदेखि व्यायाम गर्नेहरू, ध्यान गर्नेहरूले गर्दा पोखरी जीवित देखिन्छ।
तर यति सेवा र समर्पणबीच पनि राजेन्द्रको मनमा हल्का दुःख छ । महानगरले त्यही भित्र बनाएको भवन कब्जा गरेको छ । ‘दुई लाख खर्च गरेर बनाएको कोठा अब हाम्रो छैन’ उनी भन्छन् ।
उनले १७ वर्षको उमेरदेखि समाजसेवामा लागेको यो यात्रा अब झण्डै ६ दशक लामो भइसकेको छ। अन्त्यमा उनी भन्छन् ‘ शायद यो मेरो अन्तिम कार्यकाल हो। म चाडैं नै राजिनामा दिदैंछु।


