Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह

औषधि प्रतिरोधको जोखिम

औषधि प्रतिरोधको जोखिम

औषधिको सहज पहुँच, कमजोर जनचेतना र नियमनको अभावले औषधि प्रतिरोधको जोखिम बढाउँदै छ ।

बुधबार, मंसिर २ २०८३
बुधबार, मंसिर २ २०८३
  • काठमाडौं । रुघाखोकी लाग्यो, ज्वरो आयो, घाँटी दुख्यो वा सामान्य संक्रमण देखियो भने औषधि पसल पुगेर एन्टिबायोटिक किन्ने र सेवन गर्ने प्रवृत्ति हाम्रो समाजमा नौलो होइन। कतिपयले चिकित्सकको सल्लाहबिनै औषधि किन्छन्, कतिपयले पहिले कुनै रोगमा प्रयोग गरेको औषधि फेरि त्यही लक्षण देखिँदा खान्छन्। केही दिन औषधि खाएपछि स्वास्थ्यमा सुधार भएको महसुस भयो भने बाँकी औषधि छाडिदिन्छन्। कतिपयले अरूलाई निको पारेको औषधि आफूलाई पनि उपयोगी हुन्छ भन्ने ठान्छन्।

    images

    यस्ता व्यवहार सामान्य लाग्न सक्छन्। तर यिनै सामान्यजस्ता देखिने अभ्यासले भविष्यमा गम्भीर स्वास्थ्य संकट निम्त्याउन सक्छन्। किनकि एन्टिबायोटिकको गलत प्रयोगले औषधिप्रति प्रतिरोधी जीवाणुको विकास र विस्तारलाई प्रोत्साहन गर्छ। त्यसपछि सामान्य संक्रमणमा प्रयोग हुने औषधिले समेत काम नगर्ने अवस्था आउन सक्छ।

    प्रश्न त्यसैले एन्टिबायोटिक प्रयोग गर्ने कि नगर्ने भन्ने होइन। प्रश्न हो– कहिले, किन, कति मात्रा र कसको सल्लाहमा प्रयोग गर्ने? एन्टिबायोटिक आधुनिक चिकित्साविज्ञानको महत्वपूर्ण उपलब्धि हो। निमोनिया, क्षयरोग, रगत तथा मूत्रनलीका केही संक्रमणलगायत ब्याक्टेरियाबाट हुने रोगको उपचारमा यसले लाखौँ मानिसको जीवन बचाएको छ। तर यही जीवनरक्षक औषधि जथाभावी प्रयोग हुन थालेपछि यसको प्रभावकारिता नै चुनौतीमा पर्न थालेको छ।

    सञ्चारकर्मीसँग अन्तरक्रिया

    प्रतिजैविक प्रतिरोध (एएमआर)को बढ्दो जोखिम न्यूनीकरण तथा रोकथामका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरण क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको यस वर्षको विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहमा जोडदार रूपमा उठेको छ ।

    WhatsApp Image 2026-11-18 at 5.18.22 PM.jpeg

    अन्तरक्रिया कार्यक्रममा सहभागीहरू

    ‘एक स्वास्थ्य एक अभियान, प्रतिजैविक प्रतिरोधको  आजको रोगथाम’ भन्न्रे मूल नाराका साथ विश्व स्वास्थ्य संगठन, ग्लोबल एएमआर नेपाल च्याप्टरको संयुक्त आयोजनामा बुधबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यको मात्र नभई बहुक्षेत्रीय साझा चुनौती भएको बताए ।

    प्रतिजैविक औषधिले प्रभावकारी रूपमा काम नगर्दा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन हुने र यसले मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर पार्न सक्नेमा सबैले चिन्ता व्यक्त गरे । नेपालमा टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वाससम्बन्धी तथा अस्पतालजन्य सङ्क्रमण गराउने सुक्ष्मजीवमा प्रतिजैविक प्रतिरोध बढ्दै जानु चिन्ताजनक भएको सहभागीहरूले बताए । 

    यसैबीच सरकारले प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गर्नुका साथै विभिन्न नीति, कार्यक्रम र पहल अघि बढाएको स्वास्थ्य र कृषि तथा प्रयावरण मन्त्रालयका प्रतिनिधिले कार्यक्रममा जानकारी दिए । चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न, स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार मात्र त्यस्ता औषधि प्रयोग गर्न तथा सङ्क्रमणबाट बच्न खोप, सरसफाइ र हातको स्वच्छतामा ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिए । 

    औषधिको पहुँच बढ्यो, प्रयोगको चेतना बढेन 

    नेपालजस्ता विकासोन्मुख मुलुकमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनु सकारात्मक उपलब्धि हो। गाउँदेखि सहरसम्म औषधि पसलको विस्तार भएको छ। सामान्य स्वास्थ्य समस्या देखिँदा औषधि प्राप्त गर्न पहिलेजस्तो कठिनाइ नहुन सक्छ। तर औषधि उपलब्ध हुनु र त्यसको सही प्रयोगबारे जानकारी हुनु फरक कुरा हुन्।

    विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा यो समस्या थप जटिल बन्न सक्छ। चिकित्सकसम्म पुग्न यातायात खर्च, उपचार शुल्क, परीक्षण खर्च र समय लाग्छ। दैनिक ज्यालादारी गरेर जीविका चलाउने व्यक्तिका लागि सामान्य बिरामी पर्दासमेत स्वास्थ्य संस्थामा पुग्नु आर्थिक बोझ बन्न सक्छ।

    यस्तो अवस्थामा नजिकैको औषधि पसलबाट औषधि किनेर खाने विकल्प सहज लाग्छ। कतिपय अवस्थामा औषधि पसलमा उपलब्ध व्यक्तिसँग लक्षण बताएर औषधि लिने चलन पनि छ। चिकित्सकीय परीक्षण र आवश्यक परामर्शबिनै एन्टिबायोटिक प्रयोग हुने जोखिम यहीँबाट सुरु हुन्छ।

    नेपालमा गरिएको एक अध्ययनले सामुदायिक औषधि पसलबाट चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक वितरण हुने अभ्यासलाई औषधि प्रतिरोध बढाउने महत्वपूर्ण चुनौतीका रूपमा औँल्याएको छ। अध्ययनले औषधिको अधुरो सेवन, आवश्यकताभन्दा बढी प्रयोग र चिकित्सकीय निर्देशनबिनाको वितरणले प्रतिरोधी जीवाणुको जोखिम बढाउन सक्ने देखाएको छ।
    यसको अर्थ सबै विपन्न समुदायका मानिसले एन्टिबायोटिकको दुरुपयोग गर्छन् भन्ने होइन। समस्या व्यक्तिको आर्थिक अवस्थालाई मात्र दोष दिएर समाधान हुँदैन। स्वास्थ्य सेवाको असमान पहुँच, औषधिबारे अपर्याप्त जानकारी, चिकित्सकीय परामर्शको खर्च र कमजोर नियमन पनि यसका महत्वपूर्ण कारण हुन्।

    निष्कर्ष

    नागरिकले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्ने, अरूको औषधि नखाने र बाँकी रहेको औषधि पुनः प्रयोग नगर्ने बानी विकास गर्नुपर्छ। चिकित्सकले आवश्यकताका आधारमा मात्र औषधि सिफारिस गर्नुपर्छ। औषधि विक्रेताले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। राज्यले कानुन कार्यान्वयन, जनचेतना र स्वास्थ्य सेवाको पहुँचलाई प्राथमिकता दिनुपर्छ।
    अन्ततः एन्टिबायोटिक मानव स्वास्थ्यको रक्षक हो, तर यसको अविवेकी प्रयोग भविष्यको उपचारका लागि जोखिम बन्न सक्छ। औषधि उपलब्ध गराउनु मात्रै स्वास्थ्य सेवाको सफलता होइन, त्यसको सही प्रयोग सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij