काठमाडौं। आज सामाजिक सञ्जाल टिकटकमा 'नेपो बेबीज' ट्रेन्ड भाइरल भइरहेको छ । यस ट्रेन्डमा राजनीतिक परिवारका छोराछोरीको विलासिता उजागर गर्ने उद्देश्यसहितको अभियानले सामाजिक सञ्जालमा खलबली मच्चाएको छ। यो ट्रेन्ड जेन जीले चलाएको हो । जेन जीले यसलाई 'नेपो बेबीज', 'वी आर द लास्ट जेनरेशन द्याट यु क्यान फूल' लगायतका नाम दिएका छन् ।
जेन जीले निकालेका भिडियोहरु पनि यसले आफैँ उत्पादन गरेका होइनन्, यी भिडियो क्लिपलाई स्वयं राजनीतिक दलका नेताका छोराछोरीले पोष्ट गरेका भिडियोबाट साभार गरिएका हुन् । सामाजिक सञ्जाल टिकटकमा भाइरल भिडियोमा नेताहरु र तिनका सन्तानको महँगा गतिविधि, खानपान, पहिरन जस्ता विलासी जीवनशैली देखाइएको छ ।
छोराछोरीको विलासिता र तडकभडक देखाउँदै दलका नेताहरुको सम्पत्ति विवरण र त्यसको स्रोत खुलाउन दबाब सिर्जना गर्न चाहन्छ, जेन जी । त्यसकारण यो केवल एक ट्रेन्ड मात्रै नभएर राजनीतिक संरचनाविरुद्धको अभियान पनि हुन सक्छ ।
यस्ता ट्रेन्ड भाइरल हुनुले जनतामाझ राजनीतिक वंशवाद र शक्ति संरचनाविरुद्ध जागरण बढाउन सक्छ। विशेषगरी कब्जामा रहेका युवा वर्गका अभिव्यक्ति, दृश्य र सामाजिक माध्यमका साझा प्रवाहले राजनीतिक चेतना फैलाउन प्रभावकारी भूमिका खेलेका छन्।
के गर्दैछ जेन जी ?
जेन जी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले भोलि सोमबार (सेप्टेम्बर ८ मा) देशभर प्रदर्शन गर्दैछ । सामाजिक सञ्जालमाथिको अंकुश र पछिल्ला समयमा देखिएका भ्रष्टाचारका काण्डको विरोधमा भोलि युवाहरूले काठमाडौंको माईतीघरमा बृहत् प्रदर्शनको आव्हान गरेको छ ।
जेन जीको प्रदर्शनमा हजारौंको संख्यामा युवा पुस्ताले सहभागिता जनाउने सम्भावना छ । सन् १९९० को दशकको बिचदेखि सन् २०१० को दशकको मध्यान्तरबिचमा जन्मिएका जनसंख्यालाई अंग्रेजी वर्णमालाको अन्तिम अक्षर ‘जेड’सँग जोडेर ‘जेनेरेसन–जेड’ अर्थात् छोटकरीमा ‘जेन जेड’ भनिन्छ । अमेरिकन अंग्रेजीमा ‘जेड’लाई ‘जी’ उच्चारण गर्ने भएकाले ‘जेन जी’ पनि भन्ने गरिन्छ ।


