काठमाडौं । वीरगन्जका ३६ वर्षीय एनामुल आलम काठमाडौंको मैतीदेवी आसपास ठेलागाडामा तरकारी बेच्छन् । मैतीदेवी मन्दिर नजिकैको एक गल्लीभित्र साँघुरो कोठामा मासिक ४ हजार रुपैयाँ तिरेर उनको परिवार बस्छ । ठेलागाडामा तरकारी बिक्री गरेकै भरमा परिवारको बिहान र बेलुकाको छाक टार्न, कोठाभाडा र औषधि खर्च जुटाइरहेका छन् । परिवारमा आमा, बुबा, श्रीमती र एक छोरी छन् । बिहानै उठ्यो तीन बजे कालीमाटी तरकारी बजारमा पुगेर ताजा तरकारी लिने गर्छन् आलम । त्यसपछि तरकारीले भरिएको ठेलगाडा लिएर उनी टोलका गल्ली–गल्ली डुल्छन् ।
ठेलागाडी कहिले ठेल्छिन्, कहिले अगाडिबाट तान्छिन् । उनी यो व्यवसायबाट सन्तुष्ट छन् तर महानगरको डर पनि उस्तै छ । ‘नियमित काम गर्न सकिएको अवस्थामा परिवार पाल्न समस्या हुँदैन,’ उनले भने, ‘ मैलै यही व्यवसायबाट पाँच जनाको परिवार पाल्न सकेको छु अरू समस्या त केही छैन महानगरले बेलाबेला दुख दिन्छ ।’ विगतमा राम्रै आम्दानी भएपनि आजभोलि उनले भनेजस्तो आम्दानी गर्न पाएका छैनन् । महानगरले ठेला गाडा चलाउनेहरूमाथि डन्डा चलाएको उनको आरोप छ । उनी भन्छन् ‘पहिले त जहाँ गएर व्यापार गर्नपनि सहज थियो बिहान लिएर निस्किएको ठेला बुलुकी मात्र घरमा ल्याउँथे तर अहिले त महानगरले खेदी हाल्छ । लुकेर व्यवसाय गर्नुपरेको छ डरैडरमा व्यवसाय गर्दा के नाफाको आशा गर्नु हातमुख जोर्न पाए त्यही नै ठुलो हो ’ । एनामुललाई अहिले डरैडर छ । लुकीलुकी बेचिराखेका छन्। ‘गरिखाने यो भाँडो ठेलागाडी , कुन दिन लगिदिने हो भन्ने डर छ। कति दिन लुकेर बेच्न सकिन्छ ?’ गाउँमा सम्भावना नदेखेपछि उनी सहर पसेका थिए । जति दुख गर्दा पनि खानलाउन नपुगेपछि परिवारसंगै उनी काठमाडौं आए ।
उनी भन्छन् ‘गाउँमा मनग्य खेती गर्ने जग्गाजमिन छैन। अरूको अधिया मात्र गरेर कति दिन चल्छ र आफुले मेहनत गर्यो तर खानेबेला अरूलाई । ’ काठमाडौंमा उनले फुटपाथमा व्यवसाय गरेको देखे। उनले पनि त्यही बाटो रोजे। काठमाडौंका गल्ली–गल्ली व्यापार गर्न जान्थे आलम कमाइ राम्रै थियो। परिवारको आर्थिक गर्जो टारेका थिए । तर अहिले काठमाडौं महानगरको नीतिकै कारण आफूहरूको गरीखाने भाँडो नै बन्द भएको उनको गुनासो छ। ‘हाम्रो गरिखाने भाँडो नै बन्द भयो। कहाँ जानुरु अर्को कुनै सिप छैन। दिनको हजार–१५ सयको फाइदा हुन्थ्यो। अहिले घटेर पाँच सय पनि कमाइ छैन।’ उनले दुखेसो पोखे ।


