बाजुरा । बाजुरामा यतिबेला सबैलाई कामको चटारो छ। माथिल्लो भेगमा स्याउ टिप्ने हतारो छ भने तल्लो भेगमा धान काट्ने मारामार छ। कतै कोदो फुल्दैछ त कतै हरिया डाँडाकाँडाले गाउँलाई घेरेका छन्। यही चहलपहलबीच बाजुराका गाउँ भने बिस्तारै रित्तिँदै गएका छन्।



तल्लो भेगका खेतहरूमा धान सुनका बालाझैं पाकेका छन्। किसानहरू पाकेको धान काटेर भित्र्याउन व्यस्त छन्। महिनौँ लगाएर गरेको मिहिनेतलाई घरमा भित्र्याउने बेला यही हो।



डाँडापाखाका बारीमा कोदो फुल्दैछ। कतै कोदोका बाला हावासँगै हल्लिरहेका छन्।

माथिल्लो भेगमा भने स्याउ टिप्ने चटारो छ। बगैँचामा पाकेका स्याउ टिपेर बजार पठाउने तयारीमा किसानहरू लागिपरेका छन्। एउटै बाजुरामा उचाइअनुसार फरक बालीसँगै फरक व्यस्तता देखिन्छ।

यतिबेला बाजुराका डाँडाकाँडा पनि हरियालीले भरिएका छन्। कच्ची बाटाहरू पहाडका बस्ती हुँदै उक्लिएका छन्, नदीमाथि पुलहरू देखिन्छन्। कठिन भूगोलबीचको यही दृश्यले बाजुराको गाउँलाई छुट्टै चिनारी दिन्छ।


तर गाउँभित्र पुग्दा दृश्य केही फरक छ। चौतारोमा बसेका बुढापाका भेटिन्छन्, आँगनमा खेल्ने बालबालिका र युवाको संख्या भने कमै देखिन्छ। पढाइ र रोजगारीका लागि धेरै युवा गाउँबाहिर नै छन्।


खेतबारी उस्तै छन्, बाली पनि उस्तै उम्रिन्छन्। फरक यति छ, तिनलाई सम्हाल्ने हातहरू घट्दै गएका छन्। बाजुरालाई फर्की हेर्दा हरियालीसँगै रित्तिँदै गएका गाउँ पनि देखिन्छन्।





