Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

विपद्मा कस्ता समस्यामा पर्छन् बालबालिका ?

विपद्मा कस्ता समस्यामा पर्छन् बालबालिका ?

सोमबार, असोज १२ २०८३
सोमबार, असोज १२ २०८३
  • काठमाडौं । बाढीपहिरो जस्ता विपद् पछि सबैभन्दा बढी जोखिममा पर्ने समुह अन्तर्गत बालबालिका पनि पर्दछन् । विपद्ले घर बगाउँदा वा भत्काउँदा बालबालिकाले घर मात्रै गुमाउँदैनन्। उनीहरूले आफ्ना अभिभावक, विद्यालय , आफ्नो परिचय खुल्ने कागजात र आफूलाई सुरक्षित महसुस गर्ने ठाउँसमेत गुमाउन सक्छन्।

    images

    यस्तो अवस्थामा राहतको पालमुनि पुगेका बालबालिकामाथि विपद्को अर्को जोखिम सुरु हुन्छ।अहिले बाढीपहिरो प्रभावित क्षेत्रमा यही जोखिम देखिन थालेको छ। अभिभावकसँग छुटेका, अभिभावक गुमाएका वा घरबारविहीन भएका बालबालिका बालश्रम, बालविवाह, दुर्व्यवहार र मानव बेचबिखनको जोखिममा पर्न सक्ने अवस्था रहेको बालअधिकार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले औँल्याएका छन्।

    विपद्पछि पहिलो प्राथमिकता उद्धार र राहत नै हुन्छ। खाना, पानी, कपडा र बस्ने ठाउँको व्यवस्था गरिन्छ। तर केही समयपछि जब तत्कालको त्रास कम हुन थाल्छ, बालबालिकाको जीवनमा अर्को चरण सुरु हुन्छ। विद्यालय कहिले फर्कने, कहाँ बस्ने, अभिभावक नभए कसले हेरचाह गर्ने र उनीहरूको भविष्य कसरी अघि बढाउने भन्ने प्रश्न त्यतिबेलादेखि उठ्न थाल्छ।

    प्रभावित क्षेत्रमा पुगेका बालअधिकारकर्मी तिलोत्तम पौडेलका अनुसार धेरै बालबालिका अझै पनि घटनाबाट बाहिर निस्कन सकेका छैनन्। कसैले अभिभावक भेटिएला कि भनेर पर्खिरहेका छन्, कसैले साथी र आफन्त गुमाएका छन्। उनीहरूमा डर, चिन्ता र मानसिक आघात देखिएको छ। यस्तो अवस्थामा बालबालिकासँग नियमित संवाद र मनोसामाजिक परामर्श नहुँदा उनीहरू थप जोखिममा पर्न सक्छन्।

    किनभने विपद्ले बालबालिकालाई कमजोर बनाउने अवस्था एकैपटक धेरै ठाउँमा सिर्जना गर्छ। परिवार टुट्छ, आर्थिक अवस्था बिग्रन्छ, विद्यालय छुट्छ र सुरक्षित संरक्षणको घेरा कमजोर हुन्छ। यही अवस्थाको फाइदा उठाएर कसैले कामको प्रलोभन देखाउन सक्छ, विवाहका लागि दबाब दिन सक्छ वा राम्रो भविष्यको आश्वासन दिएर अन्यत्र लैजान सक्छ।

    त्यसैले विपद्पछिको राहतलाई केवल खाद्यान्न र अस्थायी बासमा सीमित राख्न हुँदैन। प्रभावित बालबालिकाको पहिचान, जन्मदर्ता तथा नागरिकता जस्ता कागजातको पुनःव्यवस्था, विद्यालयमा पुनःफिर्ती, परिवारसँग पुनर्मिलन र निरन्तर मनोसामाजिक सहयोगलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने देखिन्छ।

    अहिले कतिपय बालबालिका आफन्त वा अन्य स्थानमा पुगेका छन्। कोही विद्यालय जानबाट छुटेका छन्। अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कसले लिने भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ। यस्तो अवस्थामा उनीहरूलाई लामो समयसम्म अस्थायी शिविर वा असुरक्षित वातावरणमा राखिरहँदा जोखिम झन् बढ्न सक्छ।

    विपद्को समयमा सबैभन्दा कमजोर अवस्थामा पुगेका बालबालिकालाई सुरक्षित राख्ने जिम्मेवारी कुनै एक निकायको मात्र होइन। संघ, प्रदेश र स्थानीय सरकारसँगै नागरिक संघसंस्था, विद्यालय, समुदाय र परिवारको समन्वय आवश्यक हुन्छ।

    बाढीपहिरोले बगाएको घर पुनः बनाउन सकिन्छ। सडक र पुल पनि फेरि बनाउन सकिन्छ। तर बालबालिकाको हराएको बाल्यकाल, सुरक्षा र भविष्य फर्काउन ढिलो भइसकेपछि त्यसको क्षतिपूर्ति सजिलो हुँदैन। त्यसैले विपद्पछिको पुनःस्थापनामा राहतसँगै बाल संरक्षणलाई केन्द्रमा राख्नुपर्ने समय अहिले नै हो।

    यिनै विषयमा केन्द्रित भएर हामीले बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप ) का अध्यक्ष तिलोत्तम पौडेलसँग विपद्मा बालबालिकाको अवस्था र सम्भावित जोखिम बारे छलफल गरेका छौँ । तिलोत्तम पौडेल विगत तीन दशकदेखि नेपालमा बालअधिकार र युवा सशक्तिकरणको क्षेत्रमा निरन्तर क्रियाशील व्यक्तित्व हुन्। उनी नेपालकै पहिलो दर्ता भएको बाल क्लब, जागृति बाल क्लब (नवलपरासी) का संस्थापक हुन्। 

    यस भिडियोमा पौडेलसँग प्राकृतिक विपद्को समयमा बालबालिकाले भोग्नुपरेका मुख्य समस्याहरू र राज्यले चाल्नुपर्ने कदमहरूका बारेमा विस्तृत रूपमा कुराकानी गरेका छौँ। 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij