धनगढी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरेसँगै सुदूरपश्चिमको प्रतिनिधित्वलाई लिएर प्रश्न उठेको छ।
मन्त्रालयका अनुसार सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति उपकुलपति, सदस्यसचिव तथा परिषद् सदस्य नियुक्त गरेका हुन्।
तीनवटै प्रतिष्ठानमा गरी तीन कुलपति, तीन उपकुलपति, तीन सदस्यसचिव र २० जना परिषद् सदस्य नियुक्त हुँदा सुदूरपश्चिमबाट भने एक जना पनि परिषद् सदस्य समेटिएका छैनन्। यही विषयलाई लिएर सुदूरपश्चिममा असन्तुष्टि बढेको छ।
डेउडा गायक चक्र बमले सामाजिक सञ्जालमार्फत काली–कर्णालीप्रति राज्यको व्यवहारप्रति प्रश्न उठाएका छन्। उनले प्राज्ञ परिषद् सदस्यका लागि सुदूरपश्चिमबाट योग्य व्यक्ति नभेटिएको हो कि भन्ने व्यंग्य गर्दै नेपाली भाषाको जननी मानिने काली–कर्णालीमाथिको यस्तो व्यवहार कहिलेसम्म सहनुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसभा सदस्य तथा साहित्यकार जनक रसिकले पनि नयाँ नियुक्तिले सुदूरपश्चिमप्रतिको पुरानै उपेक्षालाई निरन्तरता दिएको टिप्पणी गरेका छन्। उनका अनुसार साहित्य, कला र संस्कृतिमा समृद्ध इतिहास बोकेको सुदूरपश्चिमले राज्यका महत्वपूर्ण सांस्कृतिक संस्थामा उचित अवसर पाउन सकेको छैन।
रसिकले सुदूरपश्चिमप्रतिको राज्यको दृष्टिकोण इतिहासदेखि नै विभेदपूर्ण रहेको दाबी गरे। राजनीतिक व्यवस्था फेरिए पनि अवसर र प्रतिनिधित्वका सवालमा प्रदेशप्रतिको व्यवहारमा अपेक्षित परिवर्तन आउन नसकेको उनको भनाइ छ।
यसैबीच, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नाम नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यसचिवका रूपमा अघि बढेको चर्चा भए पनि अन्तिम चरणमा उनलाई सदस्यसचिवको जिम्मेवारीबाट पछि हटेर परिषद् सदस्यका रूपमा बस्न आग्रह गरिएको र उनले त्यसलाई अस्वीकार गरेको बताइएको छ।
तीन प्रतिष्ठानमा देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने अवसर हुँदाहुँदै सुदूरपश्चिम पूर्णतः बाहिरिनु केवल नियुक्तिको विषय नभई सांस्कृतिक प्रतिनिधित्व र समावेशितामाथिको गम्भीर प्रश्न बनेको छ।


