काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेयता किसानसँग प्रत्यक्ष जोडिएका समस्या समाधानलाई प्राथमिकतामा राख्दै विभिन्न पहल थालेकी छन्। दुग्ध किसानले लामो समयदेखि पाउन बाँकी रहेको करिब ३५ करोड रुपैयाँ बक्यौता भुक्तानी प्रक्रिया अगाडि बढाउनुका साथै रासायनिक मलको आपूर्ति र वितरण व्यवस्थापनमा मन्त्रालयलाई सक्रिय बनाएकी छिन् ।
किसानले उत्पादन बिक्री गरेपछि लामो समयसम्म भुक्तानी नपाउने समस्या समाधान गर्न २५ दिनभित्र भुक्तानी सुनिश्चित गर्ने नीतिगत व्यवस्था ल्याउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। प्रस्तावित व्यवस्थाअनुसार तोकिएको समयभित्र भुक्तानी नगर्ने व्यवसायीबाट ब्याजसहित रकम उपलब्ध गराउने व्यवस्था गर्ने विषयमा समेत छलफल भइरहेको छ।
मन्त्री चौधरीले भूमिहीन तथा सुकुमबासी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरिरहेकी छन्। आरक्ष प्रभावित नागरिकलाई लालपुर्जा उपलब्ध गराउने विषयमा पनि सहजीकरणको प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ।
२०४९ सालमा कञ्चनपुरमा जन्मिएकी चौधरी कानुन व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन्। क्रिमिनल तथा कमर्सियल कानूनमा स्नातकोत्तर गरेकी उनले विभिन्न सामाजिक तथा कानुनी क्षेत्रमा काम गर्दै आएकी छन्। उनले गरिब, दलित, पिछडिएको वर्ग तथा सीमान्तकृत समुदायसँग सम्बन्धित १५० भन्दा बढी मुद्दामा कानुनी परामर्श तथा निःशुल्क सहायता प्रदान गरेको विवरण सार्वजनिक छ।
२०६२र६३ को जनआन्दोलनपछि सक्रिय राजनीतिमा प्रवेश गरेकी चौधरीले थारु समुदायको भाषा, संस्कृति, पहिचान तथा समान सहभागिताका विषयमा आवाज उठाउँदै आएकी छन्। उनी विभिन्न शैक्षिक संस्था तथा सामाजिक संघसंस्थामार्फत पनि सक्रिय रहँदै आएकी छन्।
चैत १३, २०८२ देखि मन्त्रालयको नेतृत्व सम्हालिरहेकी चौधरीले कृषि उत्पादन, किसानको आम्दानी, मल आपूर्ति, भूमि व्यवस्थापन र वन तथा वातावरणसँग सम्बन्धित विषयलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको बताएकी छन्। मन्त्रालयले आगामी दिनमा किसानमुखी नीतिगत सुधारलाई थप अघि बढाउने जनाएको छ।


