काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकले निजी क्षेत्र, उद्योगी व्यवसायी र लगानीकर्तालाई उत्साहित गर्न नसकेको दाबी गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभामा आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले बजेट सार्वजनिक भएलगत्तै सेयर बजारमा देखिएको गिरावटले सरकारको आर्थिक नीतिप्रति बजारको विश्वास कमजोर रहेको संकेत गरेको बताइन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेको बजेटप्रतिको आत्मविश्वासमाथि प्रश्न उठाउँदै सांसद ओलीले बजेट वक्तव्य सार्वजनिक भएकै दिनदेखि सेयर बजार किन ओरालो लाग्न थाल्यो भन्ने प्रश्न गरिन्। सामान्यतया बजेटले लगानीकर्ता र बजारलाई सकारात्मक सन्देश दिनुपर्ने भए पनि यसपटक त्यसको विपरीत प्रभाव देखिएको उनको भनाइ छ।
उनले अर्थमन्त्रीको आत्मविश्वास यथार्थमा आधारित छ वा छैन भन्ने प्रश्न उठाउँदै बजेटबाट निजी क्षेत्र, उद्योगी व्यवसायी तथा लगानीकर्ताहरू उत्साहित हुन नसकेको टिप्पणी गरिन्।
सांसद ओलीले आर्थिक विधेयकमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रका नाममा प्रस्ताव गरिएको ‘समता शुल्क’ प्रति समेत असन्तुष्टि जनाइन्। उक्त शुल्कले सर्वसाधारणमाथि थप आर्थिक भार सिर्जना गर्ने तर त्यसबाट सरकारी विद्यालय तथा अस्पतालको गुणस्तरमा सुधार आउने कुनै सुनिश्चितता नरहेको उनले बताइन् ।
‘समस्या करको दरमा मात्र होइन, हाम्रो संरचनागत ढाँचामै समस्या छ, जसलाई यो विधेयकले सम्बोधन गर्न सकेको छैन,’ उनले भनिन्।
आर्थिक विधेयकको दफा १८ प्रति आपत्ति जनाउँदै सांसद ओलीले उक्त व्यवस्थाले सरकारलाई करका दर तथा व्यवस्थामा व्यापक हेरफेर गर्न सक्ने तजबिजी अधिकार दिएको बताइन्। यस्तो अधिकारले नीतिगत स्थिरतामा असर पुग्ने, लगानीकर्ताबीच अन्योल बढ्ने तथा विभिन्न स्वार्थ समूहहरूको प्रभाव विस्तार हुन सक्ने उनले बताइन् ।
उनले संसद्को प्रभावकारी निगरानीबिना करसम्बन्धी नीतिगत निर्णय गर्ने व्यवस्था पारदर्शिताको दृष्टिले पनि प्रश्नयोग्य रहेको बताउँदै यसले अर्थ मन्त्रालयलाई अनावश्यक विवादमा तान्न सक्ने चेतावनी दिइन्।
सम्बोधनका क्रममा सांसद ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै यो बजेट र आर्थिक विधेयकबाट वास्तवमा को उत्साहित भएको छ भन्ने प्रश्न समेत उठाइन्।


