काठमाडौं। भारतले प्रधानमन्त्री बालेन शाहलाई नेपाल र भारतबीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने स्पष्ट सन्देश दिएको छ। भारतको विदेश मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो सन्देश दिएका हुन् ।
पत्रकार सम्मेलनमा भारतका एकजना पत्रकारले नेपालका प्रधानमन्त्री शाहले हालै भारतसँगको सीमा विवाद सुल्झाउन चीन र बेलायतसँग कुराकानी भइरहेको भन्ने अभिव्यक्तिलाई लिएर प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा उनले नेपाल र भारतबीचको मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने स्पष्ट पारेका हुन् । प्रवक्ता जयसवाल भन्छन्, 'हामीले सीमासम्बन्धी सबै मामिला हेर्नको लागि द्विपक्षीय संयन्त्र स्थापना गरेका छौँ। सम्बन्धित पक्ष यो स्पष्ट हुनुपर्छ कि भारत र नेपालबीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा तेस्रो पक्षको कुनै भूमिका हुने छैन।'


