काठमाडौं। पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएका विभिन्न प्रवृत्तिप्रति प्रेस काउन्सिल नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराले एक विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय र मर्यादित बनाउन पत्रकार आचारसंहिताको पालना अनिवार्य रहेको उल्लेख गरेका छन्। पत्रकार आचारसंहिता प्रतिकूल भएका सामग्री र व्यवहारका विरुद्ध प्राप्त हुने उजुरी तथा जनगुनासो बढ्दै गएको सन्दर्भमा काउन्सिलले स्थापित प्रक्रियाअनुसार नियमित अनुगमन र कारबाही गर्दै आइरहेको जानकारी गराउँदै यस्ता प्रवृत्ति र क्रियाकलापप्रति गम्भीर चासो व्यक्त गरेको छ।
काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसमा कुनै आधिकारिक सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालहरू जस्तै युट्युब, फेसबुक पेज तथा रिलबाट 'भ्युअर' बढाउने र मोनिटाइजेसन गर्ने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति बढेको छ। यसैगरी विना अनुमति अस्पताल, विद्यालय र सरकारी कार्यालय जस्ता सार्वजनिक निकायहरूमा प्रवेश गरी अमर्यादित शैलीमा प्रस्तुत हुने, हप्कीदप्की एवं दुव्र्यवहार गर्ने, र विद्यालय हाताभित्र गई अभिभावक, शिक्षक वा संरक्षकको अनुमतिबेगर बालबालिकासँग अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने जस्ता गम्भीर आचारसंहिता विपरीतका कार्य भइरहेका छन्। सञ्चार माध्यम र सामाजिक सञ्जालबाट तथ्यहीन, अपुष्ट आरोपहरू लगाई व्यक्तिका चरित्र एवं गोपनीयतामा आँच पुर्याउने तथा व्यावसायिक साखमा असर गर्ने गरी मिथ्या र भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने गरिएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्ता अपुष्ट सामग्रीको तथ्यगत परीक्षण नै नगरी भ्युअर बढाउने उद्देश्यले सामाजिक सञ्जालमा सेयर गर्ने, छोटो भिडियो बनाई रिल वा पेजबाट सम्प्रेषण गर्ने, तथा सरकारी कार्यालय एवं सार्वजनिक निकायमा क्यामरा लिएर गई भिडियो खिच्न सुरु गर्ने प्रवृत्ति मौलाएको छ। कार्यालय प्रमुख वा लेखा प्रमुखसँग बुम तेर्स्याएर प्रश्न सोध्ने र अन्तिममा सन्देशमूलक सूचना लेखेको भन्दै बिल छाड्ने तथा कार्यालयसँग पूर्वसम्झौता नगरी आफैँ सम्झौताको ड्राफ्ट तयार गरी, आफूले दस्तखत गरेर कार्यालयमा बुझाउने लगायतका पेसागत आचरणविपरीतका काम भएका छन्। यसका साथै नेपालको सीमा क्षेत्रका केही जिल्लाहरूमा विना अनुमति विदेशी मिडिया वा पत्रकारले पत्रकारिता र सञ्चारकर्म गरिरहेको र त्यस्ता मिडियाबाट नेपाल सरकार र कानुनको व्यापक विरोध गरी भ्रामक सामग्री सम्प्रेषण हुने गरेको पाइएको छ। सत्य, तथ्य एवं सन्तुलनको परीक्षणबेगर पत्रकारले नै पत्रकारका विरुद्ध सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट अमर्यादित अभिव्यक्ति दिने कार्य भएकोप्रति चासो राख्दै काउन्सिलले पेसागत आचरणविपरीत यस्ता कार्य नगर्न र नगराउन सचेत गराएको छ।
अर्कोतर्फ, सञ्चार माध्यममा प्रकाशित सामग्रीका विषयलाई लिएर वा समाचार लेखेकै आधारमा पत्रकार तथा सञ्चारकर्मीलाई विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, धम्की दिने र धरपकдको प्रयास गर्ने लगायतका प्रवृत्ति बढेको भन्दै काउन्सिलले घोर आपत्ति जनाएको छ। सम्प्रेषित समाचारलाई लिएर वा समाचार लेखेकै आधारमा सम्बद्ध सञ्चार माध्यम र पत्रकारलाई गालीगलौज गर्नु, मानमर्दन गर्नु र धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको विज्ञप्तिमा स्पष्ट पारिएको छ। सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्री गलत, तथ्यहीन लागेमा वा चित्त नबुझेमा सोबाट असर पर्ने व्यक्ति वा संस्थाले काउन्सिलमा उजुरी दिनसक्ने कानुनी व्यवस्था स्पष्ट रूपमा विद्यमान छ।
सञ्चार माध्यम वा पत्रकारले आचारसंहिताबमोजिम पेसागत आचरण, मर्यादा र व्यवहारमा रही सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सञ्चारकर्म गर्नाले मात्र पत्रकारिता क्षेत्र बलियो हुने र प्रेस स्वतन्त्रता अक्षुण्ण राख्न मद्दत पुग्ने विश्वास काउन्सिलले लिएको छ। तसर्थ, कुनै पनि सामग्री सम्प्रेषण गर्नुअघि त्यस्ता सामग्रीको तथ्य र विश्वसनीयताको अनिवार्य परीक्षण गर्न प्रेस काउन्सिल नेपालले सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक आग्रह गरेको छ।


