काठमाडौं। नव सरकार गठनसँगै सबैमा नयाँ आशा र उमङ्ग छाएको छ। लगभग बहुमतको जनसमर्थन पाएको यस सरकारबाट जनताले पुराना बेथितिहरूको अन्त्य र सुशासनको ठूलो अपेक्षा राखेका छन्। नयाँ सोच र ऊर्जा बोकेका प्रतिनिधिहरू सत्ताको निर्णायक तहमा पुगेकाले अबको नीति र कार्यशैली विगतभन्दा भिन्न र जनमुखी हुनेमा आम नागरिक विश्वस्त देखिन्छन्।
आज मुलुकको सबैभन्दा ठूलो चुनौती भनेकै ऊर्जाशील युवा शक्तिको तीव्र पलायन हो। दैनिक हजारौँको सङ्ख्यामा युवाहरू रोजगारीको खोजीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट बाहिरिरहेका छन्। यसै सन्दर्भमा आजको प्रश्न नवगठित सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि कस्ता ठोस कदम चाल्नुपर्ला र युवाहरूलाई आफ्नै माटोमा भविष्य देख्ने वातावरण कसरी निर्माण गर्न सक्ला भन्ने विषयमा हामीले भक्सपप तयार पारेका छौँ।
नेपाललाई कागजमा कृषि प्रधान देश भनिए पनि यथार्थमा हामी खाद्यान्नमा पूर्ण रूपमा आत्मनिर्भर छैनौँ। भन्सार विभागको तथ्याङ्क अनुसार वार्षिक अर्बौँ रुपैयाँको चामल, तरकारी र फलफूल छिमेकी मुलुकबाट आयात भइरहेको छ। आम नागरिकको एउटै स्वर छ कृषिमा अब आधुनिकीकरण ल्याउनुपर्छ। सिँचाइको असुविधा, समयमा मलबीउको अभाव र उत्पादनले उचित बजार नपाउने समस्यालाई सरकारले सम्बोधन गर्नुपर्छ। यदि नेपाललाई साँच्चिकै कृषि प्रधान देशका रूपमा विकास गर्ने हो र किसानलाई आधुनिक प्रविधिसँग जोड्ने हो भने कोही पनि विदेशिनु पर्दैन।
नेपालको औद्योगिक इतिहास हेर्दा विभिन्न कालखण्डमा थुप्रै उद्योग र कलकारखानाहरू सञ्चालनमा थिए। तर राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र उचित व्यवस्थापनको अभावमा ती उद्योगहरू विस्तारै धराशायी हुँदै बन्द भए। अहिले खण्डहर बनेका तिनै उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउनु नै धेरैको इच्छा र माग छ। बाँसबारी छाला जुत्ता, भृकुटी कागज कारखाना वा वीरगंज चिनी मिलजस्ता उद्योगहरूलाई पुनर्जीवन दिन सके स्वदेशमै हजारौँको सङ्ख्यामा औद्योगिक रोजगारी सिर्जना हुने निश्चित छ।
नेपालमा अवसर नभएका होइनन्, भएका स्रोत र साधनको सही पहिचान र सदुपयोग हुन नसकेको मात्र हो। हामीसँग जलस्रोत, पर्यटन, जडीबुटी र खनिजजस्ता अमूल्य प्राकृतिक सम्पदाहरू छन्। सरकारले नीतिगत भ्रष्टाचार अन्त्य गर्दै प्रशासनिक झन्झट हटाउने हो भने यी क्षेत्रमा लगानी र रोजगारीको ठूलो सम्भावना छ।


