Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

ग्यास अभाव कि कृत्रिम संकट ?

ग्यास अभाव कि कृत्रिम संकट ?

शुक्रबार, साउन २२ २०८३
शुक्रबार, साउन २२ २०८३
  • काठमाडौं । खाना पकाउने एलपीजी ग्यासको अभावबारे उपभोक्ताको गुनासो फेरि बढ्न थालेको छ। काठमाडौं उपत्यकादेखि बाहिरका विभिन्न जिल्लासम्म ग्यास सहज रूपमा नपाएको उपभोक्ताले बताएका छन्। ग्यास डिलरकहाँ पुगेपछि 'अहिले छैन, पछि आउनुस्' भन्ने जवाफ सुन्नुपरेको अनुभव धेरैको छ।

    images

    केही समयअघि आधा भरिएको सिलिन्डर वितरण गरिएपछि पूर्ण सिलिन्डरको आपूर्ति सुरु भएको भए पनि अहिले बजारमा माग बढेको देखिन्छ। यहीबीच धेरै उपभोक्ताले आवश्यक पर्दा पनि ग्यास नपाएको गुनासो गरिरहेका छन्।

    काठमाडौंकी एक उपभोक्ता भन्छिन्, ‘पहिले आधा ग्यास चलाइरहेका थियौं। त्यो सकिएपछि नयाँ लिन जाँदा ग्यास छैन भन्ने जवाफ पाइरहेका छौं।‘

    अर्का उपभोक्ताका अनुसार केही डिलरले अहिले ग्यास उपलब्ध नभएको भन्दै फर्काउने गरेका छन्। बजारमा मूल्य बढ्ने आशंकाले कतै ग्यास लुकाएर राखिएको त होइन भन्ने प्रश्न पनि उपभोक्तामाझ उठ्न थालेको छ। तरपनि  यसको पुष्टि गर्ने आधिकारिक प्रमाण भने सार्वजनिक भएको छैन।

    यो विषय संघीय संसद्मासमेत पुगेको छ। सांसदहरूले सर्वसाधारणले एउटा ग्यास सिलिन्डरका लागि दिनभर कुर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

    तर सरकारी निकायको दाबी भने फरक छ। नेपाल आयल निगमका अनुसार एलपीजी ग्यास नियमित रूपमा आयात भइरहेको छ र बजारमा दैनिक आपूर्ति भइरहेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि बढ्दो मागलाई ध्यानमा राख्दै आपूर्ति करिब १० प्रतिशतले बढाइएको जनाएको छ। विभागले बजार अनुगमन भइरहेको र हालसम्म कृत्रिम अभाव वा कालोबजारी पुष्टि हुने तथ्य फेला नपरेको बताउँदै आएको छ।

    सरकारी दाबी र उपभोक्ताको अनुभवबीच भने स्पष्ट अन्तर देखिन्छ।

    कतिपय उपभोक्ताको बुझाइमा बजारमा ग्यास नभएको होइन, तर आवश्यकता भन्दा बढी सिलिन्डर घर तथा व्यवसायमा सञ्चित गर्दा सर्वसाधारणलाई अभाव महसुस भएको हुन सक्छ। उनीहरू सम्बन्धित निकायले डिलर, गोदाम तथा व्यावसायिक प्रयोगकर्तामाथि प्रभावकारी अनुगमन गर्नुपर्ने माग गर्छन्।

    ग्यास नपाउँदा दैनिक जीवनमा प्रत्यक्ष असर परेको उपभोक्ताहरू बताउँछन्। घरमा खाना पकाउन कठिनाइ भएको, होटलमा खाना खान बाध्य हुनुपरेको र दैनिक खर्च बढेको उनीहरूको भनाइ छ। विशेष गरी एक मात्र सिलिन्डरमा निर्भर परिवारहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

    एलपीजी ग्यास नेपालले पूर्ण रूपमा आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली, ढुवानी तथा बजार व्यवस्थापनसँग सम्बन्धित कुनै पनि समस्या प्रत्यक्ष रूपमा नेपाली बजारमा देखिन सक्छ। केही उपभोक्ताले अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि सम्भावित कारणका रूपमा औँल्याएका छन्। तर हाल देखिएको अवस्थाको मुख्य कारणबारे सरकारले कुनै विस्तृत सार्वजनिक निष्कर्ष भने प्रस्तुत गरेको छैन।

    यसैबीच नेपाल आयल निगमले केही दिनभित्र आपूर्ति अझ सहज हुने जनाएको छ। तर बजारमा पर्याप्त ग्यास पठाइरहेको सरकारी दाबी र ग्यास खोज्दै डिलर–डिलर धाउनुपरेको उपभोक्ताको अनुभवबीचको दूरी भने अझै हट्न सकेको छैन।

    यही कारण अहिले उपभोक्ताको एउटै प्रश्न छ,यदि ग्यास पर्याप्त छ भने सर्वसाधारणले सहज रूपमा किन पाइरहेका छैनन्? यस विषयमा ग्यासको अभाव भोगिरहेका विभिन्न उपभोक्तासँग पनि हामीले कुराकानी गरेका छौँ। ग्यास अभावले उनीहरूको दैनिक जीवनमा कस्तो असर पारेको छ भन्ने अनुभव र गुनासा यस भिडियोमा समेटिएका छन्, जसले सरकारी दाबी र बजारमा उपभोक्ताले भोगिरहेको वास्तविकताबीचको फरक चित्र देखाउँछ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij