‘भोलि बेलुकी ठिक ५ बजे नक्सालको चिलिज क्याफेमा भेटौँ है । नाई भन्न पाइने छैन ।’
सिम्रिकाले म्यासेज छोडेकी रैछ ।
फेसबुक डिएक्टिभ गरेको ३ महिना भयो । म्यासेन्जर चाहिँ बेला बखत हेरिबस्छु ।
१० दिनको लखतरान पश्चिम यात्रापछि काठमाडौं छिरेको मात्रै छु । सिम्रिकाले म फिरेको कसरी थाहा पाई ?
मैले हुन्छ पनि भन्न सकिन, हुन्न पनि । म्यासेज हेरेर छाडिदिएँ ।
••• ••• •••
पाँच साल पहिले, देशभर महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको थियो । माघको ठिहिरो जागेको एक दिन जावलाखेलको स्टाफ कलेजमा यही विषयमा गोष्ठी थियो । संविधानसभाका सभामुख सुवासचन्द्र नेम्बाङ गोष्ठी उद्घाटन गर्न आउँदै थिए । मलाई सो कार्यक्रमको रिपोर्टिङ गर्नु थियो ।
दर्शकदीर्घाको दोश्रो लहरको दोश्रो कुर्सीमा थिएँ म । प्रेसलाई तोकिएको पेभेलियन छाडेर अर्कै लहरमा । खै किन हो, प्रेस पास बोकेर प्रेसलाई छुट्याइएको ठाँउमा बस्न मलाई कहिल्यै मन भएन । मेरो दायाँतिर एक सिट खाली थियो ।
‘एक्सक्युज मि ! के म यहाँ बस्न सक्छु ?’ युवती आवाज कानमा ठोक्कियो ।
‘अफकोर्स ! ह्वाई नट ?' मेरो जवाफ ।
ऊ मुस्कुराई र त्यहीँ बसी । कालो चस्मा, घुम्रिएका कपाल, कलेजी कुर्तामा कम्ता खुलेकी थिइन ऊ । झरी परेर घाम लागेको दिन जस्तै उज्याली । कुनै हिन्दी फिल्मकी नायिका जस्ती ।
ऊ बेलाबेला म तिर हेर्थी र मुस्कुराउँथी, हिमाल जस्तै । म लाजले रातो पिरो हुन्थेँ । म जीवनमै पहिलोपटक यस्तो सकस व्यहोर्दै थिएँ ।
महिला अधिकारका बारेमा धेरै बोलिए । कर्मकाण्डी वाचाहरू सुनिए । संविधानमा उल्लेख गरिने अधिकार र न्याय कानुनबारे घनिभूत बहस भयो । केही बुदाहरू डायरीमा टिपेँ, जो समाचार बनाइन लायक थिए ।
गोष्ठी सकिएर हिँड्ने बेलामा उसले हात अघि बढाउदै भनी- ‘म सिम्रिका शर्मा, नगरकोटबाट ।‘
‘म सुलिकोटे माइला, गोरखाबाट । नाइस टु मिट यु ।‘
मेरो जवाफ पूरा हुन नपाउँदै ऊ खित्का छोडेर हाँसी । म रातो पिरो भएँ ।
‘किन हाँसेको ?’ मेरो प्रश्नले उसले अप्ठ्यारो मानी ।
‘मेरो नाम सुनेर होला हैन ? मैले नै सकारें ।
‘होइन होइन !’
‘होइन भनेर म कहाँ पत्याउछु र ?’ अब ऊ रातो पिरो भई ।
‘सुलिकोट म जन्मेको ठाँउ हो । एक ऐतिहासिक ठाउँ । तिमीले कुखुराको सुली सम्झियौ होला ?’
अब ऊ अक्क न बक्क परी र उसले नङ टोक्दै भनी- ‘सरी !’
‘यत्ति कुरामा नि सरी भन्नु पर्छ र ? मेरो वास्तविक नाम चाहिँ मधुकर खड्का । सबैले सुलिकोटे माइला भन्छन्, त्यही प्यारो लाग्छ ।‘
‘म के भनेर बोलाउँ त ?’ सिम्रिका खुली ।
‘तिम्रै मर्जी, जे मन लाग्छ ।‘
‘मलाई त मधु प्रिय लाग्यो, मान्छे जस्तै !’ मलाई फुरुक्क पारी । मेरा नाक घिरौंला जस्तै भए ।
उसले सम्पर्क नम्बर मागी, मैले दिएँ । उसले पनि टिपाई । झोलाबाट एउटा किटक्याट झिकेर दिई । म फिस्स हाँसें ।
‘किन हाँसेको ?’ उसले सोधी ।
‘तिमीले बच्चा बनायौ नि मलाई !’
अब झन मुर्छा परेर हाँस्दै भनी- ‘तिम्रो मेरो सम्बन्ध किटक्याट जस्तै गुलियो हुनुपर्छ ।‘ म हल्का मुस्कुराएँ ।
ऊ स्कुटी बत्ताएर भक्तपुरतिर लागि । म कार्यालय फर्किएँ ।
अफिसको काम सकेर साझ नयाँबजार डेरा फर्किएँ । जुठा भाँडा बाटाभरी थिए । नमिठो गन्ध आईरहेको । दुई दिनदेखि डेरामा ग्यास बलेको थिएन । बलोस् कसरी ? ६ महिना भएको थियो ग्यास नफेरेको । तीन महिनादेखि तलब नआएर दाल चामल जुलुस लगाउने तयारीमा थिए ।
आमाले गाउँबाट पठाइदिनुभएको गुन्द्रुक र भटमास जुगाड थिए । आमा भन्नुहुन्थ्यो ‘गुन्द्रुक भनेपछि यो हुरुक्क हुन्छ । गुन्द्रुक भन्दा तीन दिनले जेठो छ, कति मिठो मान्छ !’ काठमाडौं आउने गाउँले भेट्यो कि गुन्द्रुक भटमासको पोको डेरा आइपुगिहाल्थ्यो ।
घरबेटी मिजासिलै थिए । रैथाने नेवार । महिना मरेको दिन ढोकामा चिट बोकेर आईपुग्थे । कोठाभाडा ३०००, फोहोर १००, बिजुली ९०, पानी १०० गरी जम्मा रु. ३२९०/- हर महिना कागजका रंग र साइज फरक हुन सक्थे, हिसाबको र अक्षर उही ।
‘दाइ पैसा छैन, ८/१० दिनपछि तलब आएपछि दिन्छु है’ भनेर ङिच्च हाँसेपछि ती कालो मुख गरेर फर्किन्थे ।
त्यही घरमा होम दाइ पनि बस्थे, आफ्नै गाउँले । २-३ सय कामदारका मालिक, गार्मेन्ट व्यवसायी । ठमेलमा पसल, नयाँ बजारमा गार्मेन्ट कारखाना । उनकी श्रीमती थिइन्- ‘मिठु दिदी’ । अति नै माया गर्ने, खायो कि खाएन सोध्ने । मिठो चोखो जे पाकेको छ ल्याइदिहाल्ने ।
आज मिठु दिदी पनि माईती हिडेकी रहिछिन् । बेलुकी बाहिर गएर खाने जाँगर चलेन, यत्तिकै सुत्ने निधो गरियो ।
माघमा त काठमाडौं ज्यादै जाडो हो । मुटुमै हिउँको डल्लाले हाने जस्तो । राती पानी परेपछि वरिपरिका डाँडाभरि सेताम्मे हिउँ फुस्फुसाएका छन् । फुल्चोकी, चन्द्रागिरी र नगरकोटमा हिउँ खेल्न जानेको ताँती छ ।
सिम्रिकाले फोन गरी- 'मधु म तिमीलाई एउटा कुरा भन्छु मान ल ।'
'के कुरा भन न ! अनि मत्तै मान्छु" मैले रहस्य खोतल्न खोजें ।
'नाइँ, पहिला प्रमिस अनि मात्रै भन्छु । प्रमिस ल ? सिम्रिकाले जिद्दी छोडिन ।
मैले अँध्यारोमै झटारो हानें- 'प्रमिस!'
'तिमी र म आज नगरकोट् घुम्न जाने ल' सिम्रिकाले भनी ।
म खङ्रङ्ग भएँ । नाइँ भनूँ- प्रमिस गरिसकें । हुन्छ भनूँ- एउटी केटीसंग कहिल्यै घुम्न गएको छैन ।
'म तिमीलाई लिन स्कुटी लिएर आउँछु, तयार भएर बस्नू' उसले कुरो टुङ्ग्याई ।
मलाई मोटरसाइकल चलाउन नआउने । अफिसले दिन्छु त भनेको थियो, लाईसेन्स थिएन । प्राय: हिडेर नै अफिस जान्थें । मोटरसाइकल सिक्न नगएको पनि होइन । एकपटक नयाँबजार डेराछेउ मोटरसाइकल सिक्थें । नजिकै थियो प्रचण्ड निवास । प्रचण्डको पछुवा गाडीले मेरो सिकारु मोटरसाइकललाई व्याक गरेर हानिदियो । मोटरसाइकलको अगाडिको भाग ध्वस्त भयो । भाग्यले बाँचें। म संगैका राजेन्द्र भाइले 'किन यसो गरेको ? क्षतिपूर्ति दिनुपर्छ' भने तर त्यतिखेर रगत खाएका बाघ जस्तासंग हामी प्युसाको के लाग्थ्यो र ? ऋण थपियो । मोटरसाइकल सिक्न छोडिदिएँ ।
मनमा उखुम भो । के गरौं, के नगरौं ! हिजै आइरन गरिराखेको पाइन्ट उनेँ, सर्ट लगाएँ । रत्नपार्कमा किनेको ज्याकेट थियो, लगाएँ । दिदीले तिहारमा ल्याइदिएको गलबन्दी बेरें । भान्जाले दुबईबाट ल्याइदिएको पर्फ्युम छर्किएँ । कालो चस्मा लाएँ । ऐना हेरें- अहो ! ठेसमेस ! रिडिक्क !
सिम्रिका गेटमा हर्न बजाउन आईपुगी । हतार हतार म बाहिर निस्किएँ । उसले पछाडि बस्न संकेत गरी । म चुपचाप बसेँ । उसले स्कुटी बत्ताई ।
नगरकोट म पहिलोपटक उक्लिंदै थिएँ । रातभरको पानीले भिजेको सडक । पिच भत्किएको बाटो अनि खाल्डाखुल्डी । बाइकमा बत्तिइरहेका हिउँ खेल्न हिंडेका तन्नेरी-तरुनीका जोडीहरु । हिमाली देशको हिउँ छुन आतुर सात समुद्र पारीबाट आएका विदेशीहरु ।
कुदिरहेको स्कुटी बेलाबेलामा ब्रेक लाग्दा सिम्रिकासंग टाँसिन पुग्थें । २२० भोल्ट्को करेन्ट लागे जस्तो हुन्थ्यो ! 'तिमीलाई कम्फर्ट भएन ?' उ सोध्थी । म ठिक छ भन्थें ।
एभरेस्ट विन्डो भ्यु रेस्टुरेन्ट छेउको टेबुलमा छौं हामी ।
'एक्स्क्युज मि ! के सेवा गरौं ? वेटर अर्डर लिन आईपुग्यो ।
'२ प्लेट म:म:' सिम्रिकालाई नसोधी टिपाएँ । अरु अर्डरको लागि सिम्रिका तिर इशारा गरें ।
'तपाईं म:म: लभर हो ?'
सिम्रिकाले जिज्ञासा राखी । काठमाडौंका गल्ली गल्लीका म:म: खाएको छु । ठमेलको एभरेस्ट, जमल, लाजिम्पाट, नक्साल ज्ञानेश्वर, कालिकास्थान कहाँ को म:म: खाएको छैन र ? मनमनै सम्झें तर उसलाई भनिन । हाँसें मात्र । दुईवटा लस्सी ल्याउन उसले वेटरलाई टिपाई । माघको जाडो, त्यहाँमाथि २००० मिटर माथिको ठिहिरे नगरकोटमा सिम्रिकाले लस्सी मगाएकी छे । म रनभुल्ल छु ।
'लस्सी मन पर्दैन ? यो चिसोमा आज स्वीट लस्सीको मिठास पिऔं न ! कार्बोहाइड्रेटले न्यानो पार्छ ।'
उसको खाद्य ज्ञानले मेरो खुल्दुली नामेट भयो । सोचें- आगाले पोलेको घाउ आगामै सेक्नुपर्छ भन्थे । चिसालाई चिसैले लन्फन्याउनु पर्ने रहेछ क्यार !
सिम्रिकाले मलाई नगरकोट घुमाई । भ्युटावर चढाई । हिमशृङ्खलाहरु चिनाई । इन्द्रावती उपत्यका आसपासका गाउँदेखि नालापट्टिका गाउँहरू औंल्याई, चिनाई । मानौं- एउटा गाईडले टुरिष्ट घुमाइरहेछ ।
'आज तिमी गाईड, म टुरिष्ट !' म बोलें ।
'म त तिम्रो जीवनकै गाईड बन्ने हो नि !' मुस्कुराएर अलि लाडिएजस्तो जवाफ दिई । मेरो मन मसक्क मस्कियो ।
'अब घुम्न तिम्रो घर जाने' मैले रहर पेश गरें ।
'नाइँ !' उसको उज्यालो अनुहारलाई भय र निराशाले छपक्कै छोप्यो ।
'किन ?'
'मेरा चोटहरु बल्झिन्छन् । यादहरु बिउँझिन्छ्न् । मेरो कोखो हान्छ ।'
मैले बुझिन । उसले बुझाउने कोसिस गरी-
'म ५ वर्षकी मात्रै थिएँ रे । दशैं मुखमा आउँदै थियो रे । मेरा बा, म र मेरी आमा दशैं किनमेलको लागि नगरकोटबाट काठमाडौं झर्दै थियौं । हामी चढेको गाडी एक्कासी ब्रेक फेल भएछ । ओरालोको स्पिडमा गाडी ३ सय मिटर तल खोल्सामा खसेछ । त्यसपछि १० जना घटना स्थलमै मरेछ्न् । पछि ५ जना अस्पतालमा बिते भन्थे । मेरा बा र आमा पनि त्यहीं बित्नुभएछ । उहाँहरुको काखबाट म कसरी बाँचें मलाई थाहा छैन । त्यसपछि म मेरा काका काकीसंग भक्तपुरमा बस्न थालें ।'
मोतीका ढिक्काजस्ता आँसु झार्दै उसले एकै सासमा अतीत बकेर सिध्याई । थचक्क बसी र निहुरिएर धेरै बेर रोई । उसको आँखामा लतपतिएको गाजल पुछिदिन मन लाग्यो । काँखमा राखेर उसका कर्ली कपाल सुम्सुम्याएर माया गर्न मन लाग्यो । छातीमा टाँसेर म छु नि भन्न मन लाग्यो । ऊ सुक्सुकाइ राखेकी छे । उसंगै मेरा आँखाका बाँध पनि भत्किएछ्न् । हैट् ! म कस्तो कोमल र भावुक मान्छे !
चिसो बतासमा हुरुर्र उडिआएको पात शिरमा खस्यो । उसले टिपी ।
'आहा ! कस्तो राम्रो ! यो शिशिरमा भर्खरैको बैंशालु पात कसरी झर्यो ?' ऊ जिज्ञासु भई ।
'हाम्रो प्रेम यो पात जस्तै हो कुनै दिन यसैगरी झर्यो भने ?' मैले बोल्न नपाउँदै सिम्रिकाले मेरो मुख थुनी ।
'यस्तो अशुभ बोल्न हुन्न । अब देखि यस्तो भन्नुभो भने म तपाईंसंग बोल्दिन' - ऊ च्याँठिई ।
मैले कान समाएँ- 'सरी !'
प्रेम के हो ? कसरी हुन्छ ? कसरी गरिन्छ ? म अनविज्ञ छु । तर प्रेम त आफैं हुँदोरहेछ । सिम्रिकालाई देखेदेखि ऊ आफ्नै जस्तो लागिरहेछ । नभनिकनै प्रेम भएछ । प्रेम भनिने कुरै होइन रहेछ । सिम्रिकालाई एक दिन फोन नगर्दा वर्षौं जस्तो लाग्ने । ऊ पनि त्यसै भन्थी । एकदिन उसले भनेकी थिई- 'तिमी विना त म एकपल पनि बाँच्न सक्दिन ! हाम्रो प्रेम चितासम्म पनि संगै हुनुपर्छ ।'
••• ••• •••
२०६८ बैशाख १० को साँझ । मोबाइलमा टङ्ग्रङ्ग नोटिफिकेसन बज्यो । मेसेज खोलिहेरें-
'प्रिय मधु,
हिमाल जस्तै अग्लो, समुद्र जस्तै शान्त, गहिरो र अथाह प्रेम ।
जीवन हामीले सोचेजस्तो सरलरेखामा कहाँ बग्दो रहेछ र ? बक्ररेखा जस्तै अनगिन्ती घुम्तीहरु, मोडहरू आउने रहेछ्न् । त्यही मोडको एक डिलबाट म खसें । खस्न बाध्य भएँ । म कोही अमुक मान्छेको सिन्दुर, चुरा र पोतेमा सजाइने भएँ । अन्तिमपटक भेट्न मन थियो, तर सकिन । यी दुई शब्द लेख्दा पनि मेरा हात काँपिरहेका छ्न् । अबदेखि मलाई फोन म्यासेज नगर्नू । जीवनको अन्तिम दिन सम्म पनि तिमीलाई सम्झिरहने छु ।
उही तिम्री हुन नसकेकी,
सिम्रिका'
••• ••• •••
‘भोलि बेलुकी ठिक ५ बजे नक्सालको चिलिज क्याफेमा भेटौँ है । नाई भन्न पाइने छैन ।’
सिम्रिकाले म्यासेज छोडेकी रैछ ।
फेसबुक डिएक्टिभ गरेको ३ महिना भयो । म्यासेन्जर चाहिँ बेला बखत हेरिबस्छु ।
१० दिनको लखतरान पश्चिम यात्रापछि काठमाडौं छिरेको मात्रै छु । सिम्रिकाले म फिरेको कसरी थाहा पाई ?
मैले हुन्छ पनि भन्न सकिन, हुन्न पनि । म्यासेज हेरेर छाडिदिएँ ।
बिहान उठें । मन एकतमास भयो ।
उसलाई म्यासेज रिप्लाई गरें- 'हुन्छ, म ५ बजे नक्सालको चिलिज क्याफेमा आउनेछु ।'


