काठमाडौं । घरमा आफूभन्दा सानो भाइ र जन्मदिने आमा, सबैजनाको आवश्यकता पूर्ति गर्ने र दैनिक खर्च धान्नै मुश्किल भइरहँदा उनले विदेशिने सोचिन् । विदेशमा कमाउँछु, अलि अलि आफूले राखेर बाँकी नेपाल पठाउने सपना थियो सपना तामाङको ।
छ महिनाअघि कुवेत फर्किनुअघिसम्म उनले विदेशमा पैसाको रुखै त होइन् तर परिश्रम अनुसार आम्दानी हुने सोचेकी थिएन् । तर कुवेतमा प्रवेश गरेदेखिन उनका आँखा कहिल्यै ओभानो भएनन् । नेपालमा आर्थिक अभावमात्रै झेलेकी सपनाले त्यहाँ शारीरिक र मानसिक समस्या भोगिन् ।
अहिले काठमाडौं डेरा गरी बस्ने सपना, मात्रै १८ वर्षकी थिइन् कुवेत जाँदा । भर्खरकी युवती, पुरै जोस र जाँगरका साथ कुवेत पुग्दा, यहाँ आमा र सानो भाइले आफ्नो अवस्था सुधारिने आशा गर्दै सपनाकै भर परे । तर अवस्था यस्तो आयो, सपना, कुवेतको जेलमा परिन् । काम गर्न गाह्रो भएपछि कामबाट भाग्दा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेर जेलमा हाल्यो । बल्ल तल्ल जेलबाट निस्केकी सपना अन्ततः आफ्नै नेपाली भूमिमा फर्किइन् । “विदेश रहरले हैन, बाध्यताले गएको थिएँ, म त सानो भाइ र मम्मीलाई खुसी देख्न चाहन्थें। तर विदेश गएर पनि त्यो सपना पुरा गर्न सकिन।” अधुरो सपना लिएर अनवरत यात्रा गरिरहेकी सपना, फेरि एकचोटी विदेश गएर पैसा कमाउने सपना बुन्दै छिन् । सपना तामाङ नेपालमा रहँदा हामीले गरेको पोडकाष्ट सुनेर प्रतिक्रिया दिनुहोला ।


