काठमाडौं । बिहान बेलुका सरसफाईका लागि नभइ नहुने कुचो काठमाडौंको बजारमा अन्य जिल्लाबाटै आयातित वस्तु हो । यहाँको बजारमा कुचो राम्ररी बिक्छ । राजधानीको ठुलो बजार देखेर जिल्ला जिल्लाबाट कुचो बसमा लोड गरी बेच्ने व्यापारी धेरै छन् यहाँ । त्यसैमध्येका एक हुन् नुवाकोटका ५४ वर्षीय भोजराज थापा ।
रातोमा सेतो कोठे शर्ट, टोपी, सुरुवाल र चप्पल लगाएका भोजराजको हुलिया धेरै सामान्य छ । यी हुलियामा नुुवाकोटबाट काठमाडौं झरेका थिए उनी, गाउँको अम्रिसो खेतीबाट बनाइएको कुचो बिकाउन । कुचोको भारीसहित काठमाडौं आउँदै गर्दा, बसमा उनको मनमा अनेकथरि कुरा खेल्छन् । आज सबै कुचो बिक्ने हुन् कि होइनन्?, कुचो बोकेर कति हिड्नुपर्ने होला?, अनि कुचोको भाउ आफूले भने बमोजिम आउँला कि नआउँला? यीनै प्रश्नका उत्तर खोज्छन्, भोजराज आफ्नो यात्रामा । अनि बसबाट ओर्लिएपछि उनको पहिलो गन्तव्य हुन्छ, राजधानीको कालीमाटी तरकारी बजार । काठमाडौंको चहलपहलभित्र फरक व्यवसाय गर्ने भोजराज आफ्नै गाउँमा अम्रिसो खेती गरी, त्यसबाट कुचो बनाउँछन् । अनि कुचो बेच्नैका लागि उनले बालाजुमा साथीको कोठा प्रयोग गर्छन्, सबै भारी त्यहीँ बिसाएर चाहिनेजति मात्रै नाम्लोले बोक्छन् । उनी बताउँछन्, 'सामान सकिएपछि फेरि गाउँ फर्किन्छु, फेरि कुचो बनाउँछु।' कुचो बेच्ने क्रममा उनले आफू र सामानसहित झन्डै पाँच सय रुपैयाँ भाडा तिर्नुपर्छ ।
उनले व्यवसाय सुरु गर्दा पहिले आफैं अम्रिसो खेती गरेका थिए। अहिले पनि उनी गाउँमै उत्पादन गरिएका अम्रिसोको कुचो बनाएर काठमाडौं ल्याउँछन् र होलसेलमा बिक्री गर्छन्। बाटोमा जो कोहीले चाह्यो भने खुल्ला पनि बेच्ने गर्छन् । किनभने लामो यात्रामा उनलाई केही फाइदामै भएपनि बेचेर चाँडै काम सक्नु छ । यही व्यापारबाट उनले वार्षिक झन्डै २ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । उनले कुचो बनाउँदा २५ हजार जति लागत लाग्ने पनि बताए । जुन लागतभित्र उनको परिश्रम र यात्रा अट्दैन् ।
परिवारमा उनकी श्रीमती गाउँमै घरेलु कामहरूमा व्यस्त रहन्छिन् भने उनका छोराहरू काठमाडौंमै आ–आफ्नो काममा व्यस्त छन्। श्रीमतीले बुढेसकालमा यति धेरै दुःख नगर्नु भन्छिन्, तर भोजराजको धारणा फरक छ। उनी भन्छन्, 'काम गरेपछि मन पनि रमाउँछ, आफ्नै लागि काम गरिरहेछु भन्ने खुसी लाग्छ ।'
लामो यात्रा, दुःखसहितको परिश्रम, र आत्मनिर्भर जीवनशैली अंगालेका भोजराज गाउँ र सहरतिरै अनवरत यात्रामा छन् । यो यात्रा भोजराजका लागि न त सजिलो छ न त सस्तो, तर उनी यही काममा रमाउँछन् अनि गर्व गर्छन् ।
कुचोबाट सुरु भएको उनको यात्रा अब नयाँ मोडमा आइपुगेको छ। उनले आफ्नै कमाइबाट काठमाडौंको नागपोखरी क्षेत्रमा चार आना जग्गा जोडेका छन् । त्यसमा घर बनाउने सपना पनि रहेछ भोजराजको । 'अब त बुढेसकाल पनि लागि सक्यो, अब चाहिँ यतै घर बनाउने योजना बनाएको छु छोराहरुसंग काठमाडौंमै सुखका साथ बस्ने रहर छ ।' उनले आफ्नो सपनाबारे त भन्छन्, तर त्यसभित्र लुकेको दुःख र कति परिश्रम गर्नुपर्ने हो, त्यसको हिसाबकिताब अहिलेसम्म राखेका छैनन् ।


