काठमाडौं । असारमा लगातारको पानीले भिजेको खेतमा हिलाम्मै भएर केही पुरुष र महिलाहरु रोपाइँमा व्यस्त छन् । एकाबिहानै उनीहरु धान रोप्नैका लागि सबैकाम छोडछाड पारेर खेतबारीमा ओर्लिएका छन् । यो खेतमा सबैको काम फरक फरक देखिन्छ । कोही खेतमा पानी निकास मिलाउने र खेत सम्याउने अनि माटो छान्ने काममा धेरैजसो पुरुषहरु लागेको देखेँ । कोदालीले नै सबै काम भ्याएकै छन् । अनि धानको बिउको मुठा तयार पार्ने र धान रोप्ने काम प्रायजसो महिलाले गरेका छन् ।
धान रोप्ने चटारोका कारण, उनीहरु आफ्नो पोसाक र हात खुट्टा हिलाम्य भएको र कहिलेकाँही कमिला र जुकाले टोकेको पिडा पनि बिर्सन्छन् । संगसंगै रोपाइँकै बिच गीत गाउने र नाच्ने गरी रमाइलो पनि गर्छन् । छिपछिपे हिलोमा काम गर्दा उनीहरु खुसी पनि देखिन्छन् । हिलोमा पसेर छ्यापाछ्याप गर्ने, धान रोपेपछि खाजाका रुपमा दही चिउरा खानुको छुट्टै मज्जा हुँदो रहेछ ।
वर्षाको पानीमै रोपाइँ निर्भर हुने भएकाले उनीहरुलाई रोपाइँको चटारो छ । टोखा नगरपालिका वडा २ निवासी काजी श्रेष्ठ, बिहानै ६ बजे खेतमा ओर्लिसकेका थिए । उनी अँध्यारो नहुन्जेल खेतमा काम गर्छन् । यसो हिसाब गर्दा उनको मेहेनत गर्ने समय अवधि १३ घण्टा पुग्दो रहेछ । उनी भन्छन्, धान रोपिसकेपछि ३ महीना पछि धान काटने बेला हुन्छ अहिले सम्म आफनै खेतबारीमा काम गरेको उनको अनुभव छ । कृषि पेशा गर्न त गाह्रो त गाह्रो नै छ ।
उनले खेतमा काम गरेको लामो समय भयो । कृषिका आएको परिवर्तनलाई उनले भोगेका छन् । प्रविधिको विकाससंगै नयाँ पुस्तामा कृषि पेशाप्रति वितृष्णा देख्दा काजीलाई चित्त बुझेको छैन, अहिलकोे नयांं जेनेरेसनले कृषिलाई ध्यान दिदैन अहिलेको पुस्ता कृषिलाई निरन्तरता दिन्छ भन्ने आश छैन ।
असार १५ लाई धान दिन घोषणा गरेयता कृषि पेशा र रोपाइँबारे जानकारी गराउन नेपालका अधिकांश विद्यालयले साना नानीहरुलाई माटोमा रोपाइँ गराउँछन् । अनि मानो रोपेर मुरी फलाउनेबारे जानकारी दिन्छन् । आजैको दिन दही चिउरा खाने प्रचलन रहेको बताउँदै कागेश्वरी मनोहरा ६ मूलपानी निवासी राधा खडका, रोपाइँबारे जानकारी दिन स्कुलले नानीहरुलाई हिलो खेलाउँछन् उनीहरुलाई त मज्जै हुन्छ तर अहिलेका युवा, खेतमा आउन नचाहने बताउँछिन् ।
युवा पुस्तामा कृषि पेशाप्रति मोह घट्दै गएकोमा राधा चिन्तित छिन् । राजनीतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको धान र धानको बिउ रोप्ने कामलाई जात्राकै रुपमा मनाउने चलन नेपालका धेरै स्थानमा छन् । तर हाम्रा बाउबाजेको पालामा जस्तो रौनक र मौलिकतामा कमी देखिएको छ । टोखा २ का ४५ बर्षीय राज श्रेष्ठलाई धान बाली लगाएरै बर्ष भरी खान पुग्छ ।
बर्षमा उनले २ बाली मात्र लगाउँछन्, एक बाली धान र एक बाली गहुं । अन्नका लागि उनलाई कुनै दुःख छैन् तर कृषिमा पुरै आत्मनिर्भर हुने वातावरण नभएकाले उनले पनि किसानीबाहेक डकर्मी पेशा अंगालेका छन् । उनले भने, अहिलेको पुस्ता पढछन कहां खेतीमा काम गर्न आउंछन त । कृषि पेशा लोप हुनुको कारण जग्गाहरु धेरै प्लटिङ हुने , लगानी अनुसारको उत्पादन नहुने , कृषिमा जती दुखछ त्यो लगानी अनुसार फाईदा नभएर कृषि पेशा संकटापन्न पेशा बन्ने तर्फ उन्मुख छ ।
आफू र आफू जस्तै अरु किसानहरु पनि कृषिमै पुरै आत्मनिर्भर हुने ठाउँ उनले देखेका छैनन् । खेती किसानी त्यागेर अर्कै पेशामा कृषक लागेको देख्दा आउने पुस्ताले कृषि अनि धान खेतीबारे थाहा नपाउने पो हुन् कि भन्ने शंका लाग्दो रहेछ ।
असारमा उनलाई असारे भाका गाउँन, असारे नाच नाच्न, हिलो खेल्न र दही चिउरा खान असाध्यै मन पर्छ । वैकल्पिक पेशा जे जस्तो भएपनि राजलाई आफू कृषक हुँ भन्नेमै गर्व लाग्छ । तर उनलाई किसानकै परिचय कायम राख्न धेरै चुनौती पनि छ । जन्मेदेखि मृत्युसम्म चाहिने धान हाम्रो प्रतिष्ठासंग जोडिन्छ । तर धान उत्पादनमा किसान अनुकुल वातावरण नहुने हो भने हामीले न त हाम्रो धान जोगाउन सक्छौं, न कृषि पेशा नै । कृषि र किसानलाई महत्व दिई उनीहरुका समस्या सम्बोधन नै आजको पहिलो आवश्यकता हो । असार १५ अर्थात धान दिवसको सबैलाई शुभकामना ।


