काठमाडौं । २०६२/६३ मा व्यवस्था परिवर्तनका लागि देशभर जनआन्दोलन चलिरहेको थियो । त्यत्तिनै बेला पढाई र व्यापारको सपना बुनेर त्रिविमा पढ्नकै लागि भनेर ठ्याक्कै २७ वर्षका बालकृष्ण दाहाल काठमाडौं आए ।
इलामबाट भर्खरभर्खर आउँदा चक्रपथमा भइरहेको आन्दोलनको समर्थन दाहालले पनि गरेका थिए । रैतीबाट जनता हुने आशाले भरपुर उनले अहिले व्याप्त व्यथिती आउँछ भन्ने सपनामा पनि सोचेका थिएनन् ।
देशको राजनीतिमा सुरुदेखि राम्रो दखल राख्ने दाहाल आफ्नो गुजारा चलाउन पस्मिना पसलमा कामदार बने । संगसंगै नीजि विद्यालयमा पढाउने काम गर्न उनले भ्याएकै थिए । तर सुरुदेखि नै व्यवसायमा रुचि राख्ने दाहालले जारको पानी बेच्ने कामको थालनी गरे । कामसंगैं पढाईको सिद्धान्त लिएकै कारण मानवशास्त्रमा स्नातकोत्तर गर्ने वातावरण पनि सहज बन्दै गएको थियो । त्यो समयमा व्यापार यत्ति फापेको थियो कि दाहालले आफ्नो लागि जीवनसंगिनी पनि भेट्टाइ छाडे । उद्देश्य, आत्मविश्वास र जोसले भरिपूर्ण त्यो बेलाको केटोले आफू एक्लै दुलही माग्न जाने आँट गरिछाडे । आफुमा भएको भरोसाको जित भयो र आफूले मागेकै केटीसंग उनको विवाह सफल भयो ।
सुरुसुरुमा राम्ररी पानीको व्यवसाय चल्दै थियो त्यत्तिनै बेला कोरोनाले देश आक्रान्त बन्यो । लकडाउनले उनको व्यवसाय पुरै थलियो । व्यवसाय अगाडि बढ्न नसकेपछिको तनाव नै मानसिक चिन्ता अर्थात डिप्रेसनमा परिणत भएको पत्तै पाएनन् । शिक्षित र जोसिलो युवा खाली हात बाँधेर बस्ने त कुरै भएन । घरमा बस्नु अनि मानिससंग दूरी बढाउन लकडाउनले निर्देशन दिइरहँदाको परिणाम बन्यो १० रोपनी जग्गामा टणेल खेती ।
भाडामा लिएको जग्गामा गोलभेँडा खेती गर्ने सोच आयो र व्यवसायको श्रीगणेश गरे । सुरुवातमा लगानीको दोब्बर फाइदा नभएता पनि केही न केही फाइदा होला भन्ने उनले ठानेका थिए । तर भइदियो उल्टो । राम्रो जीवनस्तरमा पुग्छु भनेर कृषिमा हामफालेका दाहालको लगानीभन्दा आम्दानी दोब्बरले घट्यो । गोलभेँडामा भोगेको घाटापछि उनले खेतीमा विविधता अपनाए । गोलभेँडासंगै काँक्रो पनि लगाए । यसबाट केही केही फाइदा भएतापनि आशाजनक भने हुन सकेन । उनलाई लाग्यो यो क्षेत्रको समस्या र चुनौतीका मूल कारण राजनीतिक अस्थिरता नै हो ।
आफ्नो मेहेनतको फल लाग्ने बेलामा उत्पादन, लागत र बजार मूल्यबीच धेरै अन्तर पाएपछि विस्तारै व्यवसायिक घाटा उनले भोग्दै गए । लागतको मूल्याङकनसहित २८ देखि ३० रुपैयाँ प्रति किलो बेच्नुपर्ने गोलभेँडा किसानको हातबाट मात्र २ देखि ४ रुपैँयामा फुत्किन्छन । लागत र बजार मूल्यमा यही अन्तरका कारण उनलाई कृृषिमा ठूलो चुनौती महशुस भयो । समयमा मल नपाइने, बोटमा लाग्ने किराका औषधि महङ्गो हुने, अनुदानमै पहुँच नहुने समस्या यथावतै छन । केन्द्रबाट स्थानीय सरकार मातहत आएका सेवा सुविधामा उनी जस्ता शिक्षित र क्रियाशिल युवाको पहुँच छैन । कृषकका लागि छुट्याएका अनुदान अरु जिल्लाबाट आएर पसिना बगाउनेले पाएका छैनन । अनुदानका लागि फर्म भर्दा पनि पाइँदैन, पहुँचवाला, नेताका कार्यकर्ता अनि यहीँका भोटरले बाहेक अन्यले सुविधा लिन सक्दैनन् भन्ने गुनासा पोख्छन् उनी ।
गुनासै गुनासाका बीच पनि कृषिलाई त्यागेर पैसा खोज्नेतर्फ भने उनको कुनै सोचाई छैन । ६ लाखको लगानीबाट तीन लाख आम्दानी हुँदा पनि न त विदेश जाने सोच आयो न त उनलाई सरकारी जागिरले नै लोभ्यायो । विदेश गएर कमाउनु र दुःख गर्नुभन्दा स्वदेशमा गरेको उत्पादनले आफूलाई मात्र नभई देशलाई नै खान पुग्थ्यो भन्छन उनी । यसका लागि सरकारले कृषि क्षेत्रमा हस्तक्षेप गर्नैपर्ने बताउँछन । व्यवस्था परिवर्तनपछि विकाससंगै आएको व्यथिति सुधार्न जरुरी भइसकेका महशुस उनी गर्छन् । यस्ता व्यथितिका बावजुत कृषिबाट हात झिक्ने विकल्पतिर उनले कहिल्यै सोच्न सक्दैनन् ।


