Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

जेन्जी आन्दोलनको एक वर्ष

'होसमा आउँदा फिलिम जस्तै लाग्यो'

'होसमा आउँदा फिलिम जस्तै लाग्यो'

मंगलबार, भदौ २३ २०८३
मंगलबार, भदौ २३ २०८३
  • काठमाडौं। भोजपुरका बादल राई सानैदेखि सामाजिक विभेद र कुरीतिविरुद्ध आवाज उठाउँदै आएका थिए। परिवारका जेठा छोरा उनी आन्दोलनमा सक्रिय हुनुको कारण पनि त्यही विद्रोही चेत भएको बताउँछन्। उनका आमाबुबा विदेशमा छन्। आन्दोलनपछि घाइते भएका बादललाई आमाले विशेष सहयोग गरिन्।

    images

    भदौ २३ गते उनी पनि अन्य युवाझैँ सडकमा थिए। कहिले माइतीघर, कहिले नयाँ बानेश्वर पुगिरहेका थिए। आन्दोलनमा सहभागी भइरहेका बेला साना–साना स्कुले बालबालिकासमेत घाइते भएको खबर सुनेपछि उनी झन् आत्तिएका थिए। यताउता दौडिँदै गर्दा उनी आफैँ भिडको हुलमा परे।

    आफू कसरी घाइते भए भन्ने कुरा बादललाई अहिले पनि ठ्याक्कै थाहा छैन। गोली लागेको जस्तो उनलाई लाग्दैन। भिडभाडमा परेर वा प्रहरीको लाठीचार्जमा आफू घाइते भएको हुनसक्ने उनको अनुमान छ।

    घाइते भएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न धेरै मानिस पुगे। तर अस्पतालमा आराम गरेर बस्न उनलाई सजिलो थिएन। आन्दोलनको त्यो घटनाले दिएको मानसिक असर भने अझै बाँकी रहेको उनी बताउँछन्। आफूले भोगेको घटनाले उनलाई ट्रमामा समेत पारेको छ।

    भदौ २३ को आन्दोलनमा आफू घाइते भए पनि त्यसपछि देशमा राजनीतिक परिवर्तन आएकोमा बादललाई खुसी लाग्छ। तर त्यही परिवर्तनका लागि ज्यान गुमाएका र घाइते भएका युवाहरूलाई त्यसपछि बनेको सरकारले गरेको व्यवहारप्रति उनी सन्तुष्ट छैनन्।

    ‘सरकार बनेपछि हामीलाई भेट्न कोही पनि आएको छैन,’ उनी भन्छन्।

    भदौ २३ को घटनापछि घाइते भएका युवाहरूलाई संगठित गर्न बादल आफैँ सक्रिय भए। घाइतेको पहिचान भएर कार्ड पाएका करिब ८ सय जना रहेको र देशभरबाट करिब ११ सय जना संगठनमा जोडिएको उनी बताउँछन्। उपत्यकामा मात्रै २ सयभन्दा बढी घाइते रहेको उनको दाबी छ। प्रकाश बोहोरा (जसको जुत्ताले विद्रोह झल्कायो) लगायतका घाइते युवाहरू पनि यही समूहमा आबद्ध छन्।

    परिवारको जिम्मेवारी आफ्नै ठाउँमा छ। तर त्यसका बाबजुद बादल अहिले पनि घाइते युवाहरूलाई जोड्न र उनीहरूको आवाज उठाउन दौडिरहेका छन्। देशभरका घाइतेलाई एउटै ठाउँमा ल्याउन सक्नु नै आफ्नो सबैभन्दा ठूलो खुसी भएको उनी बताउँछन्।

    संगठन विस्तारको काम भने सहज थिएन। लामो समय लगाएर देशका विभिन्न ठाउँमा रहेका घाइते युवाहरूसँग सम्पर्क गर्दै उनीहरूलाई एउटै समूहमा जोडिएको बादल बताउँछन्।

    तर जसको रगतबाट परिवर्तनको बाटो खुल्यो, उनीहरूका लागि परिवर्तनले के गर्‍यो?

    भदौ २३ गते भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवामाथि भएको दमनपछि देशको राजनीतिक घटनाक्रम नै बदलियो। त्यसपछिको आन्दोलनले राजनीतिक नेतृत्व परिवर्तन गर्‍यो। तर त्यो परिवर्तनमा आफ्नो पुस्ताले चुकाएको मूल्यअनुसार राज्यले घाइते र मृतकका परिवारलाई न्याय र राहत दिन नसकेको बादलको गुनासो छ।

    संसद भवन लगायतका सार्वजनिक संरचनामा भएको आगजनी र तोडफोडबारे पनि उनको आफ्नै बुझाइ छ। संसद् भवन जेनजी युवाहरूले नै जलाएका हुन् भन्नेमा उनी विश्वस्त छैनन्।

    एक वर्षपछि फर्केर हेर्दा बादलका लागि भदौ २३ राजनीतिक परिवर्तनको दिन मात्र होइन। त्यो उनका साथीहरू गुमाएको, आफू घाइते भएको र त्यसपछि पनि राज्यसँग जवाफ मागिरहनुपरेको दिन हो।

    आन्दोलनले देशको सत्ता र राजनीतिको अनुहार फेर्‍यो। तर बादलजस्ता घाइते युवाका लागि परिवर्तनको हिसाब अझै पूरा भएको छैन। उनी अहिले पनि आन्दोलनमा बगेको रगतको मूल्य राज्यले कहिले बुझ्ने यहि प्रश्न बोकेर दौडिरहेका छन् ।




    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij