काठमाडौं । गोरो अनुहारको दुइटै गाला, कान, ओठ र आँखीभुँइमा समेत मुन्द्रा लगाएकी अनि शरीरभरि ट्याटु खोपाएकी माया डाँगी दाङबाट काठमाडौं आएको धेरै भएको छैन । सामाजिक सञ्जालमा यही ठाँटबाँटले उनी यत्ति धेरै भाइरल भइन कि सायदै माया डाँगी भनेर नचिन्ने कोही होलान् । माया डाँगी अर्थात ह्याप्पी हेल्दी स्पाकी सञ्चालिका ।
कतारबाट फर्किएको केही महिनामा घरेलु कामदार हुँदै मसाज पार्लरमा काम गरेकी डाँगीले दुई वर्षयता सातजनाले रोजगारी पाउने गरी यो मसाज सेन्टर चलाइरहेकी छिन् । समाजबाट छिःछि र दुरदुरजस्ता व्यवहारलाई सहजै पचाएकी उनी अर्काको शरीरमा मसाज गर्ने कामलाई सम्मानजनक स्थानमा देख्न चाहन्छिन् ।
पारिवारिक सहयोग र विश्वासका कारण यो व्यवसायमा टिकेकी उनले सायदै आजको दिन आउँला भन्ने सोचेकि थिइन् । उनको परिवारका सदस्यलाई जहाँ भट्छन त्यहीँ ट्यापेनी, गलत कार्यमा लागेकी, अनेक पहिरन गर्ने छोरीलाई असल संस्कार दिन नसकेको भन्दै अनेक वचन यही समाजका व्यक्तिले सुनाए । यद्यपि विद्रोही स्वभावकै कारण आफू समाजको चलनचल्तीसंग मेल खाने होइन समाजलाई आफ्नो स्वरुपमा ढाल्न उनी खप्पिस भइसकिन् ।
ट्यापे र यौन व्यवसायीको धब्बा नलागेको होइन तर उनले आफ्नो काम र पहिरनलाई कहिल्यै बदलिनन् बरु समाजका तीनै नकारात्मक सोचाईलाई भने सकारात्मकतामा बदल्ने प्रयास जारी राखिन् ।
सामाजिक सञ्जालमा आफ्ना कामका भिडियो आउनुअघि उनीसंग यौन कार्यका लागि दबाब, धम्कीसंगै प्रलोभन देखाउनेको संख्या मनग्य थियो । तर भाइरल भएयता उनीसामू यस्ता गलत कार्यको प्रस्ताव आउन छाडे । एक जोर लुगा फेर्न धौधौ हुने उनको परिवारबाट यस्ता समस्या कोसौ टाढा छन् । यही कामले अहिले उनको घरधन्दा राम्ररी चलेको छ । तर व्यवसाय चलाउँदाताका लिएको ऋणको भारी बिसाउन भने उनले पाएकी छैनन् । यो ऋण तिरेपछि भने राम्रै बचत हुनेमा डाँगी ढुक्क छिन । त्यसैले त छोरीको पेशा र व्यवसायमा आमा र बुबा पनि गर्व गर्छन । परिवारकै यही भरोसाका कारण मैले नकारात्मक व्यक्तिलाई हाकाहाकी जवाफ दिन सक्ने आत्मविश्वास पाएको उनी बताउँछिन् ।
गालामा मुन्द्रा नलगाए हुन्थ्यो अनि साधारण पहिरन लगाए हुन्थ्यो भन्नेहरु मसाज सेन्टरमा धेरै आए । तर आफ्नो सेवाबाट सन्तुष्ट भएपछि तीनै ग्राहकले आफूप्रतिको सोच बदल्ने गरेको उनी पाउँछिन् । 'म मेरो लुक्सले होइन मेरो कामले देखाउँछु' उनी भन्छिन् । नेपालमा अहिले कैयौंले मसाज केन्द्र खोलेर व्यवसाय गरिरहेका छन् । तर त्यसमध्ये केहीले गरेको गलत कामले गर्दा यो सेवालाई यौन व्यवसायसंग तुलना गर्दा उनको मन चसक्कै हुन्छ ।
उनलाई अरुको शरीरमा मसाज गर्ने काम र पेशालाई सरकारले नै आधिकारीकता प्रदान गरोस भन्ने लाग्छ । त्यसपछि मात्रै यो पेशा र व्यवसायले सम्मानजनक स्थान पाउने उनको आशा छ । यसो हुन सके दुरदराजमा यो व्यवसाय फैलिन सक्ने सोच उनको छ । अनि आफूजस्तै अरु पनि कामकै लागि कतार जस्ता खाडी मुलूकमा तातो हावा र गाली खाएर टिक्नुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउँछिन् ।


