काठमाडौं। काठमाडौंको असन चोकमा एउटा सानो चटपटे पसल छ । मिना दर्नालको यो चटपटे पसलमा सर्वसाधारणको भिड नै लाग्ने गर्छ । स्वादिलो र अन्य ठाउँमा भन्दा सहज भएकाले उनको पसल धेरैको रोजाइमा पर्छ । ग्राहकलाई सन्तुष्ट बनाइरहेकी मिनाको कथा भने निकै पिडादायी छ ।
समयको परिवर्तनसँगै उनका खुसीका रङ्गहरू उड्दै गएका छन् । उडेका रङ्गहरू जीवनमा फिर्ता ल्याउन उनले दिनरात मेहनत गरिरहेकी छन् । नेपाल प्रहरीका जवानसँग प्रेम विवाह गरेकी मिनाले विवाहपछिको जीवन धेरै नै कष्टपूर्ण रह्यो । विवाह गरेको दुई वर्षपछि मात्रै उनले आफ्ना श्रीमानको पहिल्यै श्रीमती रहेको थाहा पाइन् । श्रीमती र छोराछोरी भएको व्यक्तिसँग विवाह गरेकोमा पछुतो मानिरहेकी छन् ।
उनी भन्छिन् ‘ श्रीमान् प्रहरीमा हुनुहुन्थ्यो माया प्रेम बसेर विवाह गर्ने निर्णय गरे तर विवाहको दुई वर्षपछि मात्रै उहाँको पहिल्यै पनि श्रीमती रहेछ भन्ने थाहा पाए । मत छाँगाबाट खसेजस्तै भए । तर के गर्नु भावीले लेखेको मेटेर मेटिँदैन भन्दै मन बुझाए ’ उनले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिइन् तर छोराको पनि स्वास्थ्यमा समस्या देखियो । अहिले उनका छोरा २१ वर्षका भए ।उनी छारे रोगबाट ग्रसित छन् । आत्मनिर्भर बन्न भन्दे उनले कलंकीमा खाजा पसल सञ्चालन गर्दै आएकी थिइन् । श्रीमानको कमाई दुवैतिर बढ्नुपर्ने भएकाले आर्थिक अवस्था सुधार होला भनेर उनले खाजा पसल सञ्चालन गरेकी थिइन् । पसल पनि राम्रै चल्दै थियो । घर व्यवहार, छोराको औषधि सबै राम्रै चलेको थियो ।
उनी दुखमापनि खुसी खोजिरहेकी थिइन् । ६ वर्ष अघि मात्रै दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिइन् । एउटा छोरा , एउटी छोरी उनी खुसी थिइन् । प्रेम विवाह गरेपछि माइतीको सहारा आशा गर्ने कुरै थिएन श्रीमानको साथले मिनाले सङ्घर्ष गरिरहेकी थिइन् तर उनको जीवनमा खुसी आउँदै थियो फेरी अर्को बज्रपात आइलाग्यो । ग्राहकलाई खाजा बनाइदिने क्रममा तातो तेले पोखिएर उनको ४ महिने छोरीको टाउकोमा पर्यो ।त्यसपछि सुरु भए मिनाका दुख । छोरीको उपचारमा उनले खाजा पसल नै बेच्नुप¥यो । पसल नबेची उपाय नै लागेन ।
उनीसँग भएका सबै सम्पत्ति सकियो बस श्रीमानको तलब मात्र थियो । त्यसले उनीहरूलाई खान पनि पुग्दैन थियो । विगत ६ वर्षदेखि मिनाले छोरीको उपचार गराइरहेकी छन् । उनी भन्छिन् ‘मनको दर्द कति गहिरो छ, मापन गर्न सकिँदैन। रोएर कसलाई देखाउनु, मनभरि चोट छ कसलाई सुनाउनु ।
दुख सुनाउन मिल्ने उनको कोही छैन। छोरी पनि बिस्तारै छोरी ठिक हुँदै छिन तर चिन्ता छोराको बढी छ । कहाँ गएर ढल्छ भन्ने पिरले सताउँछ ’ होटेल बेचेर बसेकी मिनाले अहिले फेरी चटपट व्यवसाय थालेकी छन् । हिम्मत र साहले फेरी उठ्न खोजिरहेको उनको भनाइ छ ।


