Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

विदेशको सीप, स्वदेशी श्रम

विदेशको सीप, स्वदेशी श्रम

सोमबार, साउन २५ २०८३
सोमबार, साउन २५ २०८३
  •  काठमाडौं । करिब आठ वर्ष विदेशमा बिताएपछि कास्कीका ३४ वर्षीय राजन न्यौपाने नेपाल फर्किए। विदेशमा कमाएको पैसा लिएर फर्किएका उनीसँग नेपालमै उत्पादन गर्न सकिने केही फरक काम गर्ने एउटा सीप र नयाँ सोच पनि थियो ।

    images

    थाइल्याण्डमा राइस नुडल उत्पादन गर्ने उद्योगमा करिब तीन वर्ष काम गरेका न्यौपानेले त्यहीँबाट एउटा सम्भावना देखे। नेपालमा चामलबाट बनेको नुडलको बजार भए पनि ताजा रूपमा उत्पादन गर्न सकिने सम्भावना अझै कम प्रयोग भएको उनको बुझाइ थियो। त्यसपछि विदेशमा सिकेको सीपलाई नेपालकै उत्पादनसँग जोडेर व्यवसाय गर्ने योजना बनाए।

    eb6bb134-9791-43df-8b2f-cb935296fac0.jpg
    चामलबाट बनेको नुडल

    नेपाल फर्किएपछि उनले स्थानीय किसानले उत्पादन गर्ने चामल, कोदो र फापरजस्ता अन्न प्रयोग गरेर राइस नुडल तथा चाउमिन उत्पादन सुरु गरे। सुरुमा भने बजारले सहजै स्वीकार गरेन। ‘चामलबाट पनि नुडल बन्छ र ?’ भन्ने प्रश्नदेखि उपभोक्तालाई नयाँ उत्पादनको स्वाद र विशेषता बुझाउनुपर्ने चुनौतीसम्म उनले सामना गर्नुपर्‍यो।

    नयाँ उत्पादन भएकाले सुरुवाती बजार विस्तारका लागि उनले आफैं उपभोक्तासँग पुगेर यसको विशेषता बुझाउन थाले। स्थानीय हाटबजार तथा कृषि उत्पादनका मेलामा उत्पादन लैजाने र उपभोक्तालाई चखाउने क्रम बढ्दै गएपछि विस्तारै ग्राहकको प्रतिक्रिया पनि बदलिन थाल्यो।

    78a4ef24-b610-4fdb-847a-afa78a2786b3.jpg
    चामलबाट बनेको नुडल

    अहिले उनको उत्पादनमा चामलसँगै कोदो र फापरका नुडल पनि छन्। मैदाबाट बनेका परम्परागत चाउमिनको विकल्पका रूपमा स्वदेशी अन्नबाट बनेका उत्पादनलाई बजारमा स्थापित गर्ने उनको प्रयास छ। उपभोक्ताले पनि उत्पादनको गुणस्तर र स्वदेशी कच्चा पदार्थलाई प्राथमिकता दिन थालेपछि बजार विस्तार हुँदै गएको उनी बताउँछन्।

    न्यौपानेको योजना यतिमै सीमित छैन। नेपालमै उत्पादन हुने मकै, कागुनो, जुनेली, आँटा तथा अन्य अन्नलाई प्रयोग गरेर थप उत्पादन बजारमा ल्याउने उनको तयारी छ। स्थानीय उत्पादनलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्दा किसानको उत्पादनले बजार पाउने र उद्योगले पनि स्वदेशी स्रोतमा आधारित भएर विस्तार हुने उनको अपेक्षा छ।

    यस उद्योगको अर्को पक्ष रोजगारीसँग जोडिएको छ। बजार बढ्दै गए उत्पादन क्षमता बढाउन थप मेसिन र कामदार आवश्यक पर्नेछ। त्यसबाट स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने न्यौपानेको योजना छ।

    विदेशमा काम गर्दा उनले प्रविधि र उत्पादन प्रणाली सिके। नेपाल फर्किएपछि भने त्यही सीप प्रयोग गर्ने क्रममा नयाँ चुनौती सामना गर्नुपर्‍यो। मेसिन बिग्रिँदा प्राविधिक ज्ञानको अभावदेखि बजारले नयाँ उत्पादन स्वीकार्न समय लगाउने अवस्थासम्म उनका लागि सिकाइका चरण बने।

    तर अहिले उनी विदेशमा सिकेको सीप नेपालमै प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण देखाउन चाहन्छन्। उनको बुझाइमा नेपालमा सम्भावना नभएको होइन, नयाँ काम सुरु गर्दा समय, लगानी र धैर्य आवश्यक हुन्छ।

    विदेश जाने सोच बनाइरहेका युवालाई पनि उनी नेपालमा के गर्न सकिन्छ भनेर खोज्नुपर्ने बताउँछन्। विदेशमा पनि पैसा सजिलै नआउने र मेहनत गर्नुपर्ने भएकाले त्यही सीप र अनुभवलाई आफ्नै देशमा प्रयोग गर्न सके विस्तारै व्यवसाय निर्माण गर्न सकिने उनको विश्वास छ।

    राजनको यात्रा विदेशबाट फर्किएर व्यवसाय सुरु गरेको कथा मात्रै होइन। नेपालमै उत्पादन हुने अन्नलाई नयाँ रूपमा बजारमा पुर्‍याउने प्रयास पनि हो। स्थानीय किसानको उत्पादन, विदेशबाट फर्किएको युवाको सीप र नयाँ बजारको खोजी—यी तीन पक्ष जोडिँदा एउटा सामान्य अन्न पनि नयाँ व्यवसायको आधार बन्न सक्छ भन्ने उनको उद्योगले देखाइरहेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij