Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

रित्तिँदो गाउँमा आशाको खोर

रित्तिँदो गाउँमा आशाको खोर

आइतबार, साउन १७ २०८३
आइतबार, साउन १७ २०८३
  • नुवाकोट । गाउँ रित्तिँदै गएका छन्। युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन्। खेतबारी बाँझिँदै छन्। गाउँका घरहरूमा वृद्ध र बालबालिकाको संख्या बढेको छ। यस्तो यथार्थबीच पनि केही गाउँहरूमा आशा मरेको छैन। बरु त्यहीँका केही मानिसहरूले आफ्नै गाउँमा बसेर सम्भावनाको नयाँ बाटो बनाइरहेका छन्।

    images

    नुवाकोटको पञ्चकन्या गाउँपालिका स्थित लाकुरीभञ्ज्याङ पुग्दा यस्तै एउटा कथा भेटिन्छ।

    बिहानको घाम विस्तारै माथि चढ्दै गर्दा शान्ति वाइवा बंगुरलाई दाना खुवाउन व्यस्त थिइन्। केही बेरपछि उनका श्रीमान् रोशन वाइवा विद्यालयबाट फर्किए। विद्यालयको काम सकिएपछि उनी सिधै खोरतिर लाग्छन्। श्रीमती दिनभर बंगुरको हेरचाह गर्छिन् भने श्रीमान् बिहान विद्यालय र बाँकी समय फार्ममा बिताउँछन्। दुवैको संयुक्त मेहनतले आज उनीहरूको सानो सपना विस्तारै सफल व्यवसायमा रूपान्तरण हुँदै गएको छ।

    दुईवटा बंगुरबाट सुरु भएको यात्रा अहिले १८ वटासम्म पुगेको छ। यसअघि तीन चरणमा बंगुर बिक्री गरिसकेका उनीहरू अब फार्म अझ विस्तार गर्ने तयारीमा छन्।

    ‘पहिला दुईवटाबाट सुरु गरेको हो,’ रोशन भन्छन्, ‘अब यो लट बेचिसकेपछि २४ वटा राख्ने योजना छ। त्यसपछि खोर पनि विस्तार गर्छु।‘

    आज उनीहरूको फार्ममा हुर्किएका बंगुर काठमाडौंसम्म पुग्छन्। एउटा बंगुरको मूल्य ३० देखि ३२ हजार रुपैयाँसम्म पर्छ। यही आम्दानीले घरखर्च धानेको मात्रै छैन, भविष्यप्रतिको विश्वास पनि बढाएको छ।

    रोशनलाई विदेश जाने रहर कहिल्यै लागेन।

    उनी भन्छन्, ‘विदेशमा पनि पसिना बगाउने हो, यहाँ पनि पसिना बगाउने हो। त्यसैले आफ्नै देशमा केही गरेर बस्नु राम्रो लाग्यो।‘

    उनको विचारमा सबैभन्दा ठूलो कुरा मेहनत हो। लगानी धेरै नभए पनि सानोबाट सुरु गर्न सकिन्छ। आफूले पनि कुनै विशेष तालिम नलिएर बजारमा फार्म हेर्दै, जानकारी लिँदै यो व्यवसाय सुरु गरेको उनी सुनाउँछन्।

    उनी युवालाई विदेश जानुभन्दा नेपालमै सम्भावना खोज्न आग्रह गर्छन्।

    ‘सकेसम्म विदेश नजाऊन्। थोरै लगानी खोजेर भए पनि आफ्नै देशमा केही गर्नुपर्छ,’ उनी भन्छन्।

    बंगुर पालनमा खर्च अत्यधिक हुने उनी मान्दैनन्। घरमा उपलब्ध मकैको पिठो, दाना, झारपात र स्थानीय स्रोतबाट नै धेरैजसो आवश्यकता पूरा हुन्छ।

    दिनमा तीन पटक खोरमा पुग्ने उनीहरू बिहान खाना खुवाउँछन्, दिउँसो अवस्था हेर्छन् र बेलुका फेरि दाना दिन्छन्। समय दिएर नियमित हेरचाह गर्न सके व्यवसाय कठिन नहुने उनीहरूको अनुभव छ।

    अहिलेसम्म कुनै बंगुर नमरेको भन्दै रोशन यसलाई नियमित हेरचाहको परिणाम मान्छन्।

    व्यवसाय सफल हुँदै गए पनि समस्या भने छैनन् भन्ने होइन।

    सबैभन्दा ठूलो समस्या बंगुरको मल व्यवस्थापन हो। उनीहरूको गाउँनजिक खोलाखोला नभएकाले मल व्यवस्थापन गर्न कठिन हुने गरेको रोशन बताउँछन्।

    त्यस्तै, हालसम्म गाउँपालिकाबाट कुनै अनुदान नपाएको उनी बताउँछन्। तर त्यसबारे गुनासो भने गर्दैनन्।

    ‘मैले माग्न पनि गएको छैन,’ उनी हाँस्दै भन्छन्। ‘अब व्यवसाय दर्ता गरेर विस्तार गरेपछि सहयोग पाइएला भन्ने आशा छ।‘

    पञ्चकन्या गाउँपालिकाले भने कृषकलाई आवश्यक प्राविधिक सहयोग निरन्तर उपलब्ध गराइरहेको जनाएको छ।

    गाउँपालिकाका अनुसार प्रत्येक वडामा कृषि तथा पशु प्राविधिक खटिएका छन्। कृषकलाई आवश्यक परामर्श, गोष्ठी, तालिम तथा अनुगमन नियमित रूपमा भइरहेको छ। अनुदान वितरणसँगै त्यसको सही उपयोग भए–नभएको समेत अनुगमन गरिने भएकाले कृषिमा गरिएको लगानीले सकारात्मक परिणाम दिनेमा गाउँपालिका आशावादी रहेको जनाएको छ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij