Logo

बिहीबार , मंसिर १० २०८३

बिहीबार , मंसिर १० २०८३

ट्रम्प, सी र पुटिन भेट

शक्ति संघर्ष र विश्वको भविष्य

शक्ति संघर्ष र विश्वको भविष्य

नयाँ शक्ति सन्तुलनमा विश्व व्यवस्था शक्ति राष्ट्रहरूको स्वार्थ होइन, सबै राष्ट्रको समान सार्वभौमिकता, स्वतन्त्रता र आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकार हुनुपर्छ।

शुक्रबार, मंसिर ४ २०८३
शुक्रबार, मंसिर ४ २०८३
  • काठमाडौं । विश्व राजनीतिमा अहिले एउटा गम्भीर द्वन्द्व सतहमा देखिँदैछ । एकातिर अमेरिका आफ्नो दशकौँदेखिको विश्व नेतृत्व जोगाउन संघर्षरत छ भने अर्कोतिर चीन नयाँ विश्व शक्तिका रूपमा उदाइरहेको छ । रुस पनि आफ्नो पुरानो सामरिक प्रभाव क्षेत्र पुनःस्थापित गर्ने रणनीतिमा अघि बढिरहेको छ ।

    images

    यी तीन शक्तिबीचको प्रतिस्पर्धा अब व्यापार, प्रविधि र सैन्य क्षमतामा मात्र सीमित छैन । विश्वको कुन भूभागमा कसको प्रभाव रहने र अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्व कसले गर्ने भन्ने निर्णायक संघर्षतर्फ अघि बढिरहेको छ । यही पृष्ठभूमिमा ट्रम्प, सी र पुटिनको शेन्जेन भेट तथा रुसी भू–राजनीतिक विचारक अलेक्जेन्डर दुगिनसँग जोडिएको विश्व विभाजनको नक्साले नयाँ बहस जन्माएको छ । के विश्व फेरि महाशक्तिहरूको प्रभाव क्षेत्रअनुसार विभाजित हुन लागेको हो ? र यस्तो शक्ति संघर्षको मूल्य युक्रेनदेखि नेपालसम्मका साना राष्ट्रहरूले चुकाउनुपर्ने अवस्था आउँदैछ ?

    दुगिनसँग जोडिएको विवादास्पद नक्सामा विश्वलाई तीन ठूला प्रभाव क्षेत्रमा विभाजन गरिएको देखिन्छ । एउटा अमेरिकाको, अर्को रुसको र तेस्रो चीनको प्रभाव क्षेत्र । यसले विश्वका विभिन्न भूभागलाई तीन शक्तिशाली राष्ट्रको रणनीतिक प्रभावभित्र राखेको छ । तर के विश्व साँच्चै यस्तै दिशातर्फ अघि बढिरहेको छ? यसको ऐतिहासिक पृष्ठभूमि बुझ्न सन् १९४५ को याल्टा सम्मेलन सम्झनुपर्छ ।

    दोस्रो विश्वयुद्ध अन्त्यतिर पुग्दै गर्दा अमेरिका, बेलायत र सोभियत संघका शीर्ष नेताहरू याल्टामा भेला भएका थिए । अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनले युद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए ।

    Trump_China_47742.jpg

    जर्मनीको भविष्य, युरोपको राजनीतिक स्वरूप र शक्तिको बाँडफाँट त्यसबेलाका प्रमुख विषय थिए । त्यसपछि युरोप दुई फरक प्रभाव क्षेत्रमा विभाजित भयो । पश्चिमी युरोप अमेरिकी नेतृत्वमा रह्यो भने पूर्वी युरोप सोभियत प्रभावमा पुग्यो । यसले अन्ततः शीतयुद्धको आधार तयार गर्‍यो ।

    त्यसैले अहिलेको शक्ति प्रतिस्पर्धालाई नयाँ याल्टाको सम्भावनासँग तुलना गर्न थालिएको हो । तर अहिलेको परिस्थिति सन् १९४५ को भन्दा फरक छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो देशको विश्वव्यापी प्रभाव कायम राख्न चाहन्छन् । चीनसँगको व्यापार युद्ध, प्रविधि प्रतिस्पर्धा र एसिया प्रशान्त क्षेत्रको सुरक्षा उनका प्रमुख प्राथमिकता हुन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने युक्रेन युद्ध र पश्चिमी प्रतिबन्धका बाबजुद रुसलाई विश्व राजनीतिमा निर्णायक शक्तिका रूपमा स्थापित गर्न चाहन्छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको प्राथमिकता भने चीनको आर्थिक, प्राविधिक र सामरिक प्रभाव विस्तार गर्नु हो । चीन अब केवल उत्पादन र व्यापारको शक्ति भएर बस्न चाहँदैन । ऊ विश्व व्यवस्थाको निर्माणमा पनि निर्णायक भूमिका खोजिरहेको छ । यही फरक स्वार्थबीच तीन राष्ट्रका नेताहरूको संवादलाई महत्त्वका साथ हेरिएको हो । तर उनीहरूबीच विश्व विभाजन गर्ने कुनै औपचारिक सम्झौता भएको प्रमाण भने छैन ।

    यसको सबैभन्दा ठूलो चिन्ता पूर्वी युरोपमा देखिन्छ । विशेषगरी युक्रेन, पोल्यान्ड र बाल्टिक राष्ट्रहरू रुसको सम्भावित विस्तारवादी नीतिप्रति संवेदनशील छन् । युक्रेनको भविष्य युक्रेनकै सहभागिताबिना निर्धारण हुन नसक्ने उनीहरूको स्पष्ट धारणा छ ।

    अमेरिका र रुसबीच कुनै समझदारी भए पनि त्यसले युक्रेनको सार्वभौमिकता र सुरक्षा अधिकार कमजोर पार्नु हुँदैन । पोल्यान्ड, लिथुआनिया, लाट्भिया र इस्टोनियाका लागि पनि यो विषय उत्तिकै महत्त्वपूर्ण छ । उनीहरू आफ्नो सुरक्षा महाशक्तिहरूको राजनीतिक सौदाबाजीमा निर्भर नहोस् भन्ने चाहन्छन् ।

    आधुनिक साम्राज्यवाद गजवले विकसित भइरहेको छ । पहिले साम्राज्य विस्तार गर्न सेना पठाइन्थ्यो । भूभाग कब्जा गरिन्थ्यो । स्थानीय शासन नियन्त्रणमा लिइन्थ्यो । तर आधुनिक विश्वमा साम्राज्यवादको स्वरूप फेरिएको छ । आज कुनै देशको अर्थतन्त्र, ऊर्जा आपूर्ति, प्रविधि, ऋण र व्यापार प्रणालीमाथि प्रभाव जमाउन सकियो भने सैन्य कब्जाबिनै पनि त्यस देशको नीतिमा प्रभाव पार्न सकिन्छ ।

    चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ, अमेरिकाको डलरमा आधारित अन्तर्राष्ट्रिय वित्तीय प्रभाव र रुसको ऊर्जा कूटनीतिलाई यही सन्दर्भमा बुझ्न सकिन्छ । अर्थात्, अहिलेको विश्वमा शक्ति केवल बन्दुक र क्षेप्यास्त्रबाट मापन हुँदैन । बजार, प्रविधि, ऊर्जा र आर्थिक निर्भरताले पनि शक्ति निर्धारण गर्छ । यसको प्रत्यक्ष सम्बन्ध नेपालजस्ता साना राष्ट्रसँग पनि छ ।

    Screenshot 2026-11-20 132151.png

    नेपाल दुई ठूला शक्ति चीन र भारतको बीचमा छ । अमेरिकासँग विकास साझेदारी छ । युरोपेली राष्ट्रहरूसँग आर्थिक तथा कूटनीतिक सम्बन्ध छ । नेपालले सबैसँग सहकार्य गर्न सक्छ । तर आफ्नो राष्ट्रिय हित र स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कुनै पनि बाह्य शक्तिको स्वार्थभन्दा माथि राख्नुपर्छ ।

    विदेशी ऋण, पूर्वाधार परियोजना, व्यापारिक सम्झौता र रणनीतिक साझेदारी गर्दा तिनको दीर्घकालीन प्रभाव मूल्यांकन गर्नुपर्छ । किनकि महाशक्तिहरूको प्रतिस्पर्धा बदलिन सक्छ । तर त्यसको मूल्य साना राष्ट्रहरूले चुकाउनुपर्ने अवस्था आउन सक्छ ।समग्रमा, विश्व अहिले नयाँ शक्ति सन्तुलनको चरणमा छ ।

    अमेरिकाको एकल प्रभावलाई चीनले चुनौती दिइरहेको छ । रुस आफ्नो अन्तर्राष्ट्रिय प्रभाव कायम राख्न संघर्षरत छ । युरोप आफ्नो सुरक्षा भविष्यबारे चिन्तित छ । विश्व व्यवस्थाको वास्तविक आधार शक्ति राष्ट्रहरूको स्वार्थ होइन, सबै राष्ट्रको समान सार्वभौमिकता, स्वतन्त्रता र आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकार हुनुपर्छ ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij