Logo

बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३

मादलको तालदेखि डिजेको धुनसम्म, बदलिँदो देउसी–भैलो

मादलको तालदेखि डिजेको धुनसम्म, बदलिँदो देउसी–भैलो

आइतबार, कात्तिक २२ २०८३
आइतबार, कात्तिक २२ २०८३
  • काठमाडौं । तिहार आउन थालेपछि गाउँघरदेखि सहरका गल्लीसम्म देउसीभैलोको रौनक सुरु हुन्छ। साँझ परेपछि घरघरमा पुग्ने समूह, आँगनमा घन्किने गीत र देउसीको भट्याइले पर्वको माहोल थप रमाइलो बनाउँछ। तर, समयसँगै देउसीभैलो खेल्ने शैली फेरिएको छ। कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा पुर्खाका कथा सुनाउँदै खेलिने देउसीभैलो अहिले साउन्ड बक्स र डिजेको धुनमा रमाउन थालेको छ।

    images

    पुरानो पुस्ताका लागि देउसीभैलो मनोरञ्जन मात्रै थिएन। यो इतिहास, धर्म, संस्कृति र सामाजिक सद्भाव जोड्ने माध्यम पनि थियो। गाउँमा देउसी खेल्न निस्कँदा जातीय तथा सांस्कृतिक पहिचानअनुसारका बाजा बजाइन्थे। कतै मादल, कतै डम्फु त कतै खैँजडी र बाँसुरीका धुन सुनिन्थे। समूह बनाएर घरघर पुग्ने उनीहरू गीत गाउने र नाच्ने मात्रै गर्दैनथे, भट्याइमार्फत पुर्खाका इतिहास, धार्मिक ग्रन्थका प्रसङ्ग र समाजका गतिविधि पनि सुनाउँथे।

    देउसीको भट्याइमा आफ्नै कथा हुन्थ्यो। घरधनीको प्रशंसा गर्दै आशिष् दिने, पुर्खाले अपनाएका परम्परा सम्झाउने र धार्मिक तथा ऐतिहासिक प्रसङ्ग जोडेर प्रस्तुत गरिने भट्याइले सहभागी मात्रै होइन, घरधनीलाई समेत मन्त्रमुग्ध बनाउँथ्यो। घरधनीहरू पनि खुसी हुँदै चामल, सेलरोटी, फलफूल र दक्षिणा दिन्थे। त्यो लेनदेनमा आर्थिक सहयोगसँगै आपसी सद्भाव र आत्मीयता जोडिएको हुन्थ्यो।

    कुनै समय देउसीभैलो पाँच दिनमा मात्रै सीमित थिएन। कतिपय समूह दुई दिनअघिदेखि नै खेल्न निस्कन्थे र तिहार सकिएको दुई दिनपछिसम्म पनि निरन्तरता दिन्थे। एउटा गाउँबाट अर्को गाउँ हुँदै अर्को जिल्लासम्म पुगेर देउसी खेल्ने चलन थियो। समय, श्रम र सामूहिक सहभागिताले यसलाई एउटा सांस्कृतिक उत्सव बनाउँथ्यो।

    अहिले भने यो शैलीमा धेरै परिवर्तन आएको छ। मादल र बाँसुरीको ठाउँ साउन्ड बक्स र डिजेले लिएका छन्। नेपाली मौलिक गीतभन्दा हिन्दी र अंग्रेजी पप गीतमा नाच्ने चलन बढेको छ। कतिपय समूहमा परम्परागत भट्याइको सट्टा रेकर्ड गरिएका आशिष् सुनिन्छन्। सहयोग सङ्कलनका लागि खेलिने देउसीभैलोमा पनि मौलिक सांस्कृतिक प्रस्तुति र मनोरञ्जनभन्दा रकम सङ्कलनलाई प्राथमिकता दिन थालिएको गुनासो सुनिन्छ।

    देउसीभैलोमा आएको यही परिवर्तनले पुरानो पुस्तालाई केही असहज बनाएको छ। उनीहरूका लागि आधुनिक बाजा र प्रविधि प्रयोग गर्नु आफैँमा गलत होइन, तर त्यस क्रममा आफ्नै गीत, कथा र परम्परा ओझेलमा पर्नु चिन्ताको विषय हो। सामाजिक सञ्जालमा लोकप्रिय हुन वा फरक देखिनकै लागि मौलिक संस्कृति बिर्सन नहुने उनीहरूको धारणा छ।

    नयाँ पुस्ताले पुरानै शैली जस्ताको तस्तै अपनाउनुपर्छ भन्ने छैन। समयअनुसार पर्व मनाउने तरिका बदलिनु स्वाभाविक हो। आधुनिकता अपनाउँदा त्यसको मौलिकता र सांस्कृतिक अर्थ पनि जोगाउन सकिन्छ भन्ने मतसमेत छ। पुराना परम्परालाई समयसापेक्ष बनाउँदै नयाँ पुस्तालाई त्यसको महत्त्व बुझाउनु आवश्यक छ।

    संस्कृति जोगाउने जिम्मेवारी केवल नयाँ पुस्ताको मात्रै पनि होइन। घरपरिवारबाटै बालबालिकालाई चाडपर्वको अर्थ र महत्त्व सिकाउनुपर्छ। पूजाआजा, पारिवारिक सहभागिता र परम्परागत अभ्यासमा उनीहरूलाई सानैदेखि जोड्न सके संस्कार पुस्तान्तरण हुँदै जान्छ। तिहारमा किन देउसी खेलिन्छ, किन आशिष् दिइन्छ र त्यसले समाजमा कस्तो सम्बन्ध निर्माण गर्छ भन्ने बुझाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

    आखिर संस्कृति कुनै एउटा पुस्ताको सम्झनामा मात्रै सीमित भएर जीवित रहन सक्दैन। त्यसलाई अर्को पुस्ताले बुझ्न, अपनाउन र आफ्नै समयअनुसार अघि बढाउन सक्नुपर्छ। मादलको ताललाई डिजेको धुनले विस्थापित गरे पनि देउसीको आत्मीयता, आशिष् र सद्भाव हराउनु हुँदैन। किनकि देउसीभैलोको वास्तविक रौनक बाजाको आवाजमा मात्रै होइन, त्यसले जोड्ने सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृतिमा पनि छ।

    हाम्रो समाजमा आएको यो परिवर्तन समयको स्वभाव हो कि संस्कृतिमा आएको विकृति ? हामीले अघिल्लो वर्षको तिहारमा लिएको भक्सपपको यो अंकमा यही प्रश्न बारे विभिन्न उमेर समूह र पृष्ठभूमिका मान्छेलाई सोधेका थियौँ।

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij